आज मे १, अन्तर्राष्ट्रिय श्रमिक (मजदुर) दिवस । आज संसारभर ‘विश्वका मजदुर एक हौं’ भन्दै श्रमिक दिवस मनाइँदैछ । आजभन्दा एकसय ३५ वर्ष अघिदेखि विश्वभर मे दिवस वा श्रमिक मजदुर दिवस मनाउन थालिएको हो । नेपालमा पनि मे दिवस राष्ट्रिय दिवसको रुपमा मनाउन थालेको बर्षौं भइसकेको छ । विश्वभर मनाइने र प्रायः सबैतिर सार्वजनिक विदासमेत दिइने दिवसको रुपमा श्रमिक दिवसलाई लिने गरिन्छ । श्रमिक अर्थात् मजदुर शब्दले श्रम गर्ने सबै वर्गलाई समेट्छ । तर, व्यवहारमा श्रमिक भन्नाले ज्याला वा तलब लिएर अर्काको काम गरिदिने व्यक्तिलाई बुझ्ने गरिन्छ । विश्वभर नै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु उत्तिकै छन् । औपचारिक श्रमिक भन्नाले नियम–कानुनअनुरुप दर्ता भएर विधि एवम् पद्दतिबाट काममा संलग्न भएका कामदारलाई बुझाउँछ भने अनौपचारिक श्रमिक भन्नाले कानुनी मान्यता नपाएका तथा विधि एवम् पद्दतिसम्मत नियुक्त नभएका कामदारलाई बुझाउँछ ।

विश्वमा औद्योगिक क्रान्तिसँगै उद्योग, कलकारखानाको विकास तिब्र बन्यो । धनी र सम्पन्न देशहरुमा उद्योग खुल्ने क्रम बढ्दै जाँदा मजदुर र मालिकबीच असमानता पनि बढ्दै गयो । मालिक धनी बन्दै जाने र मजदुरको पेट भोकै रहन थालेपछि सन् १८८६ मा अमेरिकाको औद्योगिक शहर सिकागोबाट मजदुर आन्दोलन सुरु भयो । कामको निश्चित समय र उचित पारिश्रमिकको माग गर्दै आन्दोलित मजदुरसँग अन्ततः मालिक झुक्न बाध्य बने । मालिक धनी बन्ने साधन भनेकै मजदुरको लगनशीलता हो भन्ने कुरालाई मध्येनजर गर्दै मे १ तारिखका दिन मजदुरको मागको सम्बोधन भयो । यसैको खुशीयालीमा सन् १८९० देखि मे १ तारिखमा विश्वभर श्रमिक मजदुर दिवस मनाउन थालियो । राणा शासन कालको उत्तराद्र्धमा नेपालमा पनि कलकारखाना खुल्न थालेसँगै वि.सं २००४ सालमा विराटनगर जुट मिलका मजदुरहरुले आफ्ना अधिकारको लागि संगठित भएर आन्दोलन गर्दै श्रमिक एकता प्रदर्शन गरेका थिए ।

औपचारिक श्रम क्षेत्रमा संलग्न श्रमिकले धेरै हदसम्म रोजगारको सुनिश्चितता, ज्याला बाहेक पनि अन्य सुविधा र सामाजिक सुरक्षाको प्रत्याभूति पाउने गरेका हुन्छन् । तर, अनौपचारिक क्षेत्रका श्रमिक असंगठित रुपमा छरिएर रहनुका साथै राज्यको कुनै नियम, कानुन, विधि तथा पद्दतिबाट अलग रहेका हुनछन् । औपचारिक क्षेत्रका श्रमिकहरुका लागि राज्यको श्रम ऐन, अन्तर्राष्ट्रिय श्रमसम्बन्धी सन्धि, सम्झौताका प्रावधान लागू हुन्छ । यस्ता श्रमिकको पक्षमा आवाज उठाइदिने विभिन्न श्रम÷श्रमिक संगठनसमेत हुन्छन् । तर, अनौपचारिक क्षेत्रमा रहेका श्रमिकका लागि राज्यबाट कानुनी संरक्षण नपाउने मात्र नभई अन्तर्राष्ट्रिय सन्धि सम्झौताले पनि उनीहरुलाई छोएको हुँदैन । यस्ता श्रमिकको पक्षमा आवाज उठाइदिने कुनै संघसंगठन पनि पाइँदैन । यसले गर्दा अनौपचारिक क्षेत्रका श्रमिक सधैं ओझेलमा परिहेका हुन्छन् । संख्यात्मक हिसाबले औपचारिक भन्दा अनौपचारिक क्षेत्रका श्रमिक बढी भए पनि उनीहरु सधैं अपेक्षित बन्दै आएका छन् ।

मालिक र मजदुर भनेका एक सिक्काका दुई पाटा हुन् । एउटा बिना अर्को चल्न सक्दैन । श्रमिक र लगानीकर्ताबीच सुमधुर सम्बन्ध बिना औद्योगिक विकास पनि सम्भव हुँदैन । श्रमिकको हक अधिकारको पक्षमा लगानीकर्ताले चासो देखाउने हो भने उनीहरुको सम्बन्ध पनि राम्रो बन्छ । तर, श्रमिकले आफ्नो अधिकारका लागि विद्रोह गर्नुपर्ने अवस्था आएमा त्यसले लगानीकर्तामात्र होइन, औद्योगिक विकाससमेत संकटमा पर्दछ । असंगठित क्षेत्रका श्रमिकमात्र होइन, संगठित क्षेत्रका श्रमिकका पक्षमा बोलिदिने र उनीहरुको अधिकारका लागि आवाज उठाउने मजदुरका संघसंस्थासमेत राजनीतिक आस्थाका आधारमा विभाजित बनिरहँदा उनीहरुले पर्याप्त अधिकार पाउन सकेका छैनन् । राजनीतिक दलहरुको भातृ संगठनको रुपमा विभाजित भएर विश्वका श्रमिक एक हौं भन्दै नारा लगाउनुको औचित्य हुँदैन । सबै श्रमिक एउटै छातामुनि बसेर आफ्नो हक अधिकार र औद्योगिक विकासको पक्षमा नहुँदासम्म श्रमिक दिवस मनाउनुको औचित्य हुँदैन । यस वर्षको श्रमिक दिवसले कम्तिमा श्रमिकको हक अधिकारका लागि सबै श्रमिक एकताबद्ध हुने चेत खुलोस्, सबैमा श्रमिक दिवसको शुभकामना ।