नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति मकवानपुरले जारी गरेको विज्ञप्ति ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–३, हात्तिसुँडेस्थित बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बोम्जन र उहाँका भाइमाथि आइतबार भएको आक्रमणको घटनाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति मकवानपुरले भत्र्सना गरेको छ । शिक्षक संगठन जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष श्रीराम दहाल र सचिव मुकुन्द न्यौपानेको संयुक्त हस्ताक्षरमा सोमबार विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गर्नुका साथै दोषीलाई कारवाहीको माग गरिएको छ ।

प्रधानाध्यापक बोम्जन र उहाँका भाइमाथि आक्रमणको घटनाले दुखी तुल्याएको उल्लेख गर्दै दोषीलाई पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित निकायसँग संगठनले माग गरेको छ । आइतबार दिउँसो २ बजेर ३० मिनेटको समयमा सर्लाहीबाट सिन्धुलीतर्फ जाँदै गर्दा सिन्धुली–सर्लाही–कर्मैया सडकखण्डअन्तर्गत तपोवन जंगलमा प्रधानाध्यापक बोम्जन र उहाँका भाइमाथि आक्रमण भएको थियो । तीन जनाको समूहमा आएका अज्ञात समूहले प्रहार गरेको गोली लागेर बोम्जन घाइने हुनुभएको छ । अज्ञात समूहले प्रहार गरेको गोली हेल्मेट छेडेर बोम्जनको गालामा चोट लागेको छ । बोम्जनको सर्लाहीमै प्राथमिक उपचारपछि थप उपचारका लागि बीरगन्ज लगिएको थियो । आईतबार राती नै बोम्जनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बोम्जनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।