बाध्यता र विवशताको भुमरीमा परी विदेशी भूमिमा आफ्नो पसिना र रगतसँग उमेर बेच्न कसलाई रहर हुन्छ होला र आफ्नो जन्मभूमि, बाबू–आमा र सिंगो परिवार र साथीभाई छाडेर विरानो मुलुकमा पसिनाको आहालसँग पैसालाई साट्न । आफ्नो देशमै श्रम गरेर परिवारसँग बसेर दुई छाक मिठो मसिनो खाएर जीवन कटाउन सबैलाई रहर हुन्छ । तर यस्तो वातावरण कहाँ सबैलाई मिल्दो रहेछ र परिवारको सुखद भविष्यका लागि परदेशीनु बाध्यात्मक अवस्था रहेको छ ।
सम्भावना र चुनौतिलाई पहिल्याउन नसकी साहुको महँगो ऋण काडेर विदेशीने संख्या धेरै रहेको छ । परदेशी शब्द आफैंमा कारुणिक व्यथा बोकेको बोझिलो शब्द हो । जसमा दुख, पीडा, विछोड रोदनका कथाहरु मात्र भेटिन्छन् । चोटैचोट सहेर आफ्ना हर्ष, उमंग, चाहना, खुशीहरुलाई तिलाञ्जली दिएर जिम्मेवारी र दायित्वलाई निभाउँदा निभाउँदै आफू आफुमा हराएको आफुले बिर्सिसकेको एक दुखी मानव नै परदेशी हो । हामी धेरै नेपालीमा यस्तै किसिमका पीडा र विडम्बना र उदेकलाग्दो अवस्थाहरु छन् । सामान्यभन्दा सामान्य आवश्यकता पूरा गर्नका लागि मात्र पनि विदेशीनु पर्ने कस्तो कहालीलाग्दो विषम् परिस्थिति छ ।
पिँजडाको ’सुगा’ र परदेशिको जीवन उस्तै हुन्छ । बाहिरबाट निकै सुन्दर देखिन्छ तर भित्री पीडा अनि वेदना कहिल्यै छोड्दैन रहेछ । यहाँ भोग्नेलाई मात्र थाहा हुन्छ पीडाहरु के हो अनि दुखहरु के हो । अझ पछिल्लो समय आउने समाचारले त मन कुडिएर आउँछ जस्का लागि सबै कुरा त्यागेर सुन्दर बनाउने सपना देखेर परदेश आएको हुन्छ यहाँ धेरै नेपाली दाजुभाइहरुको जीवन संगिनीहरु यसै टाढिएका खबरहरु बाहिर आउँछन् मनमा धेरै असह्य पीडाहरु हुन्छन् । जसका लागि आफ्नो जीवन आहुति दिएर तिनैको रहर र इच्छा आकांक्षा पूरा गर्ने र सुख दिनका लागि मुग्लान पसेका मुग्लानीलाई घर न घाटको बनाएर बाटो मोड्नेहरुलाई सम्झिँदा लाग्छ परदेशीको को छ र आफ्नो ।
आजभोलि त यस्तो लाग्छ यो परदेशीको जीवन पनि लडाएमा गएको सिपाहीहरुको जस्तै हो । घरबाट बिदा लिएर हिडिसकेपछि सकुशल घर फर्किएर आईपुगिन्छ कि पुगिन्न कुनै भर हुँदैन देखेको र सुनेको जस्तो कहाँ हुन्छ र परदेशी जीवन । अरुकै खटन अरुकै आशा आफ्नो केवल झिनो सपना अनि त्यसैको भरोसा । न दिनको भोक न रातको निद्रा न जीवनको न कुनै मनको रहर केवल चल्छ त अरुकै कर । गलेको होस् कि थाकेको, ज्वरो आएको होस् या बिरामी परी खान नरुचेको होस् काम नगरी धरै हुँदैन । बिहानै उठ्यो मिठो–नमिठो काँचो होस् या पाकेको दुई गास टपक्क टिप्यो अनि लाग्यो आफ्नो पसिनाको व्यापार गर्न । न कतै खाजा न नास्ता केवल त्यही दुई गासको भरमा दिनभरि काम गर्यो अनि बेलुका लखतरान भएर आयो त्यही कोठीमा ।
