हेटौँडा: मकवानपुर जिल्ला महिला फुटबलको प्रमुख प्रशिक्षकमा भीम लामा नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले फुटबल प्रशिक्षक भीम लामालाई महिला खेलाडीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गर्नुभएको हो । महिला खेलाडीको सीप र क्षमतालाई उजागर गर्दै प्रष्फुटन गर्ने उद्देश्यले प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरिएको एन्फाका केन्द्रीय अध्यक्ष तथा जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिनुभएको छ ।
हेटौंडा फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक समेत रहनुभएका लामाले १० वर्षदेखि एकेडेमी सञ्चालन गर्दै आउनुभएको छ । प्रशिक्षक लामाले एएफसी बि लाइसेन्स प्राप्त गर्नुभएको छ । मकवानपुरे फुटबल प्रशिक्षक भीम लामालाई अध्यक्ष लामा र महासचिव छवी सुवेदीको संयुक्त हस्ताक्षरसहितको नियुक्तिपत्र प्रदान गरिएको छ । हेटौंडा फुटबल एकेडेमीलाई सञ्चालन गर्दै महिला तथा पुरुष खेलाडी उत्पादन गर्ने कार्यलाई प्राथमिकता दिएको कार्यको मूल्याङ्कन गर्दै जिल्लाको मुख्य प्रशिक्षकमा लामालाई नियुक्त गरिएको हो । बाहिरी जिल्लामा हुने प्रतियोगितामा महिलाको टिम सहभागी हुने समयमा सम्पूर्ण खेलाडीहरुलाई प्रशिक्षण दिने जिम्मेवारी प्रशिक्षक लामाले पाउनु भएको छ । भोलि शुक्रबार चितवन जिल्लाको भरतपुर महानगरपालिकामा हुने राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको टिमलाई सहभागी गराउने तयारीमा रहेको प्रशिक्षक लामाले बताउनुभयो । महिला खेलाडीलाई भरतपुर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी गराउने क्रममा प्रशिक्षण लामाकै नेतृत्वमा प्रशिक्षण दिइने उहाँले बताउनुभयो ।
मकवानपुर जिल्लामा पुरुषको तुलनामा महिला खेलाडीको संख्या निकै कम रहेको प्रशिक्षक लामा बताउनुहुन्छ । खेलाडीलाई प्रोत्साहन गर्ने काममा आफू सक्रिय रहने प्रशिक्षक लामाले बताउनुभयो । पुरुषलाई प्रोत्साहन गरेको जस्तै सबैले महिला खेलाडीलाई पनि प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । समाजका मानिसहरुले खेल क्षेत्रलाई राम्रो दृष्टिकोणले नहेर्ने भन्दै महिला खेलाडीको हौसला बढाउनुको सट्टा महिलाको मजाक उडाउने गरेको उहाँले बताउनुभयो । अभिभावक एवम् विद्यालय, कलेजले खेलाडीहसँग सकारात्मक व्यवहार गर्नुपर्ने र महिला खेलाडीका लागि लगानी गर्नुपर्ने उहाँको भनाई छ । प्रशिक्षक लामाले खेलाडीहरुलाई लामो समयदेखि फुटबल प्रशिक्षण दिँदै आएकोले प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएको खुशी व्यक्त गर्नुभएको छ । फुटबल एकेडेमीको माध्यमबाट पुरुषको सिनियर तथा जुनियर खेलाडी उत्पादन गर्नका लागि विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको कारणले आफूले प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएको अनुभूति भएको उहाँले बताउनुभएको छ ।
करिब १० वर्षदेखि फुटबल खेलमा सक्रिय भूमिका निर्वाह गरेर प्रशिक्षण दिँदै आउनुभएका प्रशिक्षक लामाले थुप्रै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल हुनुभएको छ । मकवानपुर जिल्लाको पालिकाहरुका खेलाडीहरुलाई प्रशिक्षण दिँदै आउनुभएका लामाले खेलाडीहरुको आकर्षण बढाउनका लागि आफ्नै खर्चमा जिल्लाले आयोजना गरेको र बाहिरी जिल्लाले आयोजना गरेको प्रतियोगितामा सहभागी गराउने गरेको बताउनुहुन्छ । खेलाडीहरुको मनलाई बुझेर र उनीहरुको रुचि, क्षमतालाई मूल्याङ्कन गरेर प्रशिक्षण दिन सकेमा खेलाडीहरु राष्ट्रिस्तरको प्रतियोगितामा समावेश हुनसक्ने उहाँले दावी गर्नुभयो ।
हेटौंडा–४ स्थित हुप्रचौरमा हुने फुटबल प्रशिक्षणमा दैनिक ७० जनाको हाराहारीमा खेलाडीहरु आउने गरेको उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा महिला खेलाडीहरुलाई पनि विशेष प्राथमिकता दिने उद्देश्यले महिलालाई पनि प्रशिक्षण दिने गरेको उहाँले बताउनुभयो । महिला खेलाडीहरुलाई फुटबलप्रति रुचि बढाउनका लागि विभिन्न प्रतियोगितामा सहभागी गराउने, खेलकुद सामग्रीको व्यवस्था गर्नुपर्ने, प्रदेश, स्थानीय र संघीय सरकारले बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ । फुटबल खेल्न इच्छुक महिला खेलाडीहरुलाई पनि प्रशिक्षक लामाले प्रशिक्षण दिने गरेको बताउनुभयो ।