उप–निर्वाचन २०८१ अन्तर्गत इलाममा प्रतिनिधिसभा र बझाङ्गमा प्रदेश सभाको उपनिर्वाचनको परिणाम आएको छ । दुवै स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन् । बझाङ्गमा एमाले र कांग्रेस बीच कडा प्रतिस्पर्धा देखिन्छ र एमालेले आफ्नो पुरानो साख फर्काएको छ । माओवादी केन्द्र र नेकपा (एस) तेस्रो र चौथो शक्तिका रुपमा देखिएका छन् । सबैभन्दा बढी चर्चामा रहेको इलामको निर्वाचन परिणाम एमालेको पकड रहेको र संबिधान सभा अध्यक्ष सुवास नेम्बाङ्गको निधनपछि खाली भएको स्थानमा उहाँकै छोराको जित, आफ्नै बुबाको प्रतिद्वन्द्वीलाई हराएर हुनु, एमालेका लागि सुखद रहेको छ ।
इलामको निर्वाचन बढी चर्चामा रहेको कारण यस निर्वाचनलाई दुवै ठूला पार्टीहरु कांग्रेस र एमालेले प्रतिष्ठाको विषय बनाउनु र रास्वपाले आफ्नो संगठन विस्तार तथा लोकप्रियताको लहरको कसिको रुपमा लिनु थियो । एमालेका अध्यक्ष केपी ओली, कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा र रास्वपाका शिर्ष नेताहरुको चुनावी दौडाहाबाट इलामको उप–चुनावको महत्व देख्न सकिन्छ । यसको साथै कोशी प्रदेश नामांकनबाट असन्तुष्ट पहिचान पक्षधरहरुले विगत एक बर्षदेखि चलाएको आन्दोलन र त्यसको राप उप–निर्वाचनमा पर्ने संकेतले पनि ठुला र नवोदित दलका नेताहरुलाई झस्काएको हुनु पर्छ ।
प्रतिनिधिसभा उप–निर्वाचन, विशेषगरी इलामको निर्वाचनले केहि संकेत गरेको छ ।
१. कांग्रेस र एमाले अझै पनि स्थापित शक्ति हुन् ।
२. आक्रामक प्रचारमा उत्रेको रास्वपा स्वतन्त्र पहिचान पक्षधर भन्दा पछाडि चौथो स्थानमा (पाँच हजार भन्दा बढी मत– जमानत जोगाउन असफल ) रहनु उसका लागि सुखद होइन । रास्वपाका लागि इलाम उपनिर्वाचन एउटा झट्का नै हो । काठमाडौँका युवा, शिक्षित, परिवर्तन चाहने र चितवनका मतदाताले मौका दिएको आधारमा इलाममा पनि त्यस्तै परिणामको आशा राख्नु रास्वपाको लागि सुखद रहेन । सहकारी बचत अपचलन सम्बन्धमा रास्वपाका सभापति लगायत पदाधिकारीहरु संलग्न रहेको समाचारले पनि निर्वाचन परिणाम प्रभावित भएको हुन् सक्छ ।
३. पहिचान पक्षधर उम्मेदवारको निर्वाचनमा तेश्रो स्थान (एघार हजार भन्दा बढी मत) प्राप्ति आगामी दिन पहिचान पक्षधरका लागि शुभ संकेत र ठूला पार्टीहरुका लागि चुनौती पनि हो । पहिचान पक्षधरले आफ्नो संगठन विस्तार र प्रचारमा ध्यान केन्द्रित गर्ने हो भने आगामी संसदीय निर्वाचनमा स्थापित शक्तिको रुपमा उदाउने सम्भावना देखिन्छ ।
४. कांग्रेसलाई दुवै ठाउँबाट हारको झट्का लागेको छ । यसबाट चुनाव अघि गठबन्धन गर्नु हुन्न भन्ने कांग्रेसका दुवै महामन्त्रीको अडान कमजोर पर्न सक्छ र देउवा पक्षधर उत्साहित हुन सक्छन ।
५. राजावादी एजेन्डा बोकेर आन्दोलनमा उत्रेको राप्रपाले दुवै ठाउँमा पाएको अत्यन्तै कम मत परिणामले राजावादी र यसका पछि लाग्नेहरुले आफ्नो हैसियत बुझ्न सक्नु पर्छ ।