रितिका छत्कुली ।

हेटौँडाः एसईईमा ४ जीपीए हासिल गर्ने मकवानपुर जिल्लाकै एक मात्र विद्यार्थी रितिका छत्कुलीले कक्षा ११ हेटौँडामै पढ्ने हुनुभएको छ । कक्षा–११ मा विज्ञान विषय लिई हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसमा भर्ना हुने रितिकाले बताउनुभयो ।

कक्षा ११ र १२ मा विज्ञान विषय लिएर विश्वविद्यालय तहमा चिकित्सा विज्ञान अध्ययन गर्ने योजना रितिकाको छ । कक्षा–११ र १२ का लागि हेटौँडामै राम्रो पढाई हुने भएकोले हेटौँडामै पढ्ने निर्णय गरेको उहाँको भनाइ छ । चिकित्सा विज्ञान अध्ययनका लागि पूर्वतयारी कक्षा पनि सँगसँगै म्यानेजमेन्टले प्रदान गर्ने जानकारीका कारण पनि हेटौँडामै पढ्ने निर्णय लिएको रितिकाले बताउनुभयो ।

हेटौँडा स्कूल अफ म्यानेजमेन्टले राम्रो अंक हासिल गरेकै कारण पूर्ण छात्रवृत्तिमा पढाउने जनाएको छ । हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलबाट एसईईमा सहभागी भई ४ जीपीए हासिल गर्नुभएकी रितिकाले एसईईसम्म जेहेन्दार विद्यार्थीको रुपमा छात्रवृत्तिमै अध्ययन गर्दै आउनुभएको थियो ।

म्यानेजमेन्टका सहायक प्रिन्सीपल रामपण्डित खनालले एसईईमा ३.९ जीपीए भन्दा बढी अंक हासिल गरेका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने महाविद्यालयको नीति नै रहेको जानकारी गराउनुभयो । यसअघि पनि जिल्ला प्रथम हुने विद्यार्थी, राम्रो नतीजा हासिल गर्ने विद्यार्थीहरुको रोजाईमा हेटौँडा स्कूल अफ म्यानेजमेन्ट पर्दै आएको उल्लेख गर्नुहुँदै राम्रा विद्यार्थीलाई उच्च शिक्षामा राम्रो शिक्षा दिने र विश्वविद्यालय तहमा राम्रो अध्ययन गर्ने क्षमता विकास गर्ने गरी म्यानेजमेन्टले पठनपाठन गर्दै आएको उहाँको भनाइ छ । विद्यार्थी र अभिभावकले हेटौँडा स्कूल अफ म्यानेजमेन्टप्रति गरेको विश्वास नै महत्वपूर्ण सम्पत्ति भएको खनालले दावी गर्नुभयो ।