जुनसुकै ठाउँमा उम्रिएको केशले दारी बन्दैन । यसले अनुहारको खास ठाउँमा उम्रिनुपर्छ । जातकको गाला, चिउँडो र त्यसभन्दा तल उम्रिएको केशले देखाएको सामुहिक उपस्थिति र बनाएको भौतिक संरचनालाई दारी भनिन्छ । ‘अर्थ’ भनेको धन–पूँजी, समय र श्रम लगाएर वा संयोगले, घुसले लुटपाटले वा उत्तराधिकारले कसैको हातमा पर्ने बहुमूल्य वस्तु हो । शास्त्र भनेको कूनै पनि वस्तु वा विषयको गहन, व्यवस्थित र वैज्ञानिक अध्ययन हो । तसर्थ अर्थशास्त्र भनेको धन कसरी उत्पति हुन्छ ? कसरी मान्छेको हातमा पर्छ ? कसरी उसको हात्तमा टिक्छ ? कसरी उसको हातबाट बाहिरिन्छ ? त्यसको विस्तृत र व्यवस्थित अध्ययन हो ।
दारी कसरी अर्थशास्त्रसँग जोडिन्छ ? धेरैलाई अचम्म लाग्न सक्छ तर यसमा अचम्म मान्नुपर्ने कूनै कारण छैन । अहिले सुन्दरतालाई हेर्ने मानिसका आँखा बदलिएका छन् । मनभित्र छिरेर आँखाले यसको सुन्दरतालाई हेर्दैैन । अहिले यसले अनुहारलाई मात्रै हेर्छ । त्यसैले यसलाई सजाउन उसले गर्न हुने र नहुने सबै क्रम–उपक्रम तथा साधन, प्रसाधन प्रयोगमा ल्याउँछ । उसले पैसाको मुख हेर्दैन जति पनि खर्च गर्छ । महारथीहरुको अन्धानुकरण गर्ने युवाहरुको स्वभाव हुन्छ । त्यसैले कुनै न कुनै विधाका महारथी जस्तो देखिन खोज्ने मनको भूतले उनीहरुलाई अनेकौँ पटक दारीकर्मी कहाँ पु¥याउँछ । दारीको बान्की मिलाएर अनुहारको सजावटलाई सेलिब्रेटी अनुकूल आमुल परिवर्तन गर्न उनीहरुमा अत्यन्त हतारो हुन्छ । अहिलेको आँखाले अनुहारलाई मात्रै प्राथमिकतामा राख्छ । यसमा खर्च गर्ने उनीहरूको आँट पनि धेरै बढेको छ । त्यसैले दारीकर्मले एउटा ठुलो व्यवसायको रुप लिएको छ । उसै त बेरोजगारी दिन दुई गुना र रात चौगुनाको दरले बढ्दैछ । त्यसमाथि दारी पनि झिकिदिने हो भने शास्त्रबाट अर्थ हराएर देशको अर्थतन्त्र नै डामाडोल हुन्छ । त्यसैले दारी पनि अर्थशास्त्रको एउटा बलियो अङ्ग बनेको छ ।
कुनै बेला दारी कपाल खौरिनलाई बाउ आमा नै मर्नुपथ्र्यो । किनकी ब्रतबन्धे बटुकको त्यसबेला दारी उम्रिसकेको हुन्नथ्यो । श्राद्ध गर्ने कर्ताले दारी कपाल कटाइलाई अहिले अनिवार्यताबाट हटाएर ईच्छाधिन बनाइसकेका छन् । अहिले मानिसलाई कि इच्छा जाग्नुपर्छ कि बाध्यता पर्नुपर्छ । मानिस जुनसुकै बेला पनि दारी–कपाल मुण्डन गर्न तयार हुन्छ । फुल्न थालेपछि दारी नकाटी हुन्न । किन कि यसले अनुहारमा ओगटेको मैदान बेपत्तै चिलाउँछ । त्यसैले यसलाई समय समयमा फाँड्नुपर्छ । एक दुई वटा फूलेका दारीमात्रै देखियो भने पनि