हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाको कार्यालय तीन दिनदेखि तालाबन्द छ । नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलले गाउँपालिकामा व्यथिति बढेको भन्दै शुक्रबार ताला लगाएको हो ।
गाउँपालिकामा तालाबन्दीपछि विभिन्न राजनीतिक दल र व्यक्तिहरुले विरोध जनाइरहेका छन् भने केहीले समर्थन जनाइरहेका छन् । ताला लगाउँदा जनतालाई प्रवाह गर्नुपर्ने सेवा ठप्प भएको छ ।
तालाबन्दीका कारण आइतबार पालिकाबाट प्रवाह हुने सेवा ठप्प भएको छ । सोमबार जनैपूर्णिमाको सार्वजनिक विदा भएका कारण तालाबन्दीको कुनै प्रभाव परेन । यस्तै, आज मंगलबार पनि गाईजात्राको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिएका कारण तालाबन्दीको प्रभाव पर्दैन ।
कार्यालयमा लगाइएको ताला खोल्नेबारे अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । शनिबार पालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्रीसहित विभिन्न दलका प्रतिनिधिसहित सर्वदलीय बैठक बसेर उक्त समस्याबारे छलफल गरे पनि निष्कर्षमा पुग्न सकेन । कुनै निष्कर्षमा नपुगेपछि ताला कहिले खुल्छ भन्नेमा अन्योल देखिएको छ ।
लगातार सार्वजनिक विदा परेका कारण सेवा प्रवाहमा तालाबन्दीको प्रभाव नभए पनि सहमति भएर तालाबन्दी नखोले बुधबारबाट सर्वसाधारणलाई प्रभाव पर्नेछ । ताला लगाउने दलहरुले आफूहरुको माग गाउँपालिकाका अध्यक्षले पूरा नगरेसम्म ताला नखुलाउने र कुनै समहतिबिना ताला फोर्ने काम भएमा थप सशक्त आन्दोलन गर्ने चेतावनी दिइरहेको छ ।
गाउँपालिकाको सामाजिक र स्वास्थ्य शाखाको जिम्मेवारीका विषयमा विवाद हुँदा एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरुले शुक्रबार गाउँपालिकामा तालाबन्दी गरेका थिए । फटिकरमण प्याकुरेल अधिकृतस्तर छैठौंलाई सामाजिक विकास र सोही तहका रमेश फुयाँललाई स्वास्थ्य शाखाको जिम्मेवारी तोक्ने गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले निर्णय गर्ने तयारी गरेसँगै उपाध्यक्ष भक्तबहादुर खत्रीले असहमति जनाउनुभएको थियो । उपाध्यक्ष खत्रीले प्याकुरेललाई स्वास्थ्य शाखाको जिम्मेवारीमा नै राख्नुपर्ने माग गर्नुभएको थियो । यसअघि स्वास्थ्य शाखा र सामाजिक विकास शाखाको जिम्मेवारी प्याकुरेलले सम्हाल्दै आउनुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष लामिछानेले कार्यालयमा लगाइएको ताला चाँडै खुल्ने अवस्था बन्ने बताउनुभएको छ । अहिले आफूले राजनीतिक दलसहितका पक्षहरुसँग छलफल गरेर उक्त समस्या समाधान गर्न सुरु गरेको उहाँको भनाइ छ । सामाजिक शाखाअन्तर्गत् रहेको स्वास्थ्य शाखालाई छुट्याएर सेवा प्रवाहमा सजिलो पार्न जिम्मेवारी बाँडफाँड गर्न खोज्दा उक्त समस्या आएको उहाँले बताउनुभयो ।
पालिकाको शाखाको जिम्मेवारी तोक्ने विषयमा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले एकलौटी निर्णय गरेको भन्दै ताला लगाएको जनाइएको छ ।
पालिकाका उपाध्यक्ष खत्रीले अध्यक्ष लामिछानेले कर्मचारी आफूखुशीले चलाएको आरोप लगाउनुभएको छ । अहिले विभिन्न सामाजिक सञ्जालमा उपाध्यक्षको नेतृत्वमा पालिकामा तालाबन्दी गरिएको भन्ने सूचना गलत भएको उपाध्यक्ष खत्रीको भनाइ छ । आफू तालाबन्दी हुनुपर्छ भन्ने पक्षमा नरहेको भन्दै उहाँले गाउँपालिकाका अध्यक्ष उक्त समस्या समाधान गर्न तयार हुनुपर्ने बताउनुभएको छ । उहाँले आफ्नो चरित्रसमेत हत्या गर्ने गरी उपाध्यक्षको नेतृत्वमा तालाबन्दी भएको भन्ने सूचना फैलाएको भन्दै त्यो सत्य नभएको बताउनुभयो । आफू र प्रमुख प्रशासकीय अधिकृतले नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलले पालिकाको समग्र व्यथितिबारे बुझाएको पत्र बुझेको तर आफ्नो नेतृत्वमा तालाबन्दी नगरेको बताउनुभयो । उहाँले सरकारले कार्यालयमा तालाबन्दी गरेर जनताको सेवालाई रोक्न नहुने बताउनुभएको छ । उहाँले मंगलबार सार्वजनिक विदा भएकाले समस्या नहुने र त्यसपछि भने सेवा प्रवाहमा असर हुने भन्दै समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले चाँडै यो समस्या समाधान गर्न अध्यक्ष सकारात्मक बनेर सबैसँग समन्वय र सहकार्य गर्न तयार हुनुपर्ने बताउनुभएको छ । हरेक महिनाको ५ गते बस्ने नियमित कार्यपालिका बैठकभन्दा अगाडि यो समस्या समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।