हेटौँडाः हेटौँडाका रेडियोलोजिस्टहरुले युएसजी अर्थात् भिडियो एक्सरे सेवाको शूल्क बढाएका छन् । बैशाख १ गतेदेखि लागु हुने गरी रेडियोलोजिस्टहरुको समूहले एकतर्फी रुपमा शूल्क बढाएका हुन् । रेडियोलोजिस्टहरुको शूल्कवृद्धिले मातृशिशु स्वास्थ्य सेवामा नकारात्मक प्रभाव पर्ने देखिएको छ । शूल्कवृद्धिले सेवाग्राही गर्भपरीक्षणमा निरुत्साहित हुने जोखिम छ ।

यसअघि सामान्य भिडियो एक्सरेको १ हजार ५० रुपैयाँ शूल्क लिँदै आएका निजी क्षेत्रका रेडियोलोजिस्टले बैशाख १ गतेदेखि २ सय रुपैयाँ वृद्धि गर्दै १ हजार २ सय ५० रुपैयाँ दर कायम गरेको छ । रेडियोलोजिस्ट डा. सुवास बनैताका अनुसार नेपाल रेडियोलोजिस्ट एसोसिएसनले निर्धारण गरेको दरअनुसार हेटौँडाका रेडियोलोजिस्टले शूल्क वृद्धि गरेको जानकारी दिनुभयो । हेटौँडा अस्पतालमा भिडियो एक्सरेको सेवा शूल्क ६ सय रुपैयाँ मात्रै छ । सरकारी स्वास्थ्य संस्थाको मूल्यको तुलना दुई गुणाभन्दा बढी हुने गरी मूल्य कायम गरेसँगै सेवाग्राही प्रत्यक्ष प्रभावित हुने भएको छ ।

मुख्यगरी गर्भवती महिलाले गर्भधारण भएदेखि सुत्केरी हुने अवधिसम्ममा कम्तिमा ८ पटक भिडियो एक्सरे सेवा लिनुपर्ने स्वास्थ्यको मापदण्ड छ । गर्भवतीको स्वास्थ्य अवस्थाका आधारमा ८ पटक भन्दा बढी पटक पनि भिडियो एक्सरे सेवा लिनुपर्ने अवस्था रहन्छ । हेटौँडा अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत विष्णु श्रेष्ठले भन्नुभयो, “गर्भधारण भए, नभएको भनी परीक्षण गरेपछि यदि गर्भधारण भएको रहेछ भने सुत्केरी हुनुअघि नै ८ पटक भिडियो एक्सरे सेवा लिनुपर्ने हुन्छ । गर्भवतीको अवस्था र चिकित्सकीय परीक्षणको क्रममा थप परीक्षणको जरुरी हुन्छ ।” सेवा शूल्कमा वृद्धि भएसँगै सेवाग्राहीले सेवा नै नलिने जोखिम पनि रहने देखिएको छ ।

स्वास्थ्यको मापदण्डअनुसार नियमित र पूर्णरुपमा भिडियो एक्सरे सेवा लिने गर्भवतीको संख्या यकिन नभए पनि नियमित र पूर्णरुपमा भिडियो एक्सरे सेवा लिनेको मात्रा न्यून रहेको उल्लेख गर्नुहुँदै वरिष्ठ नर्सिङ अधिकृत श्रेष्ठले भन्नुभयो, “सेवाशूल्कमा हुने वृद्धिले सेवाग्राहीलाई सेवा लिन निरुत्साहित गर्ने जोखिम रहन्छ ।” बिना आधार, कारण नै एकलौटीरुपमा सेवाशूल्क वृद्धि गरी हेटौँडाका रेडियोलोजिस्टहरुले कार्यान्वयन समेत गरिसकेका छन् । जारी आर्थिक मन्दीको समयमा स्वास्थ्य जस्तो संवेदनशील सेवामा एकलौटी मूल्यवृद्धिले निम्त्याउने जोखिमप्रति रेडियालोजिस्टहरुले ध्यान दिन सकेको छैन ।

रेडियोलोजीका विभिन्न ९ वटा विधाको सेवाशूल्क वृद्धि गर्ने क्रममा केही सेवाको शूल्क दुई गुणासम्मले वृद्धि गरिएको छ । पेटका विभिन्न भाग तथा विशेषगरी फोक्सोको पानी निकालेर परीक्षण गरिने प्रोसिड्युअर एफएनएसीको शूल्कमा दुई गुणा वृद्धि गरिएको छ । यसअघि १ हजार २ सय ५० रुपैयाँमा प्रोसिड्युअर एफएनएसी गर्दै आएको रेडियोलोजिस्टले बैशाख १ गतेदेखि २ हजार ५ सय रुपैयाँ दर निर्धारण गरेको छ । गर्भमा रहेको भ्रुणको पूर्ण शरीर परीक्षण गरिने एनोमेली स्क्यानको शूल्क २ हजार २ सय ५० रुपैयाँबाट वृद्धि गरी ३ हजार ५ सय रुपैयाँ पु¥याइएको छ । शरीरका विभिन्न भागको परीक्षण गर्ने सेवाशूल्क १ हजार २ सय ६० रुपैयाँबाट १ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ । यस्तै नसासम्बन्धी डोप्लरको शूल्क २ हजार ५ सय रुपैयाँबाट ३ हजार रुपैयाँ बनाइएको छ ।

एनटी स्क्यानको शूल्क १ हजार २ सय ७० रुपैयाँबाट २ हजार रुपैयाँ बनाइएको छ । गर्भमा रहेको भ्रुणको टाउको, नाकको हड्डी, मस्तिष्कको अवस्थाका बारेमा बुझन् एनटी स्क्यान गरिन्छ । हेटौँडा अस्पतालमा भने भिडियो एक्सरेको शूल्क ६ रुपैयाँदेखि १२ सय रुपैयाँसम्म मात्रै रहेको छ ।

सेवा प्रवाहमा भने गैरजिम्मेवार

अहिलेको मन्दिको समयमा रेडियोलोजिस्टहरुले शूल्क बढाएर जति गैरजिम्मेवार बनेका छन् अझ पनि सेवा प्रवाहमा उत्तिकै गैरजिम्मेवार बनेका छन् । हेटौँडा बजारका अधिकांश निजी स्वास्थ्य संस्थामा बिहान ८ नबजी भिडियो एक्सरे सेवा सुरुवात हुँदैन भने साँझ ७ बजेपछि पनि सेवा पाउन कठिन छ । महिला तथा प्रसुती स्वास्थ्य विशेषज्ञ समेत रेडियोलोजिस्टको साथ नपाउँदा गर्भवतीलाई आकस्मिक उपचार सेवामा जोखिम हुने गरेको गुनासो गर्नुहुन्छ । “गर्भवती महिलाको उपचारको क्रममा, आकस्मिक अवस्थामा बाल स्वास्थ्य, एनेस्थेसिया, सर्जन सबैको सेवा पाइन्छ तर, रेडियोलोजी सेवा पाउन मुस्किल छ ।

साँझ ७ बजेपछि हेटौँडा बजारका कुनै पनि निजी वा सरकारी अस्पतालमा रेडियोलोजिस्टको सेवा पाउन मुस्किल छ । राजनीतिक, प्रशासनिक पहुँच भएकाहरुले भने सेवा पाउने गरेको ती चिकित्सकको भनाइ छ । एकजना सामान्य नागरिकले भने सेवा पाउने अपेक्षा गर्न सकिन्न ।