हेटौंडाः जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबारबाट ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ सुरु गरेको छ । मंगलबार पार्टीले देशव्यापीरुपमा एकैसाथ चार महिने अभियान सुरु गरेको हो ।
पार्टी मकवानपुरका सचिव दीपक सिंतानका अनुसार पार्टी केन्द्रको निर्णयलाई ऐक्यबद्धता जनाउँदै मकवानपुर समितिले पनि मंंगलबारबाट अभियान सुरु गरेको छ । पार्टीले मंगलबार पहिलो दिनदेखि संगठन विस्तार र सुदृढीकरणका काम थालेको उहाँले बताउनुभयो । चार महिने अभियानमा पालिकास्तरमा पार्टीले संगठन विस्तार गर्ने उहाँले बताउनुभयो ।
अभियानमा अहिलेका सदस्यहरुलाई संगठित गरेर नयाँ सदस्यहरु जोड्ने कामलाई विशेष जोड दिने उहाँको भनाइ छ । जिल्लामा अहिले १ हजारको संख्यामा पार्टी सदस्यता रहेको भन्दै उहाँले यसलाई बढाउने बताउनुभयो । पार्टी मकवानपुरले पछिल्लो समयमा ओभरलोडलगायत अन्य बेथितिबारे कुरा उठाउँदै आइरहेको भन्दै उहाँले जनताहरु पार्टीमा आकर्षित हुन थालेको बताउनुभयो ।
सचिव सिंतानका अनुसार पार्टी केन्द्रीय समितिले अभियानका लागि केन्द्रीय सदस्य मेजरमान मोक्तानलाई मकवानपुरको इन्चार्जको जिम्मेवारी तोकेको छ । इन्चार्ज मोक्तानको संयोजकत्वमा सोमबार बसेको विस्तारित बैठकले मकवानपुरका स्थानीय तहहरुमा अभियन्ताहरु तोकेको सचिव सिंतानले बताउनुभयो । उहाँका अनुसार हेटौंडा उपमहानगरपालिकाबाहेक ९ वटा स्थानीय तहमा अभियन्ता तोकेको हो । पालिकास्तरमा संगठन विस्तारका लागि जिल्ला तहका नेताहरुलाई अभियन्ता तोकेको उहाँँले बताउनुभयो ।
पार्टी मकवानपुरका अध्यक्ष सोमबहादुर घलानलाई बागमती र बकैया गाउँपालिकामा जिम्मेवारी तोकिएको छ । सचिव सिंतानलाई थाहा नगरपालिकामा जिम्मेवारी तोकिएको छ । बकैयामै सुशीला घलानलाई, मकवानपुरगढी गाउँपालिकामा विवेक घलान र टुङ्गनाथ तिमल्सिनालाई, भीमफेदी गाउँपालिकामा हरि सिंह वाईबा र रीता मंग्रातीलाई र इन्द्रसरोवर गाउँपालिकामा शान्ता मोक्तान र जीवनमान मोक्तानलाई अभियन्ता तोकिएको छ ।
यस्तै, कैलाश गाउँपालिकामा छविलाल वाईबा र ज्ञानीमाया रुम्बालाई, राक्सिराङ गाउँपालिकामा उत्तम गोम्जा र यशकुमार प्रजालाई र मनहरी गाउँपालिकामा दिलबहादुुर प्रजा र यशकुमार प्रजालाई अभियन्ता तोकेको छ । हेटौंडा उपमहानगरपालिकामा भने जिल्ला समितिका सबै जना खट्ने सचिव सिंतानले बताउनुभयो । उहाँका अनुसार अभियन्ता तोकिएकाहरुलाई पार्टीले भदौमा अभिमुखीकरण गराएको थियो ।