सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको तीन जिल्लामा विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर, धादिङ र रामेछापका एक–एक जना रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

शनिबार दिउँसो ३ बजेको समयमा धादिङको धुनीवेशी नगरपालिका–२, गैराबारीमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका–१, खानीगाउँका ४४ वर्षीय राजकुमार तामाङ रहेका छन् । गौरीबारीमा दिदीको घरमा बस्दै आएका तामाङ खानेपानीको पाइप पुरेर फर्किने क्रममा भीरबाट ५० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ७ बजेर १० मिनेटको समयमा शव मुचुल्कापश्चात पोेष्टमार्टमका लागि काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यस्तै धादिङको थाक्रे गाउँपालिका–३ स्थित चौफाँटमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६७ वर्षीय हरी बहादुर तामाङ रहेका छन् । शुक्रबार दिउँसो ३ बजेको समयमा घरदेखि ५ सय मिटर पर रहेको आफ्नै बारीमा पात पतिङ्गर जलाउने क्रममा अचानक तामाङको शरीरमा आगो सल्किदा घाँटी र बायाँ खुट्टा आगोले डढेको थियो । तामाङ मृत फेला परेको भनी शनिबार साँझ ७ बजे प्रहरीमा खबर प्राप्त भएपछि आइतबार बिहान जिल्ला प्रहरी कार्यालयबाट मुचुल्कासहित टोली खटिएको जनाएको छ ।

यस्तै शनिबार रामेछापमा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका–१ स्थित हाटेचौरकी ३५ वर्षीय सरस्वती माझी रहेकी छन् । शनिबार राति १० बजेर १५ मिनेटको समयमा मन्थली बजारबाट तीनलाल पार्कतर्फ जाँदै गरेको बा ७२ प ९१७२ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना स्कुटर चालक माझी गम्भीर घाइते भएकी थिइन् । घाइते माझीलाई उपचारका लागि मन्थली अस्पताल लगिएकोमा उपचारको क्रममा राती ११ बजेर २३ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।