हेटौँडाः बागमती प्रदेशमा मन्त्रालय भागबण्डाको विषयमा एमाले र कांग्रेस बीच सहमति जुटेको छ । प्रदेशको १३ मन्त्रालय मध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेको हो ।
एमाले कांग्रेस सहमतिअनुसार सोमबार कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले सरकारको नेतृत्व गर्नेगरी मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम रहेको थियो । बिहान १० बजे तय गरिएको कार्यक्रम अन्तिम समयमा रोकिएको थियो । दुई दल बीच मन्त्रालयको भागबण्डाको विषय नमिल्दा मुख्यमन्त्रीमा लामाको दावी समेत रोकिएको थियो । एमाले र कांग्रेस बीच मुख्यमन्त्री बाहेक ६/६ वा ५÷७ मन्त्रालयको नेतृत्व लिने भन्ने विवाद भएको थियो । प्रदेशमै कुरा मिल्न नसकेपछि एमालेका प्रदेश सभा सदस्यहरु केन्द्र गुहार्न पुगेका थिए । सोमबार राति केन्द्रबाट मुख्यमन्त्री बाहेक ६/६ वटा मन्त्रालय लिने गरी सहमति गरेपछि एमालेका प्रदेश सभा सदस्यहरु हेटौँडा फर्किएका छन् ।
सहमति अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय लिनेछ भने कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र कृषि पशुपन्छी विकास मन्त्रालय लिनेछ ।
दुई दल बीच २ वटा मन्त्रालयको विषयलाई लिएर सहमति जुट्न सकेको छैन । कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाका अनुसार केही बेरमा नै मन्त्रालय भागबण्डाको विषयमा सहमति हुनेछ । उहाँका अनुसार युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कसले कुन लिने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ ।
युवा तथा खेलकुद मन्त्रालय कांग्रेसलाई छाड्ने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा एमालेले दावी गरेको छ । एमालेले सोही अनुसार सहमति भएको दावी गर्दै आएपछि कांग्रेसले भने अझै सहमति नभएको बताएको छ । कांग्रेसले पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालय आफूले लिने र युवा तथा खेलकुद मन्त्रालय एमालेलाई दिने गरी सहमति हुने जनाएको छ ।