माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतीजा सार्वजनिक भएको २÷४ दिन निक्कै चर्काचर्की बहस भए । नतीजाको दर, विद्यार्थीको सिकाई, सिङ्गो देश, सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालिका, निजी र सामुदायिक विद्यालयको नतीजा जस्ता विविध पक्षमा बहस भए । यतिबेला एसईईको सन्दर्भ सेलाएको छ । एसईईपछि कक्षा ११ को पठनपाठनका विषयमा खासै चासो र चर्चा देखिन्न । एसईईमा सफल भई कक्षा ११ मा भर्ना हुने विद्यार्थी यतिबेला कुन विषय अध्ययन गर्ने भन्ने द्विविधामा छन् । उच्च शिक्षाका लागि उपयुक्त विषय छनोट गर्नु विद्यार्थीका लागि चुनौतिपूर्ण रहन्छ । एसईईको समीक्षा, कक्षा ११ को भर्ना, विद्यार्थी र अभिभावकसँगै शैक्षिक संस्थाहरूले ध्यान दिनुपर्ने सन्दर्भमा हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका प्राचार्य सन्देश विडारीसँग सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः मकवानपुर बहुमुखी क्याम्पसमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजापछि नयाँ भर्ना हुन आउने विद्यार्थीहरुको उपस्थिति कति छ र विद्यार्थीहरुको सोधीखोजी कति छ ?
विडारीः देशमा अहिले जुन खालको एसईईको नतीजा देखा पर्यो त्यो नतीजा त्यति सन्तोषजनक छैन । मकवानपुर जिल्लामा करिब ६ हजार विद्यार्थीले एसईई परीक्षा दिँदा २ हजार मात्र पास हुनु भनेको राम्रो होइन । पक्कै पनि यस वर्ष नतीजा राम्रो नआएकै कारणले हाम्रो जस्तो सामुदायिक क्याम्पसमा कक्षा–११ को विद्यार्थी भर्नामा चाहिँ गतवर्षको तुलनामा केहि न केहि असर परेको छ । गतवर्ष हामीले राम्रै विद्यार्थीलाई क्याम्पसमा भर्ना गरेका थियौं तर यसपालि नियमिततर्फ पास हुने विद्यार्थीहरु चाहिँ गतवर्षको तुलनामा अलि कम हामीसम्म आइपुग्छन् । समग्रमा नतीजाको विश्लेषण गर्ने र एसईईमा उत्तीर्णको दर कम भएकोले भर्नाको संख्यामा पनि कमि आएको छ ।
समाजः एसईईको नतीजामा चाहिँ यो पटक सैद्धान्तिकमा उत्तीर्ण हुनैपर्ने, ३५ प्रतिशत अंक ल्याउनैपर्ने भन्ने नियम लागु भएपछि उत्तीर्णको दर कम भएपनि उत्तीर्णको गुण राम्रो छ भन्ने विश्लेषण भइरहेको छ ?
विडारीः सबै स्थानीय तहहरुमा सबै वडाहरुमा प्रायःजसो सबै विद्यालयहरुमा एउटा–एउटा उच्च माध्यमिक विद्यालयहरु हुन्छन् । कक्षा–१२ सम्म पढाइ भइरहेका छन् । सबै विद्यालयका शिक्षकहरु आफ्ना विद्यार्थीहरुलाई सकेसम्म बाहिर पढाउन चाहनु हुन्न । सरकारले आफ्नो नियम परिवर्तन गर्दै गर्ने गरेको छ । विद्यार्थी विशेषगरी विज्ञान विषय पढ्नका लागि मकवानपुर बहुमुखी क्याम्पस आउने गरेका छन् । विज्ञान विषय पढ्ने विद्यार्थीहरुका लागि हामीहरुले विशेष प्रकारको कार्यक्रमहरुको आयोजना गछौं ।
समाजः यो पटक विद्यार्थीहरुको त्यति धेरै उपस्थिति भइसकेको छैन ?