उमेरको पोल खुल्छ । आफूलाई हेर्ने लोभी आँखाहरू घट्छन् । झुक्याएर बनाएका लभरहरू पनि तरक्क तर्किन्छ । हुन त फुलेको रौँलाई ध्वाँसो–मोसो गरेर काम चलाए पनि हुन्छ । तर के गर्नु ? टुप्पा कालो भए पनि एकआधा दिनमै फेद सेताम्य भइहाल्छ । त्यसले पनि पोल खोलिदिन्छ । त्यसैले रङ्गाई भन्दा फँडानी नै उत्तम ठानेर तनबुढा भए पनि मनबुढा नभएकाहरू केशकर्मी खोज्दै शैलुनतिर हानिन्छन् ।
पाको देखिने रहरमा युवाहरूले पनि अनुहारको धेरैजसो भाग दारीलाई छोडिदिन थालेका छन् । तर यसलाई समय समयमा छाँटकाँट नगरे मुखभित्र हालेको गाँस नाकभित्र पस्न बेर लाग्दैन । अहिले दूषित खाद्य पदार्थले गर्दा युवा अवस्थामा नै दारीका रौँ फुल्न थालेका छन् । त्यसलाई रङ्ग–रोगन डेन्टिङ–पेन्टिङ गर्न पनि केशकर्मी नभई हुन्न । केटाहरू पनि हुर्किएको देखिने रहरले गर्दा दारी चाँडै झाँङ्गियोस् भनेर बाउको ब्लेड गालामा कुदाउँछन् । त्यसैले दारी एक दारीकर्म अनेक बन्न पुगेको छ । यसलाई पाल्न, फाल्न, कत्रिन, बटार्न, बङ्गाउन विभिन्न बान्की पार्न आदि सबै कामका लागि केशकर्मीको आवश्यकता बढेको छ । कपालले मात्रै केशकर्मीलाई पर्याप्त काम दिँदैन । दारी पनि चाहिन्छ ।
‘आज काट्यो भोलि बढ्छ, भोलि काट्यो पर्सी । काट्ने बढ्ने काम चलिरहन्छ । कयौं छुरा, ब्लेडहरु भुत्ते हुन्छन् । दारी बढिरहन्छ, बढिरहन्छ ।’ कविता नै छ । त्यसैले केशकर्मीका हजारौं पसलहरू खुलेका छन् । कोठाहरू बहालमा लागेका छन् । लाखौँले रोजगारी पाएका छन् । उनीहरूको कमाईले लाखौँको पेट भरिएको छ । लाखौँ केटाकेटीले स्कुल देखेका छन् । तथाकथित निःशुल्क तथा सस्ता सरकारी स्कुलदेखि लिएर महंगा बोर्डिङ स्कुलले समेत विद्यार्थी पाएका छन् । लाखौँ छुरा कैंची भुत्ते हुन्छन् । धार लगाउने मानिसले काम पाएका छन् । ब्लेडका कारखाना र रङ्ग उद्योगले दिएको रोजगारी र तिरेको कर कति छन् कति । दारीलाई अर्थशास्त्रबाट झिक्यो भने अर्थतन्त्र कहाँ पुग्छ ठेगान हुँदैन ।
पहिला जोगी हुन सजिलो थिएन । मानिसले काम, क्रोध, मोह, मद तथा मात्सर्यलाई मनभित्रबाट निकाल्नु पथ्र्यो । आफ्ना सबैथोक त्यागेर सत्यलाई आफ्नो र असत्यलाई पराई ठान्दै ज्ञान मुक्तिको खोजीमा हिँड्ने त्यागी मानिस ज्यादै कम हुन्थे । तर अहिले जोगी हुन सजिलो छ । केही दिनसम्म दारीलाई बढ्न छोडिदिनु पर्छ । किनकी जोगी नै दारी हो र दारी नै जोगी हो । बाँकी गेरुवा वस्त्र र दुई चार गेडा रुद्राक्ष न हो ! यसलाई पसलमा तत्क्षण किन्न पाइन्छ । तर जोगी हुनलाई