हेटौँडाः विभिन्न घटनामा एकै दिन ५ जनाको मृत्यु भएको छ । शनिबार प्रदेशको चितवन, रसुवा, दोलखा र रामेछापमा एकै दिन ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१२, आस्थाचोकमा स्कुटर दुर्घटना हुँदा स्कुटरको पछाडि सवार १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११, जागृतिचोकका २९ वर्षीय प्रीति कुमाल रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना २८ प ७०१२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा राप्ती नगरपालिका–८, खुरखुरेका २१ वर्षीय प्रवीण सुनार, स्कुटर चालक भरतपुर महानगरपालिका–१, लीलाचोकका ३२ वर्षीय डेनिस श्रेष्ठ र स्कुटरको पछाडि सवार कुमाल घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा घाइते कुमाललाई डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–१, पेलदानखर्क भीरमा एकजना पुरुष मृत फेला परेका छन् । शनिबार दिउँसो १ बजेर १५ मिनेटको समयमा हाल नामथर नखुलेको तराईमुलको जस्तो देखिने अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धुन्चेको शवगृहमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–१, कुरीमा कालिका भगवती मन्दिरमा दर्शन गर्न आएका एक दर्शनार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–२, तिखातालका ६५ वर्षीय गोलान्दर विक रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो २ बजेको समयमा विक मन्दिर दर्शन गर्ने क्रममा अचानक बेहोस भई ढली मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५, गुरूम्फी खोलाको ढुङ्गाको च्यापमा एक जना पुरुष मृत फेला परेको छन् । मृत फेला पर्नेमा दोलखा जिरी नगरपालिका–९, ठुलोपातल घर भई गौरीशंकर गाउँपालिका–५, सुम्ना बस्दै आएका ६५ वर्षीय रत्न बहादुर सुनुवार रहेको प्रहरीले जानकारी दिएको छ । सुनुवार शनिबार बिहानैदेखि घरबाट निस्किएका थिए । सोही दिन स्थानीयले माछा मार्दै जाने क्रममा गुरूम्फी खोलाको ढुङ्गाको च्यापमा मृत फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रामेछाप जिल्लाको मन्थली नगरपालिका–५, सुनारपानीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३९ वर्षीय सन्दिप रोक्का रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार राती १० बजेर ५५ मिनेटको समयमा रोक्का घरदेखि ५ सय मिटर पर बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।