डा. गणेश लामा

मान्छेको जीवन नै एउटा यात्रा हो । जीवनका कति यात्राहरू योजनाबद्ध हुन्छन् भने कति यात्रा बिनायोजना र अकस्मात् पनि हुन्छन् । यात्रामा रोमाञ्च पनि हुन्छ र त्रास पनि हुन्छ कहिलेकहीँ । र पनि मानिस यात्रा गर्न छोड्दैनन् । चाहे रहरले होस् वा करले । यस्तै एउटा यात्राको यात्री र साक्षी दुवै बन्न पुगेँ म । समय थियो २०७९ साल जेठ १८ गते ।

देश भर्खरै कोरोना महामारीको सन्त्रासबाट उत्रिँदै थियो । जीवन बिस्तारै आफ्नो लयमा फर्कँदै थियो । महामारीका घाउहरू क्रमशः बिर्सने प्रयासमा थिए मानिसहरू । यस्तैमा म ७५ वर्षको मान्छे परिवारका अन्य कोही सदस्यबिना एक्लै चारधामको यात्राका लागि निस्केको थिएँ ।

म भगवान् भोलेनाथको परम भक्त मान्छु आफूलाई । त्यसो त शान्तिका अग्रदूत भगवान् बुद्धप्रति पनि मेरो उत्तिकै आस्था छ । त्यसैले म कहिलेकहीँ दामन पालुङस्थित ऋषेश्वर महादेवको दर्शन गर्न पुग्छु त कहिले श्री पशुपतिनाथ र स्वयम्भूको ।

तर यो यात्रा भिन्न थियो । निकै लामो थियो । र थियो जोखिमपूर्ण पनि । धन्यवाद छ हेटौँडाका गोपाल थापालाई जसले यो यात्राको सम्पूर्ण प्रबन्धन गरेका थिए । लगभग १५ दिनको बस यात्रा र खानाका लागि प्रतिव्यक्ति रु. २५,०००।– त्यति महँगो हैन ।

२०७९ साल जेठ १८ गते बिहान ७ः३० मा हेटौँडाको बसपार्कबाट ७ जना यात्री र ५ जना बस स्टाफ बोकेर हिँडेको बा ३ प ७९२५ नम्बरको हाम्रो बस नवलपुर जिल्लाको बर्दघाटबाट थप १८ जना यात्री चढेपछि भरिपूर्ण भयो र सुरु भयो हाम्रो भारत उत्तराखण्डको चारधाम यात्रा ।

पहिलो रात दाङको भालुबाङ र दोस्रो रात कञ्चनपुरको महेन्द्रनगरमा बसेपछि तेस्रो रात हामी पुग्यौँ उत्तराखण्डको पवित्र र प्रसिद्ध धार्मिक स्थल हरिद्वार । पवित्र गङ्गा नदीको किनारमा अवस्थित हरिद्वार तथा ऋषिकेश दुवै धार्मिक महत्वका तीर्थस्थल हुन् र चारधामका प्रवेशद्वार पनि ।

हरिद्वारमा बास बसेपछि भोलिपल्ट हाम्रो बस गङ्गोत्रीतर्फ लाग्यो । हरिद्वारबाट २९० किमीको दुरीमा रहेको गङ्गोत्री पुग्नका लागि बीचमा एक रात बास बस्नुपर्ने रहेछ । पहाडी बाटो निकै डरलाग्दो देखिन्थ्यो । कहिले नदीकिनार कहिले उकालोओरालो गर्दै हामी जेठ २२ गते गङ्गोत्री पुग्यौँ ।

उक्त रात त्यहीँ बास बसेपछि २३ गते बिहान हामी यमनोत्रीका लागि प्रस्थान ग¥यौँ । यमनोत्रीबाट हाम्रो यात्रा अब केदारनाथ तिर सोझियो । २४, २५ र २६ गते विभिन्न स्थानहरूमा बास बस्दै २७ गते बिहान हामी केदारनाथ पुग्यौँ । केदारनाथ पुग्यौँ के भन्नु ? त्यहाँ पुग्न त अब १७–१८ किमी पैदल हिँड्नु थियो हामीले ।

पहाडी बाटो । तल नदी बगिरहेको । ठाउँ ठाउँमा जलविद्युत् परियोजनाहरू । गाडीहरूको चाप छिचोल्दै त्यहाँ पुगेका हामीले अब १७–१८ किमी पैदल उकालो चढेर केदारनाथ मन्दिर पुग्नु थियो । त्यसो त त्यहाँ पाल्की, घोडा, हेलिकप्टर जस्ता वैकल्पिक साधन पनि थिए अशक्तहरूका लागि । तर, मलाई लाग्यो– हिँड्नुपर्छ ।

