हेटौंडाः लोककवि गणेशलाल श्रेष्ठको १ सय १३ औं जन्मजयन्तीको अवसरमा भएको खुला कविता प्रतियोगितामा म्याग्दी जिल्लाकी आरती आचार्य प्रथम हुनुभएको छ । नेपाल भाषा खलः मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा भएको कविता प्रतियोगितामा सहभागी २० प्रतियोगीमध्ये आचार्य प्रथम हुनुभएको हो ।
प्रतियोगितामा सिन्धुली जिल्लाका बाबुराम श्रेष्ठ यात्री द्वितीय र अर्घाखाँची जिल्लाकी पूर्णिमा गिरी तृतीय हुनुभएको छ । मकवानपुरकी अनुशिया खनाल सान्त्वना हुनुभएको छ ।
कविता प्रतियोगिताकै अवसरमा सर्जक सञ्जाल मकवानपुरका संयोजक साहित्यकार निमेष निखिललाई सम्मान गरिएको छ । मकवानपुरको साहित्य क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै साहित्यकार निखिललाई लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य सम्मान २०८१ बाट १५ हजार रुपैयाँ नगद राशि र सम्मानपत्र प्रदान गरिएको छ ।
यस्तै, बाल प्रतिभा पुरस्कारबाट नवोदय शिशु सदनकी अनुशा उप्रेतीलाई सम्मान गरिएको छ । उहाँलाई ३ हजार रुपैयाँ नगद राशि र सम्मानपत्र प्रदान गरिएको हो । यसअघि स्वर्गीय तुल्सी थापालाई गणेशलाल स्मृति साहित्य सम्मान २०८० बाट १० हजार रुपैयाँ नगद राशिसहित सम्मान गरेको नेपाल भाषा खलःले यस वर्षबाट पुरस्कार राशि बढाएको हो ।
सम्मानपछि संयोजक निखिलले आफूले जिल्लाका विभिन्न साहित्य संस्थाहरुको नेतृत्व गरिरहँदा पनि साहित्यकारहरुको न्यून उपस्थिति रहेको बताउनुभयो । सबै अग्रज व्यक्तित्वहरुले साहित्य क्षेत्रको विकास गर्नका लागि नेतृत्व गरेर अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । सम्मान पाएको कारणले साहित्य क्षेत्रको विकासका लागि थप जिम्मेवारीको अनुभूति आफूले गरेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुनका लागि ५३ जनाले कविता पठाएकोमा २० जना छनोटमा पर्न सफल भएका थिए । प्रतियोगितामा छनोट भएका केही प्रतियोगीहरु अनुपस्थित रहेका थिए । भाषा खलःले हरेक वर्ष साउन ५ गते श्रेष्ठको जन्मजयन्तीको अवसर पारेर कविता प्रतियोगिता आयोजना गर्ने गरेको छ ।
नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष महेश्वर श्रेष्ठको सभाध्यक्ष तथा नेवाः दय बागमती प्रदेश अध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिका २ नम्बर वडाका वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा कविता प्रतियोगिताको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा संस्थाका संरक्षक अंगदप्रसाद श्रेष्ठ र सल्लाहकार गणेशकुमार श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो । प्रतियोगितामा साहित्यकार अनिता न्यौपानेले मुख्य निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने पुरुषोत्तम आचार्य, गणेशकुमार श्रेष्ठ र एस लामाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ, ५ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको छ ।