साधारणसभामा नेवाः गुठी खलः को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष अनिल खड्गे ।

हेटौँडाः नेवाः गुठी खलः को तेस्रो वार्षिक साधारणसभा शनिबार हेटौँडामा सम्पन्न भएको छ । नेवाः गुठी खलः का अध्यक्ष अनिल खड्गेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, सिचाई तथा उर्जा मन्त्री एका लाल श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रममा हेटौँडा–२ का वडा अध्यक्ष तथा नेवा देय दवु बागमती प्रदेश समितिका अध्यक्ष विष्णुगोपाल महर्जनको पनि आतिथ्य रहेको थियो ।

साधारणसभाको अवसरमा “नेवाः एक चिनारी” पनि विमोचन गरिएको थियो । साधारणसभाको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ९१ वर्षीया सोममाया बलामी, ९१ वर्षीया तीर्थमाया मानन्धर र ९१ वर्षीय रुद्रहरी जोशीलाई सम्मान गरिएको थियो । यस वर्षको नेवारी समुदायबाट विभिन्न नेतृत्व प्रदान गर्ने व्यक्ति ७ जनालाई कदरपत्र प्रदान गरिएको छ । नेवारी समुदायको भाषा, संस्कृतिको संरक्षण र विस्तार गर्ने उद्देश्यले गुठीको स्थापना गरिएको हो । कार्यक्रममा मकवानपुरका विभिन्न स्थानमा रहेका नेवा गुठी तथा खलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।