गुगल फोटो ।

हेटौंडाः बागमती प्रदेश सरकारले लक्ष्य गरेको भन्दा कम पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाएको छ । सरकारले प्रदेशका १३ वटा जिल्लामा साउन २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरेको थियो ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सप्ताहव्यापी खोप अभियानमा ७१ हजार ९ सय ७७ गाईभैंसीलाई खोप लगाएको छ । मन्त्रालयले ७६ हजार २ सय ७५ गाईभैंसीको लक्ष्य राखेकोमा जम्मा ७१ हजार ९ सय ७७ गाईभैंसीलाई खोप लगाउन सफल भएको पशुपन्छी विकास महाशाखाका पशु सेवा अधिकृत डा.सन्तोष अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले पशुमा लम्पी स्किन रोगको संक्रमण हुन नदिन सप्ताहव्यापी खोप अभियान सुरु गरेको थियो ।

मन्त्रालयले सबैभन्दा कम खोप भक्तपुरमा लगाएको छ भने सबैभन्दा बढि चितवनमा लगाएको छ । मन्त्रालयले भक्तपुरमा ६ सय ९४ र चितवनमा १० हजार २ सय ७९ गाईभैंसीलाई खोप लगाएको हो । यसैगरी काठमाडौंमा ५ हजार एक सय ३६ गाईभैंसीलाई खोप लगाएको छ । ललितपुरमा २ हजार एक सय ४५, धादिङमा ७ हजार ४ सय ९२, काभ्रेपलाञ्चोकमा ८ हजार ५ सय १३, नुवाकोटमा ८ हजार ४८, रसुवामा ४ हजार ४ सय १० गाईभैंसीलाई खोप लगाएको छ ।

सिन्धुलीमा ५ हजार ४ सय ३७, रामेछापमा ४ हजार २ सय २२, दोलखामा ७ हजार २ सय ८७, सिन्धुपाल्चोकमा एक हजार ३ सय २, चितवनमा १० हजार २ सय ७९ र मकवानपुरमा ७ हजार १२ गाईभैंसीलाई खोप लगाएको अधिकारीले बताउनुभयो । मन्त्रालयले खोप अभियानको पहिलो दिन साउन २५ गते शुक्रबार ७ हजार ५ सय ३३ गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाएको थियो । दोस्रो दिन शनिबार ९ हजार ९ सय ५७ र तेस्रो दिन आइतबार १३ हजार ४ सय ४० गाईभैंसीलाई खोप लगाइएको थियो । सोमबार ११ हजार ८ सय १४ र मंगलबार १० हजार ५ सय ४६ वटा गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । खोप अभियानमा बुधबार ७ हजार ७ सय १७ र बिहीबार १० हजार ९ सय ७० गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाएको हो ।

लम्पी स्किन रोग नियन्त्रणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । मन्त्रालयले गाईभैंसीलाई खोप लगाउनका निम्ति ३ सय ७६ भ्याक्सिनेटर नियुक्त गरेका थियो । मन्त्रालयले मकवानपुरमा खोप लगाउन ६२ भ्याक्सिनेटर नियुक्त गरेका थियो । ललितपुरमा ५४ भ्याक्सिनेटर, नुवाकोटमा २५ भ्याक्सिनेटर, धादिङमा ४२ भ्याक्सिनेटर, चितवनमा १३ भ्याक्सिनेटर र दोलखामा २५ भ्याक्सिनेटर नियुक्त गरिएको थियो । काभ्रेमा ९५ भ्याक्सिनेटर र सिन्धुलीमा ६० भ्याक्सिनेटर सम्बन्धित पशु सेवा कार्यालयबाट नियुक्त गरिएको थियो ।
खोप अभियानको पहिलो दिन शुक्रबार एक समारोहका बिच मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित एक गाई फार्ममा प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पशु स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नुभएको थियो ।