हेटौँडाः सिन्धुली जिल्लाको दुधौली नगरपालिका–६, डाँडाटोलमा पोखरीमा डुबेर २ जना बालकहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ बर्षीय अनिश कुमार र ६ वर्षीय संजल कुमार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार घरमा कोही कसैलाई नसोधी घर भन्दा १ किलोमिटर पर रहेको चुरे उत्थान संस्थाले सिचाई गर्न खनेको पोखरीमा बालकहरु डुबेको अवस्थामा फेला परेका थिए । पोखरीबाट उद्दार गरी उपचारका लागि नगर हस्पिटल सिर्थौली लगिएकोमा दुवै बालकलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै चितवन जिल्लाको रत्ननगर नगरपालिका–१४, पिठुवामा छतबाट खसेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षीय बल बहादुर गुरुङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मंगलबार बिहान ११ बजेर ५० मिनेटको समयमा चाउचाउ उद्योगमा कार्यरत गुरुङ काम गर्ने क्रममा २ तला माथिबाट खसेर शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाईते भएका थिए । घाइते गुरुङलाई उपचारका लागि स्थानीय बकुलहर अस्पताल टाँडी लगिएकोमा उपचारको क्रममा दिउँसो १२ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।