यहाँ जसले जतिसुकै चिल्ला कुरा गरे पनि अधिकांशको कहानी फरक पर्दैन । चाहे विद्यार्थी भिषामा संसारका विकसित भन्ने मुलुकमा अध्ययनका लागि पुगेका हुन् या त काम गर्न विकसित या खाडीका मुलुकैमा नै पुगेका किन नहोस् । भलै काम र दाम फरक होला तर जीवनशैली र पीडा लगभग एउटै हो । दिनभरि काम गर अनि कति चाहिँ रातभर जागा बस । न कामको जस न कतै नाम आउँछ त केवल गाली र अपमान । चाहे जसरी काम गरे नि पराइको मन बुझाउन कहाँ सजिलो हुन्छ र ? आफ्नो सबै चाहना मारेर पनि अरुलाई खुसी पार्नुपर्ने यो बिडम्बना कसलाई सुनाउने कसले सुन्ने ? चाडबाड आउँछ घरदेशमा मन पोल्छ प्रदेशमा त्यसो त अरु विकल्प पनि त कहाँ हुन्छ र स्वदेशमा जस्तै रमाउने ।
आफ्नो संस्कार र रीतिरिवाजलाई भुलेरै पनि अरुको संस्कारमा रमाउन विवश हुनु कहाँ सामान्य छ र । चाहेर होस् या नचाहेरै भए पनि विदेशी चाडपर्वको सम्मान र अनुशरण गर्नुपर्छ बाँच्नकै लागि पनि । बल्ल–बल्ल काम ग¥यो महिना पूरा हुन्छ धेर–थोर रुपैयाँ त आउँछ तर त्यही साहुको अनुहार आँखै अगाडि अनि सबै पैसा त्यही साहु र घरदेशमा परिवार पाल्न पठायो, विदेश आफ्नो हालत त फेरि उस्तै न हो । घरमा बाबा आमा या परिवारले सोचेजस्तो फेरिएको हुँदैन महिनैपिच्छे कपडा प्रदेशमा त्यो त लाउन नपाएर नयाँ देखिएको, देखाउन समय पनि त कहाँ हुन्छ र । फेरि एक जोर लुगा फाट्न पनि वर्षांै लाग्छ । देखाउनकै लागि भए नि उसले बल्ल एउटा फोटो खिच्छ, त्यही नयाँ लुगा लगाएर राम्रो बगैंचा अनि चिल्लो बाटो र राम्रो कार नजिक बसेर अनि त्यसैमा चित्त बुझाउँछ आफ्नो र आफन्तको । तर वास्तविक कहाँ हो र यो ? कसरी देख्न सक्नु अनि उसले कसरी देखाउन सक्नु त्यो साँघुरो कोठा ? त्यो भुइँमा ओछ्याएको एउटा म्याट अनि एउटा पानीको बोतल छेउमा त्यही पर कुनामा खाना पकाउने केही भाँडा अनि केही पोका जुन भोलिपल्ट पेट भर्नलाई राखेको छ । अझ रातभरि खाएको उडुस र उपियाँ अनि लामखुट्टेको टोकाई त चाहेर पनि कसरी देखाउनू ? त्यो फेसबुकमा देखेको फोटो वास्तविक कहाँ हो र त्यो त महिनामा एकपल्ट साइत हेरी हेरी रेस्टुरेन्ट छिरेर खाना खाएको फोटो हो ।
कठै, काम गर्दा गर्दै प्लास्टिक प्लेटमा दाल र भात सडकको छेउमा बसेर खाएको फोटो कसले देखाउने आफन्त साथीभाइ र इष्टमित्रत्रलाई । त्यो गाडी उसको हैन त्यो त सडकमा रोकी राखेको गाडी हो । कहिले कतै जाँदा पैसा हुँदा चढेको ट्याक्सी हो, गोजीमा एक रुपैयाँ नहुँदा चप्पल पड्काउँदै तातो घाममा घन्टौं हिँडेको कुरा कसले भन्ने कसले सुन्ने ? बिरामी हुँदा औषधीसम्म खान नपाएर लडेका, निन्द्रा र कामले अचेटेर बेहोस बनी लडेको, अनि काम गर्दा गर्दै हात खुट्टा झरेका फोटा कसले हाल्न सक्छ र ? यिनै कहानीभित्र छ प्रदेशी जीवन र परदेशी कहानी । भन्नेले त सहजै भन्लान् नि रहरले गएको बल्ल चालपाइस् तर गुलाम बन्ने रहर त कसलाई पो लाग्ला र ? जब उता घर देशमा चाडबाड आउँछ तब परदेशमा मन जल्छ अनि पोल्छ, तप तप प्लाष्टिकको आगोले झैं पिरले ।
