फाईल तस्विर ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चौथो पटक प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । सत्ता समीकरण परिवर्तनसँगै ३ पटक प्रदेश सभाबाट विश्वासको मत पाउनुभएका मुख्यमन्त्री जम्कट्टेलले आज आइतबार चौथो पटक विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।

२०७९ पुस २५ मा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता समीकरणबाट मुख्यमन्त्री बन्नुभएका जम्कट्टेलले समीकरण परिवर्तनसँगै पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत पाउनुभएको थियो । २०७९ माघ ३ मा कुल ११० जना प्रदेश सभा सदस्य मध्ये १०५ सदस्यको समर्थन पाउनुभएका जम्कट्टेल नेतृत्वको सत्ता गठबन्धन ४ महिना चलेर चैत १० मा तत्कालिन गठबन्धन भत्कियो । त्यस समयमा गठबन्धन मात्र भत्किएन गठबन्धन परिवर्तनसँगै सरकार टिकाउनुभएका जम्कट्टेलको लोकप्रियता निरन्तर खस्कँदै गयो ।

राप्रपा र एमालेसँगको सहयात्रा टुंगिएपछि २०७९ चैत १० मा दोस्रो पटक उहाँले विश्वासको मत लिनुहुँदा प्रदेश सभाका ६७ सदस्यको समर्थन पाउनुभएको थियो । करिब १ बर्ष कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको साझेदारीमा सरकार सञ्चालन भयो । अन्ततः २०८० फागुन २० मा पुनः समीकरण परिवर्तन भयो । फागुन २३ मा सरकारबाट कांग्रेस अलग भयो । त्यस लगत्तै बाध्यकारी परिस्थितिका बीच चैत १९ मा मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिनुभयो । सो समयमा उहाँले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहितको गरी ५६ मत प्राप्त गर्नुभयो ।

सत्ता विमुख हुने निश्चित रहेका बखत मुख्यमन्त्री जम्कट्टेल प्रदेश सभामा विश्वासको मत लिने तयारीमा हुनुहन्छ । अंक गणितीय रुपमा सत्ता उहाँको पक्षभन्दा बाहिर गइसकेका बखत आज आइतबार प्रदेश सभामा विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । अंकगणितीय प्रतिकुलताका बीच प्रदेश सभामा विश्वासको मत लिन उभिने निर्णयमा पुग्नुभएका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मतको प्रक्रिया टुंगाउँदै हुनुहुन्छ । सोही अनुसार शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रक्रियागत रुपमा प्रदेश सभाबाट विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएसँगै सो उपर छलफल हुने प्रदेश सभाको कार्यसूचि निर्धारण गरिएको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालले जानकारी दिनुभयो । बैकठमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने र त्यस उपर प्रदेशसभाका दलहरुले दलगत रुपमा छलफलमा भाग लिने उहाँले बताउनुभयो । दलगत रुपमा संसदीय दलका नेताले धारणा राखेपछि मुख्यमन्त्रीले जवाफ पेश गर्ने र सो पश्चात प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने उहाँको भनाई छ । मत विभाजनसहित मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको छिनोफानो गरिने उहाँले बताउनुभयो ।

असार १७ मा केन्द्रीय तहमा एमाले–कांग्रेस सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति बनेसँगै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार संकटमा परेको थियो । केन्द्रीय तहको समीकरण अनुसार प्रदेश सरकारबाट तत्कालिन साझेदार दल नेकपा एमालेले असार २४ मा सरकारको समर्थन फिर्ता लिएको थियो भने ५ मन्त्रीको सामूहिक राजिनामा समेत गराएको थियो । असार २४ गतेदेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनुभएका मुख्यमन्त्री जम्कट्टेलले आगामी साउन २२ गते भित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने प्रावधान रहेको छ । जस अनुसार मुख्यमन्त्री जम्कट्टेलले आइतबार मत विभाजनसहित विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

कांग्रेस र एमालेले विपक्षमा मतदान गर्ने

नयाँ समीकरण अनुसार सरकार निर्माणको तयारी थालेका कांग्रेस एमालेले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएका छन् । केन्द्रीय सहमतिअनुसार एमालेसँगका सहकार्यमा प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने गरी अघि बढेका दुवै दलले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने भएका हुन् ।

शुक्रबार काठमाडौंमा बसेको एमाले कांग्रेसको संयुक्त बैठकले ३ बुँदे सहमति गरेर मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् । उक्त बैठकले आफ्ना प्रदेश सभा सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशनसहित विपक्षमा मतदान गर्न ह्वीप लगाएको छ । बैठकले प्रदेशसभाका अन्य दलहरुलाई मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न आग्रह गर्ने निर्णय गरेको छ भने दुई दलको सहकार्यमा सरकार निर्माण गरी प्रदेशको समृद्धि र राजनैतिक स्थायित्वको अनुभुति प्रदान गर्न न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सोही अनुसार मुख्यमन्त्री जम्कट्टेललाई एमालेले विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने र विपक्षमा मत गर्ने निर्णय गरेको हो । एमालेले आफ्ना प्रदेश सभा सदस्यहरुलाई आइतबारको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुने र विपक्षमा मत हाल्न ह्वीप जारी गरेको हो । प्रदेशसभामा एमालेका २७ सदस्य छन् ।

त्यसअघि नै शुक्रबार नै बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विपक्षीमा मतदान गर्न निर्णय गरेको थियो । प्रदेशसभामा कांग्रेसको ३७ सदस्य छन् ।

राप्रपा र नेमकिपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

राप्रपा र नेमकिपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको थियो । प्रदेशसभा राप्रपाको १३ जना सदस्यहरु रहेका छन् ।

प्रदेशसभाको सशक्त प्रतिपक्षको रुपमा छवी बनाएको नेमकिपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । विगतदेखि नै प्रतिपक्षमा रहँदै आएको सो दलले यसपटक पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नलिने निर्णय गरेको हो । प्रदेशसभामा एकीकृत समाजवादीको ३ सदस्य छन् ।

मुख्यमन्त्री पक्षमा २९ मत प्राप्त हुने

मुख्यमन्त्री जम्कट्टेलको पक्षमा २९ मत प्राप्त हुने देखिन्छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र साझेदार दल एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी समेतको गरी २९ मत प्राप्त हुने देखिन्छ ।

एकीकृत समाजवादीले मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मतदान गर्ने निश्चित भएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालका अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मत दिने तयारी रहेको छ । प्रदेशसभामा सो दलको ७ सदस्य छन् । यता हाम्रो नेपाली पार्टीको २ मध्ये एक सदस्यले मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मतदान गर्ने भएका छन् । सो दलको एक सदस्य भने विश्वासको मत बारे निर्णय हुन सकेको छैन । सो दलका जम्कट्टेल नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनेका शैलेन्द्रमान बज्राचार्यले मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मत दिने भएका छन् । मुख्यमन्त्री जम्कट्टेलको पार्टी माओवादी केन्द्रका २१ सदस्य प्रस्तावको पक्षमा देखिने छन् ।