चाहिने जति दारी फलाउनलाई केही दिन भने पनि धैर्य धारण गर्नुपर्छ । घरमा काम गर्नाको दुःखले जोगी भएका मानिसहरु पहिला पनि धेरै थिए । त्यस माथि सहकारी ठगले गर्दा अहिले जोगीको भिड् बढ्नुसम्म बढेको छ । गरिबीले ग्रस्त केही मानिसहरूले घरमा सारीघारीको दिग्दारीलो कच्याङ मच्याङले गर्दा दारी काट्ने जाँगर चलाइरहेका छैनन् । अहिले बन्न लागेको कानुनले त झन् जोगीको संख्या कति पो पु¥याउने हो ठेगान छैन ।
पाँच वर्षसम्म लुकेपछि मुद्दाबाट मुक्त हुने प्रावधानले ठगी र भ्रष्टाचारका कयौँ नाईकेहरू पनि अनुहार छोप्न दारी बढाइरहेका छन् । अहिले जोगित्वले पनि व्यवसायको रुप लिएको छ । गेरुवा वस्त्र र रुद्राक्षको मालाले मात्रै असली जोगीको झलक दिँदैन । त्यसमाथि नक्कली नै भएपनि एक थान कोटेराको गुड् जस्तो दारी हल्लाउन सक्नुपर्छ । धर्म भन्दा धनतिर ध्यान र मानवसेवा भन्दा महिलातिर मन भएका जति सबै जोगी हुन थालेका छन् । किनकी जोगी भेष लिएपछि उसको नियतमा कसैले शङ्का गर्दैन र शङ्का गर्नु पनि दुष्ट पापिष्ट हुनु हो । दारीको उपादेयता सानोतिनो कहाँ छ र ?
धेरैजसो मानिसहरू दारीलाई ज्ञान र विज्ञताको प्रतिक ठान्दछन् । किनकि फोटो हेर्दा उनीहरुले विश्वभरीका महाज्ञानी दार्शनिक र वैज्ञानिकलाई दारीमा देखेका छन् । दारी हल्लाउन सके मस्तको महान् हुने सपना देखिरहेका मानिसहरू पनि धेरै छन् । त्यसैले मूर्खदेखि लिएर मूर्खाधिपति सम्मले पनि दारी बढाएका छन् । किनकी उनीहरूलाई ज्ञानी र विज्ञ कहलिने रहर पूरा गर्नुछ । तर दारीले मात्रै हुने भए आफ्नै आँगनमा टाट्ना वरिपरि खेलिरहेका बाख्रा नै काफि छन् नि । नभएको पैसा खर्च गरेर ठगिनका लागि बाबा महतारी खोज्दै टाढा टाढासम्म किन धाउनु पथ्र्याे ? दारीले मात्रै पुग्दैन, अलिअलि ठगी खान सक्ने बुद्धि पनि भुट्नुपर्छ । जसरी खुईलो तालुलाई अनुभवको प्रतिक मानिन्छ, त्यसैगरी दारीलाई ज्ञानको प्रतिक मान्ने फेसन पनि छ ।
थोत्रा कपी विद्यार्थीलाई सार्न लगाएर एउटा प्राध्यापकले दशकौंसम्म जसरी भत्ता तथा बेतन हजम गर्छ र यी तालु त्यसै खुईलिएको होइन भन्दै जागिरमा कटेका वर्ष गिन्ति गरेर कयौं तह प्रमोशन पनि गुटमुट्याउँछ । त्यसैगरी एउटा टपरर्टुइँया अर्धज्ञानीले पनि विद्वान् हुँ भन्दै फुलेर बसेका कैयौं मानिसलाई मुखमा मोहला लगाईदिन्छ । किनकी उसँग हल्लाउनका लागी एक थान बाक्लो दारी छ । जसले उसलाई ज्ञान नभए पनि ज्ञानवान बनाई दिन सक्छ । मन्दिरमा देउतालाई छाडेर देउतीतिर दर्शन गरेकै भरमा दारीले मानिसलाई दार्शनिक बनाई दिन सक्छ । त्यसैले दारीको बहुआयामिक महत्व छ । मानिसहरूले यसलाई देशी तेल र विदेशी जेल घसेर त्यसै स्याहार गरेका होइनन् । दारीले बनेको शास्त्रबाट दारी नै झिकी दियो भने त्यो शास्त्र अर्थ न बर्थको हुन्छ ।