अझ परदेश निस्कँदा रातो टीका र जमरा अनि मखमली र सप्तरंगी टीका लगाई खिचेको फोटो फेसबुकमा हाल्दा त काम गर्दै गर्दा पनि एक हातले आँसु पुछ्दै अर्काे हातले शुभकामना लेख्छ परदेशी, यो कहानी यहाँ कसलाई सुनाउने, कसले सुन्ने ? महिनामा कहिलेकाहीँ घरमा फोन गर्छ अनि घरबाट के छ भन्दा पीडा पोको पार्दै ठीक छ भनेको कुरा कसलाई भन्नु । घर परिवार साथीभाइहरु अरु कुराभन्दा पनि हरेक पटक कमाई कस्तो छ भनेर साध्छन् । सोचेझैं सधैं मासुभात कहाँ हुन्छ र विदेशमा कहिलेकाहीँ तरकारी नहुँदा त्यही बासी भातमा नुन हालेर खाएको कुरा भन्न नसकी फेसबुकमा डिनर आज रेस्टुरेन्टमा लेखेको स्ट्याटस पढ्दा घरपरिवार साथीभाइको मन लोभिँदो हो तर कसरी भन्न सक्नु यो कहानी ।
धेरै सरकार फेरिए युवाहरू स्वदेशमा नै विभिन्न कार्यक्रम ल्याएर स्वदेशमा रमाउन सक्ने बनाउने भनेर तर आज पनि वैदेशिक रोजगारतर्फ जानेको ताँती हेर्दा लाग्छ कि कुनै पल्टनमा जान लागेको जस्तो । हाम्रो देशको अवस्था नै खुकुलो भएर हो या हाम्रो देशमा अवसर नै नभएर हरेक दिन या लहर भेटिन्छ । हरेक दिन सयौंको हाराहारीमा नेपाली विदेशिएका छन् र विदेशिने गर्छन्, प्रश्नमाथि प्रश्न गर्न मन लाग्छ, किन हरेक युवालाई विदेशिन बाध्य तुल्याउँछ सरकार ? किन कुनै अवसर दिन सक्दैन सरकार ? हामी नेपाली मजबुर छौं ? विदेशिन र आफ्नो परिवारबाट टाढिन । अर्काको देशमा गएर खुन पसिना एक गरेर अर्काकै देशलाई सुन्दर बनाउने हामी नेपाली किन हामी नेपाललाई नै सुन्दर बनाउन सकिरहेका छैनौं किन हामी नेपालमै किन केही गर्न सकिरहेका छैनौं ? हाम्रो आदर्श मानिने दिग्गज कोहीले पनि यस विषयमा त्यत्ति चासो राखेको देखिँदैन, विगत लामो समयदेखि हाम्रो नेपालको युवा वर्ग विदेश होमिएका छन् तर अहिले धेरै महिलाहरु पनि विदेशिने गरेको पाइन्छ । कारण प्रष्ट छ तर रोक्ने कुनै प्रयत्न हाम्रो सरकारले गर्न सकेन, नेपालमा हरेक मेनपावरमा सयौं हाराहारीमा हरेक दिन नेपालीले पाइला राख्ने गर्दछन् र एयरपोर्टभित्र हरेक दिन सयौंको हाराहारीमा नेपाली विदेश पलायन हुने गर्दछन् ।
मुख्यतया रेमिट्यान्सले चलेको हाम्रो देश नेपाल तै पनि कमजोर छ । विशेषतः सरकार नै कमजोर भएपछि कसको के लाग्छ र किन यसरी हाम्रो देशको युवायुवती हरेक दिन विदेशिन्छन् भनेर कसले गम्भीर भएर सोच्दिने त्यही माथि दलालले गरेको व्यवहारहरु र दिएको सेवा सुविधा सिधै छातीमा गोली ठोक्ने खालको छ र विदेशिन बाध्य बनाउने सरकारको पनि छातीमै गोली ताक्न मन लाग्ने गर्दछ । देशमा युवाहरु कोही नभएपछि देशको रक्षकको ती बूढाबूढी भएका आमा–बुबा कि घर सिँगार्ने हाम्रा दिदी–बहिनी, कसले सोच्ने अनि कसले रोक्ने साथै कसले सही र गलत छुट्याई निर्णय लिने ।
