हेटौंडाः भुटनदेवी क्लबको आयोजनामा हेटौंडामा जारी ७ ‘ए’ साइड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार चार खेल सम्पन्न भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा जारी प्रतियोगितामा नागस्वती फुटबल एकेडेमी, ढिढो एफसी, हेटौंडा फुटबल एकेडेमी ‘ए’ र कालीदेवी एफसीले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताका संयोजक सेजन खड्कीका अनुसार मंगलबार भएको पहिलो खेलमा प्रतिभा युथ क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै नागस्वती एकेडेमीले विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीमा रोेकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो ।
दोस्रो खेलमा ढिढो एफसीले नागस्वती क्लबलाई ३–० गोलले र तेस्रो खेलमा हेटौंडा फुटबल एकेडेमीले हुप्रा एमलाई १–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । यस्तै, अन्तिम खेलमा हेटौंडा फुटबल एकेडेमी ‘बी’ लाई ४–० गोलले हराउँदै कालीदेवी विजयी भएको हो ।
प्रतियोगिताको फाइनल खेल असोज २० गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।