देउसी भैलो कार्यक्रममा देउसी गाउँदै कलाकार टोली ।

हेटौंडाः सिस्नुपानी नेपाल मकवानपुरले देउसी–भैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेससँगको सहकार्य तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा सिस्नुपानी नेपाल मकवानपुरले तिहारको शुभकामनासहित देउसी–भैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको हो । सिस्नुपानीको देउसीभैलोमा दर्शक रमाएका थिए ।

कार्यक्रममा साहित्यकार, कलाकारहरुले प्यारोडी गायन, क्यारिकेचर, प्रहसन पुराण लगायतका प्रस्तुती राखेका थिए । कलाकार सागर तिमल्सिना र अजर फुयालको प्रस्तुतीमा दर्शकरू नाचेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरु सुमार्गी हुमागाईँ, सत्याग्रही गहन खतिवडा, प्रलय चौलागाईं, कविराज हुमागाईँ, स्वस्तिका दहाल र प्रभास घिमिरेको सांगीतिक प्रस्तुती रहेको थियो ।

देउसी भैलो कार्यक्रममा साँस्कृतिक जगेर्नाका साथै समाजमा भएको विकृति र विसंगतिलाई व्यङ्यात्मक तरिकाले प्रस्तुत गरिएको थियो । सिस्नुपानी नेपालले विगत ४ वर्षदेखि तिहारको अवसरमा शुभकामना आदानप्रदानसहित हास्यव्यङ्ग्यात्मक देउसीभैलो कार्यक्रमको आयोजना गर्दै आएको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलको सभाध्यक्षा तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको पनि उपस्थिति रहेको थियो ।