बाटोमा कति मानिसहरू बिरामी भएका, कति हिँड्न नसकेर जाऊँ कि फर्कौँ भनेर दोधारमा परेका, कति डराई डराई घोडामा चढेका त कति टेन्ट हालेर बसिरहेका । एक खालको छुट्टै रमाइलो थियो त्यहाँ । र पीडा पनि थियो कि । तर त्यो पीडा नै भए पनि मानिसले आफ्नै खुसीले रोजेका थिए ।

दिनभरिको हिँडाइले जति नै लखतरान भए पनि म २७ गते बेलुका केदारनाथ मन्दिरमा पुगेरै छोडेँ । जताततै हिउँ परेको थियो । मान्छेको भिड थामिनसक्नु थियो । होटल कहाँ पाउनु । मैले बल्लतल्ल एउटा पालभित्र छिर्ने अवसर पाएँ । म मनमनै भगवान्सँग प्रार्थना गर्दै थिएँ रुघा नलागोस् तर मलाई रुघाले समात्यो । यस बेला मलाई होटल बस्न पाएको भए हुन्थ्यो जस्तो लागिरह्यो । जीवनको एउटा सपना पूरा भएको अनुभव भयो । २८ बिहान भोलेनाथको दर्शन गरेर फेरि हामी बस भएको ठाउँमा आयौँ । अबको हाम्रो गन्तव्य थियो– बद्रीनाथ ।
केदारनाथको कुरा गर्दा एउटा प्रसङ्ग सम्झना आउँछ– सन् २०१३ मा आएको भीषण बाढीका कारण केदारनाथ मन्दिर आसपासको क्षेत्रमा व्यापक क्षति पुग्यो । भयङ्कर बाढीको प्रकोपमा सायद यो मन्दिर पनि पर्न सक्थ्यो तर त्यसैबीच एउटा भयङ्कर ठुलो ढुङ्गा आएर मन्दिरपछाडि स्थिर भयो । त्यस विशालकाय शिलाले पानीको धारलाई दुई भागमा विभाजित गरिदियो जसका कारण केदारनाथ मन्दिर सुरक्षित रह्यो । भनिन्छ– त्यस विकराल समयमा मन्दिरभित्र ४०० देखि ५०० मानिसहरू बसेका थिए ।

मलाई बद्रीनाथको मन्दिरतर्फ जाने बाटो हेर्दा बारम्बार सिमभञ्ज्याङको झल्को आइरह्यो । त्यहाँको भौगोलिक बनावट सिमभञ्ज्याङसँग निकै हदसम्म मिलेको जस्तो मलाई लाग्यो । बद्रीनाथको दर्शन गरेर फेरि ऋषिकेश, हरिद्वार, रानीखेत, नैनीतालहुँदै हामी महेन्द्रनगर आइपुग्यौँ । र, असारको ३ गते हामी सकुशल गृहनगरी हेटौँडा आइपुग्यौँ ।

म कसरी चारधाम पुगेँ भन्ने एउटा रमाइलो प्रसङ्ग छ । २०२८–०२९ सालतिर मैले भर्खरै त्रिविबाट भौतिक विज्ञानमा स्नातकोत्तर सकेको थिएँ । यस्तैमा कुनै एक दिन गुह्येश्वरीबाट पशुपति मन्दिरतिर आउँदै गर्दा बाटामा रहेका विभिन्न मन्दिरहरूमध्ये बद्रीनाथ र केदारनाथ मन्दिर भनेर लेखेको मैले देखेँ । कुरा के रहेछ भनेर बुझ्दै जाँदा ती मन्दिरहरू भगवान् शिवका प्रसिद्ध मन्दिरहरू हुन् र ती मन्दिर भारतको उत्तराखण्डमा छन् भन्ने जानकारी मैले पाएको थिएँ ।

त्यस बेला त अब त्यहाँ के पुगिएला र भन्ने लागेको थियो तर त्यसको झन्दै पाँच दशकपछि म स्वयम् त्यहाँ पुग्नुलाई मैले एउटा संयोग नै मानेको छु मैले । अन्तिममा वर्दघाटबाट हामीसँगै यात्रामा रहेका मानिसहरूमध्ये एक जना अवकाशप्राप्त भारतीय सेनाका कप्तान पनि थिए । हाम्रो यात्रा सकुशल सम्पन्न भएको खुसीमा उनले बाटामा बिहानको खाना खाने क्रममा गाडीका स्टाफहरूलाई नगदका साथै मलाई एउटा मायाको चिनो पनि प्रदान गरेका थिए ।

अन्त्यमा एउटा कुरा भनिहालौँ– म धेरै मन्दिरहरू घुमेँ तर मलाई सबैभन्दा कठिन लागेको मन्दिरयात्रा भनेको रसुवाको गोसाइँकुण्डकै हो । तलदेखि माथिसम्मै उकालो भएर पनि त्यस्तो लागेको हुन सक्छ मलाई ।