आजकल दारी मानिस हो कि मानिस दारी हो, छुट्याउनै मुस्किल छ । कुनै कुनै दारीले पुरानो त्यागको रुप लिएर मानिसलाई आर्यघाटसम्म पनि मालदार पदको पान गराउँछ । चर्नका लागि उसलाई राष्ट्रिय सम्पत्तिको तिजोरीको प्रवेशद्वार खुल्ला हुन्छ । कुनै कुनै दारीले मानिसलाई जोगी, वैरागी, पाटीबासी वा रोडपति बनाउँछ भनी कुनैले मानिसलाई हजारौं करोडपति बनाउँछ, तर अर्जुन पराजुलीको दारीले न्यायप्रेमी जनताको भाषा बोलेको छ । गरिब, उत्पीडित जनताको धुकधुकी छामेको छ । राष्ट्रघाती भ्रष्टहरूको दोहोलो काडेको छ । अदम्य उत्साह, त्याग तथा आत्मविश्वासले भरपुर अनुहारमा झाँगिएको दारी देख्दा न्यायप्रेमी सङ्घर्षशील र सचेत सर्वहारा श्रमिकले आफ्ना आदरणीय नेता, गुरु तथा दार्शनिकलाई मनैदेखि सम्झिन्छन् । जसले संसारभरका श्रमिकलाई मुक्तिको मार्ग देखाएका छन् । त्यसैले दारी पनि हेर्नका हुने रहेछन् ।
दारीको चर्चा गर्दा मलाई पुरानो कुराको सम्झना आउँछ । त्यसबेला रात परेपछि हात्तीछाप चप्पल पड्काउँदै केही दारीधारीहरू मेरा दाजुलाई भेट्न आउँथे । खानापछि लाल्टिनको उज्यालोमा लामो समयसम्म कुराकानी गर्थे । उनीहरू को–को हुन् मलाई थाहा हुन्नथ्यो । किनकी उनीहरूले गर्ने कुराकानीको विषय थाहा पाउने मेरो उमेर भइसकेको थिएन । तर पछि गएर दाजुबाट थाहा भयो दारीधारी ती सबै ठूल–ठूला नेताहरू पो रहेछन् । त्यसबेला दलहरू प्रतिबन्धित थिए । नेताहरू धेरैजसो जेलमा । बाँकी रहेका भूमिगत । सांगठनिक र राजनैतिक गतिविधि भूमिगत रुपले हुन्थ्यो । घर वा जनताको कामले फुर्सद नपाएर होइन । उनीहरूले अनुहार छोप्नका लागि दारी बढाएका रहेछन् । कतिपय ती नेताहरू समातिए । कतिपय बेपत्ता पारिए, कतिपयले आफैंले तिरेको करले किनेको गोली पनि खाए । उनीहरूले गरेका त्याग र समर्पण तथा मोलेका जोखिमका लोमहर्षक कहानी सुन्दा मलाई वास्तविक भगवान यिनै हुन जस्तो लाग्थ्यो । दारीले जोगी बनाएको मैले पहिला पनि देखेको थिएँ तर यसले समर्पित नेता बनाएको मलाई त्यसै बेला थाहा भएको थियो । तिनै दारीहरू अहिले सरकारमा छन् । देश कसरी चलेको छ हेर्नुहोस् त ? के के न गर्लान् भनेको त करमारा, तरमारा, गरीबमारा, राष्ट्रमारा भ्रष्टचारीका संरक्षक पो भएछन् । दारीले कसै कसैलाई देश डुबाउने लाईसेन्स पनि दिँदो रहेछ । अहिले थाहा पाउँदा आफैँ माथि रिस उठेर आउँछ ।
