बागमती प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने होडबाजी देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच केन्द्रीय तहमा सत्ता गठबन्धनका लागि नयाँ सहमति भएपछि त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा कांग्रेस र एमाले दुई पार्टी मिल्दा प्रदेशसभामा सहजै बहुमत पुग्ने भएकाले यी दुई दलबीच ३–३ प्रदेशमा सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ । तीनवटा प्रदेशमा यसअघि नै एमाले र कांग्रेस नेतृत्वको सरकार रहेकाले त्यसलाई निरन्तरता दिने र नेकपा माओवादी केन्द्रले नेतृत्व गरिराखेको प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने भएको छ । जसअनुसार बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसको भागमा परेको छ । सम्भवतः आज आइतबार बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभामा पेश गर्न लागेको विश्वासको मतको प्रस्तावको विपक्षमा बहुमत पुगेपछि बागमतीमा कांग्रेस नेतृत्वको सरकार गठन प्रक्रिया अघि बढ्नेछ ।

बागमतीमा सरकारको नेतृत्व कांग्रेसको भागमा परेको पनि मुख्यमन्त्रीमा दुई जनाको चर्चा चलिरहेको छ । नेपाली कांग्रेसको विधानबमोजिम बागमती प्रदेशसभामा कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नुपर्ने भए पनि कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पनि मुख्यमन्त्रीको प्रबल दावेदार मानिएको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन बाँकी भएकाले कांग्रेसले मुख्यमन्त्री टुंगो नलगाउँदासम्म लामा र बानियाँबीच मुख्यमन्त्रीका लागि होडबाजी चलिरहेको हो । लामा संसदीय दलको नेता भएकै कारण पार्टीको विधानअनुसार मुख्यमन्त्री बन्ने आशामा छन् सदन, सरकार र पार्टीमा राम्रो प्रभाव पार्न सक्ने क्षमता भएका बानियाँ पनि मुख्यमन्त्रीका सशक्त दाबेदार देखिएका छन् । मुख्यमन्त्रीको होडबाजीमा रहेका दुबै नेताहरु पार्टीका शीर्ष नेताहरुसँग लविङ गरिरहेका छन् । पार्टीको शीर्ष नेतृत्वले मुख्यमन्त्रीको टुंगो नलगाउँदासम्म दुबै नेताको मुख्यमन्त्री बन्ने सम्भावना देखिन्छ ।

मुख्यमन्त्रीका लागि लामा र बानियाँ दुबै जना सक्रिय बनिरहेका छन् । पार्टी संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा संसदीय दलकै नेताले सरकारको नेतृत्व गर्ने व्यवस्था छ । विधानअनुसार संसदीय दलका नेता लामा मुख्यमन्त्री हुने निश्चित देखिए पनि कांग्रे सभित्र देखिएको परिस्थिति लामाको लागि त्यति सहज छैन । बानियाँ र उनका पक्षधर संसदीय दलको नेतृत्व नै परिवर्तन गरेर भए पनि बानियाँलाई मुख्यमन्त्री बनाउने दाउमा छन् । संसदीय दलको नेता नभए पनि मुख्यमन्त्री बन्न मिल्ने बहस पनि कांग्रेसभित्र चलिरहेको छ । संविधानको धारा १६८ (१) अनुसार बहुमतको मुख्यमन्त्री र धारा ७६ (३) अनुसार अल्पमतको मुख्यमन्त्री नियुक्त गर्दा संसदीय दलको नेता हुनु जरुरी भए पनि धारा १६८ (२) र १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गर्दा संसदीय दलको नेता हुन जरुरी नरहेको बानियाँ पक्षधरको भनाइ छ । प्रदेशसभाको कुनै पनि सदस्यले दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर मुख्मयन्त्री बन्नसक्ने भएकाले संसदीय दलको नेता नै हुनुपर्ने आवश्यकता नरहेको उनीहरुको दावी छ ।

कांग्रेस संसदीय दलको नेता लामाले कांग्रेस सरकार र प्रतिपक्ष दुबै ठाउँमा हुँदा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बानियाँ पक्षधरले आरोप लगाइरहेका छन् । दलको नेताकै कारण प्रदेश सरकारको जग कमजोर हुने कांग्रेस नेताहरुको टिप्पणी छ भने यसअघि पटक–पटक मुख्यमन्त्री हुने अवसरबाट चुकेका बानियाँले अवसर पाउनुपर्ने बहस चलिरहेको छ । संसदीय दलका नेता लामाले भन्दा बानियाँले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने भन्दै बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने माग बानियाँ पक्षधरले उठाएका छन् । संसदीय दलको नेता नै सरकार प्रमुख बन्ने विधान रहेकाले कांग्रेसले विधानविपरित नजाने लामा पक्षधरको दावी छ । बागमती प्रदेश सरकारको नेतृत्व लिन लामा र बानियाँ दुबै आ–आफ्नो दावी र अडानमा रहेर होडबाजी भइरहँदा मुख्यमन्त्री को बन्ला भन्ने विषय अन्यौलमा परेको छ ।