विडारीः अहिलेसम्म विद्यार्थीहरुको जति उपस्थिति हुनुपर्ने त्यति छैन । हामीले अघिल्लो वर्षको नतिजाको विश्लेषण गर्दा क्षमतामा परिवर्तन आइसकेको अवस्था छ । हामीले विश्लेषण गर्ने हो भन्ने विद्यार्थीहरुको भर्नाको संख्यामा केही परिवर्तन आएको देखिएको छ । हामीले कक्षाकोठामा विद्यार्थीहरुलाई बोलाइसकेपछि मात्र विद्यार्थी कस्तो छ भन्ने कुराको विश्वास गर्न सक्छौ ।
समाजः मकवानपुर क्याम्पस बागमती प्रदेशका क्याम्पस मध्ये राम्रो मानिन्छ । अहिले क्याम्पसका कक्षा–१२ को कार्यक्रमहरु के–के छन् ? कसरी चलिरहेको छ ?
विडारीः हाम्रो मकवानपुर बहुमुखी क्याम्पस अहिले पनि जिल्लाको अग्रणी क्याम्पसमै आउँछ । हामीले कक्षा–११ मा अलि शान्त वातावरणको आवश्यक पर्छ । हामीले लगभग १ हजार ५ सय विद्यार्थीहरु भर्ना गरिरहेको अवस्था छ अहिले पनि । यसवर्ष पनि त्यही अनुसार विद्यार्थी भर्ना हुन्छन् र संख्यामा कम हुँदैन । नियमित आउने विद्यार्थीहरु केहि दिन कम होलान् । विज्ञानतर्फ जति विषयहरु पढाइ हुन्छन् फिजिक्स, केमेस्ट्रि वायोलोजी पढ्ने विद्यार्थीहरुको संख्यामा विज्ञान विषयमा हामीले दुई कक्षा थप गरेका छौं । राम्रा राम्रा प्राध्यापकहरु हुनुहुन्छ ।
समाजः मकवानपुर क्याम्पसमा बिहान र दिउँसो सबै विषयहरु पढाइ हुन्छ या के छ ?
विडारीः बिहान चाहिँ हामीले विषय वस्तुलाई हेरेर त्यसलाई आवश्यक पर्ने समयलाई बुझेर कक्षाहरु सञ्चालन गरिरहेका छौं । बिहान हामीले व्यवस्थापन संकाय, शिक्षा शास्त्र, मानविकी संकायका कक्षाहरु सञ्चालन गरिरहेका छौं । विज्ञान विषयका लागि शान्त वातावरण आवश्यक पर्ने र पढ्न बढी समयको आवश्यक पर्ने भएकोले दिउँसो सञ्चालन गर्ने गरेका छौं भने व्यवस्थापन संकायको विषयलाई दिउँसो पनि सञ्चालन गरिएको छ । विज्ञान विषय दिउँसो चलाउनुको कारण हामी विज्ञानका विषयहरुमा जति विषयहरु पढाइ हुन्छन् अरु जस्तो संचालन गरेर थप दुई कक्षामा सञ्चालन गर्ने गरेका छौं । प्राक्टीकलको कक्षा सञ्चालन गरेर पनि अझ दुईवटा कक्षा थप गरेका छौं ।
समाजः विद्यार्थीहरुले विषय छनौट गर्ने क्रममा ध्यान दिने कुराहरु चाहिँ के जस्तो लाग्छ ?
विडारीः विद्यार्थीहरुलाई राखेर परामर्श गर्ने बारेमा हामीले सोचेका छैनौंं । कुन विषय पढ्ने भन्ने कुरामा विद्यार्थीहरुलाई सधै समस्य परिरहेको हुन्छ । हाम्रो समाज पनि धेरै परिपक्व भएको छैन । विद्यार्थीहरुलाई परामर्शमा लग्ने भन्ने विषयमा हामीले कुरा गरेका छौं । सहर बजारतीर केन्द्रीय विद्यार्थीहरुलाई राम्ररी परामर्श गरेको अवस्था छ । छर–छिमेकबाट पनि परामर्श हुने भएकोले उसले आफ्नो एक प्रकारको लक्ष्य बनाउन सक्छ । विद्यार्थीलाई परामर्श गर्ने वातावरणको सिर्जना हामी भविष्यमा गर्नेछौं ।