घरखेत धितो राखेर होस् या त डबल ब्याजमा ऋण गरेर होस् हामी नेपाली दलालको विश्वास गरी विदेशिन्छौं । विभिन्न लोभ लालच देखाउने ती दलालले धुत्न र लुट्न आश गरिरहेको हुन्छ, त्यसबीच कत्ति कुरा ढाँटेर छलेर युवालाई विदेश पठाउँछ अनेक प्रलोभन देखाएरै हामी नेपाली न हो मख्ख हुँदै विदेशिन्छौं । जब हामी अरु देश युरोप, खाडी या अन्य मुलुकमा पुग्छौं, तब कत्ति बेवारिसे बन्ने गर्दछन्, रुवाबासी चल्ने गर्छ । धेरै सपना बुनेर गएकाको सपना सपना नै बन्ने गर्छ ।
यो सबै कुरा बुझ्ने निकाय सबै आफ्नै स्वार्थमा लुटपुटिन्छन् गुलियोमा झिँगाझैं । बस् तलब र भत्तामा आकर्षित छन् बोलिदिने कोही छैन, सुनिदिनेले कानमा कानेगुजी पालेर बस्ने गर्दछन् । रोक सरकार रोक, देशका युवा र युवतीलाई रोक, काम देऊ, रोजगारको व्यवस्था गर र सेवा र सुविधा यहीँ देऊ, देशले मुहार फेर्नै पर्छ, देश विकास हुनैपर्छ ।
एकादेशको कथाझैं बन्दै छ नेपाल बिरामी बाबुलाई हस्पिटलसम्म पुर्याउने छोरा युरोप, खाडी र अन्य देशमा पसिना बगाउँदै छ । कहिलेसम्म बगाउने त ? छोराको कमाई सारा सरकारकै हातमा सकिन्छ किनकि देश रेमिट्यान्सले धानेको छ । हाम्रा युवा युवतीमा पनि धेरै कमी–कमजोरीहरु छन् । युवाहरू हाम्रै देशमा काम गर्न लाज मान्दछन् र तै काम विदेशी मुलुकमा हाँसेर गर्दछन् । हो यहाँको कमाईले अवश्य पुग्दैन यो हामी सबैलाई थाहा छ तर बाध्यता हाम्रो अन्तिम निर्णय युरोप, खाडी र अन्य मुलुक हुने गरेको छ । यो कुरा जान्दा जान्दै पनि कुनै पनि सरकारले युवाहरू आफ्नै देशमा धान्न सकेको छैन ।
वैदेशिक रोजगारीका नाममा देशमा बढिरहेको ठगी रोक्न अब पनि कदम नचाले कहिले चाल्ने सरकार, आफ्नो मातृभूमिमा पसिना नबगाएर, विदेशिन नेपालीले पासपोर्ट बोकेर कतिन्जेलसम्म दलालको अघिपछि घुम्ने सरकार ? कहिलेसम्म नेपाली अरुकै भूमिमा पसिना बगाउने सरकार ? विदेशी भूिममा पिल्सिएका युवाहरुको रेमिट्यान्स पसिना र खुन चुसेर पेट लागेकाले त सोच्नुपर्ने हैन र सरकार ? किन यसरी आफ्नै देशका युवा युवतीलाई अरुको देशमा दुख गर्न बाध्य तुल्याइन्छ । जता पनि लुट, जता पनि ठगले घेरा हालेको हाम्रो देशमा कहिले रोकिन्छ सरकार अब त अघि बढ्ने काम गर्नुपर्ने हैन र ? हरेक दिन पासपोर्ट बनाउन आउने भिडलाई किन कम गर्दै जाने नीति आउँदैन ? कतिन्जेलसम्म हात्ती मोट्टाएझै मोटाइरहने र रेमिट्यान्सबाट । जवानी जति परदेशका भूमिमा पसिना बगाउने काम गर्न नसक्ने जनशक्ति मात्रैले कहिले देशले मुहार फेर्ने हो र ?
बकैया–७, हाल मलेसिया ।