हेटौंडाः मकवानपुरको थाहा नगरपालिका भएको थाहा–कैलाश पालिकास्तरीय अन्तर वडा मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका २ नम्बर वडाले जितेको छ । आइतबार थाहा नगरपालिकाको डाँडावासमा सम्पन्न भएको फाइनल खेलमा आयोजक ‘ए’ सल्ले राम्चे युवा क्लबलाई ३–२ को सेटले हराउँदै २ नम्बर वडाले उपाधि जितेको हो ।

आयोकलाई थाहा–२ ले १५–२५, २५–२१, २१–२५, २५–२२ र १५–९ को सेटले पराजित गरेको हो । यस्तै तेस्रो स्थानका लागि भएको प्रतियोगितामा सशक्त रातो समूहलाई थाहा–५ ले ३–१ को सेटले पराजित गरेको छ । थाहा–५ ले सशक्त रातोलाई २५–२०, २५–२३, २२–२५ र २५–२२ ले पराजित गरेको हो । प्रतियोगिताको उपाधि विजेता टिमले ५१ हजार एक सय ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले ३१ हजार एक सय ३१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको तृतीय स्थान हासिल गर्ने टिमले १४ हजार १ सय १३ रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी थाहा २ का सुजल कार्की, उत्कृष्ट सेटर थाहा–२ का सागर तामाङ, उत्कृष्ट ब्लकर थाहा–२ का प्रवेश कार्की, उत्कृष्ट डिफेण्डर आयोजक ‘ए’ का अनिल मोक्तान, उत्कृष्ट सर्भर थाहा–५ का पुजन गुरुङ र आयोजक ‘बी’ का प्रतीक वाईबा उदीयमान खेलाडी घोषित हुँदै नगद पुरस्कार र ट्रफि प्राप्त गरेका छन् । थाहा नगरपालिका ७ नम्बर वडाको मुख्य सहयोगमा सञ्चालन भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।

आयोजक क्लबका अध्यक्ष सुविन्द्र गोलेको सभाध्यक्षमा तथा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको विशिष्ट आतिथ्य रहेको थियो ।

उपाधि साथ थाहा–२ को भलिबल टिम ।