फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । फागु पूर्णिमा आपसी सद्भाव र स्नेहको पर्व पनि हो । फागु पूर्णिमामा अभद्र व्यवहार पनि हुने गरेको पाइन्छ । अभद्र व्यवहार हुने सम्भावनाकै कारण प्रहरी, प्रशासनले संयमित हुन आग्रह गर्ने गरेको छ ।
फागु पूर्णिमाको पौराणिक एवम् धार्मिक पक्ष पनि रोचक छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्को भनाइ छ ।
यस किसिमको धार्मिक, पौराणिक सन्दर्भ भएको, आजको समयमा आपसमा सौहाद्र्धता र स्नेह अभिवृद्धिका लागि महत्वपूर्ण मानिने फागु पूर्णिमा पर्व सभ्य तरिकाले मनाउनु आवश्यक छ । पछिल्लो समय आर्थिक मन्दी, युवा पलायनका कारण यो वर्षकै अधिकांश पर्वहरु फितलो बनेको छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा शुक्रबार होली मनाइँदैछ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनसमेतमा लोला हिर्काउनेजस्ता जोखिम रहने अनुमान गरेर स्थानीय प्रशासनले अग्रीम सतर्कताका अपनाउन अपिल गरेको छ ।
फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक भेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । फरकफरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवम् सामाजिक एकतालाई प्रवद्र्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ । यस वर्षको फागु पूर्णिमाले पनि हाम्रो समाजमा आपसी सद्भाव एवम् सामाजिक एकतालाई प्रवद्र्धन गर्ने अवसर रहोस् । हार्दिक शुभकामना ।