मुख्यमन्त्री जम्कट्टेल ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदबाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

आज (आइतबार) काठमाडौंमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले विश्वासको मत फेस गरेर अघि बढ्ने सुझाव दिएपछि मुख्यमन्त्री जम्कट्टेल सोही अनुसार तयार हुनुभएको हो । संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालका अनुसार संसदीय दलको बैठकमा सबैले विश्वासको मत फेस गर्न सुझाव दिएको र केन्द्रबाट पनि सोही अनुसार निर्देशन प्राप्त भएकाले मुख्यमन्त्री जम्कट्टेल तयार हुनु भएको हो ।

विश्वासको मत लिने मिति भने एमालेका मन्त्रीहरुको राजिनामा पछि तय गरिने उहाँको भनाई छ । बैठकमा एमालेका मन्त्रीहरुको राजिनामा पछि संसद बैठकका रणनीति र भूमिकाका बारेमा छलफल भएको उहाँले बताउनुभयो । विश्वासको मत नलिने मुडमा रहनुभएका मुख्यमन्त्री जम्कट्टेल बैठकपछि भने तयार हुनुभएको र एमालेका मन्त्रीहरुको राजिनामा बुझ्न आजै काठमाडौंबाट हेटौँडा हिँड्नु भएको ढकालले जानकारी दिनुभयो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको मुख्य सचेतक ढकालले बताउनुभयो ।

यता एमालेका मन्त्रीहरुले आजै पदबाट राजिनामा दिने तयारी गरेका छन् । एमालेबाट संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले पदबाट राजिनामा दिने तयारी गरेका छन् । राजिनामा पछि एमालेले नयाँ गठबन्धन अनुसार कांग्रेससँगको गठबन्धनमा सरकार गठनको तयारी गर्ने जनाइएको छ ।