वि.पी. कोईरालाले आफ्नो नेतृत्वमा नेपाली कांग्रेसलाई पहिलो प्रतिनिधी सभाभित्र दुई तिहाई मत पु¥याइदिएका थिए । तर उनलाई काम गर्न दिइएन । प्रजातन्त्र खोसेर राजाले उनलाई जेल हाले । प्रजातान्त्रिक समाजवाद भन्दा भन्दै उनी ब्रम्हलिन भए । उनका असली चेला हौँ भन्ने काँगे्रसीजनहरू प्रजातान्त्रिक सामाजवाद भनेर घाँटीका नसा फुलाउँदै छन् । प्रजातन्त्रको पुनःबहालीपछि जनताले लौन त हेरौँ भन्दै पटक–पटक सिंहदरबार भित्र हुले । सबैभन्दा बढी समयसम्म सरकार चलाउँदा पनि उनीहरूले समाजवादको ‘स’ पनि दिन सकेनन् । कतिपटक त प्रजातन्त्रलाई नै सङ्कटमा पारे, किनकी यी सबै कर्ता काँग्रेस रहेछन् । जनताले कम्युनिष्टलाई पनि हेर्न खोजे, संसारमा कम्युनिष्टहरू घटिरहेका बेला जनताले उनीहरूलाई पनि पटक–पटक सिंहदरबार भित्र हुले तर उनीहरूले पनि जनवादको ‘ज’ र समाजवादको ‘स’ पनि दिन सकेनन् । सरकारमा कम्युनिष्ट पुग्दा पनि काम खोज्न विदेशतिर जानुपर्ने युवाहरूको सङ्ख्या झन्–झन् बढ्दैछ र भोक मार्नका लागि च्याउ खाएर मर्नुपर्ने अवस्था अझै विद्यमान छ । किनकी यी सबै दारी कम्प्युनिष्टहरू रहेछन् ।
दारी जुँगालाई ठीक–ठीक समयमा काटेर पनि देश र जनताको हितमा मर्न मिट्न पनि भ्याउने त्यागी महामानवहरुको सूची बनाउने हो भने इतिहासले धेरै नाम पस्किन सक्छ । मन्दिरभित्र धर्मका नाममा गरेका दुराचार, बलात्कार र अपराधमा दुर्नाम कमाएका कतिपय दारीधारी जोगीहरु पनि जेलमा जाँतो पिस्दैछन् । सबै समुदायमा हरेक खालका मानिसहरु हुन्छन् । तर डेढ अक्कलीहरु पनि हरेक समाजमा भेटिन्छन् । यहाँ पनि छन् । उनीहरुले अनौठो तर्क झिकेर सबैलाई तीनछक पारिदिन्छन् । सामान्यीकरण गर्दै उनीहरुले दुधलाई चुलेसी बनाएर तरकारी काटि दिन्छन् । किन कि दुध बकुल्ला जस्तो सेतो हुन्छ र बकुल्लाको आकार चुलेसी जस्तो हुन्छ । त्यसैले दुध नै चुलेसी हो र चुलेसी नै दुध हो भन्ने उनीहरुको तर्कलाई कसले जवाफ दिन्छ ? उनीहरुले दारीधारी सबैलाई त्यागी र दारीबिहीन सबैलाई स्वार्थी भनिदिन्छन् । यही विश्वासलाई व्यापक बनाएर ठगहरुले कार्यव्यापारलाई अगाडि बढाउँछन् । दारीको बहुआयामिक महत्व छ । त्यागी, जोगी, रोगी, भोगी, वैरागी, कवि सबैलाई कुनै न कुनै बेला चाहिने दारीलाई झिकी दिने हो भने अर्थको शास्त्रले मात्रै होइन अर्थतन्त्रले पनि दम तोड्छ । त्यसैले एक स्वरले भनौँ ‘जय दारी, जय अर्थशास्त्र’ ।