सूचना तथा सचेतनाका लागि डिभिजन वन कार्यालय मकवानपुरले जारी गरेको सूचना ।

हेटौँडा ः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ र ४ नम्बर वडामा चितुवाले आतङ्क फैलिएको छ । सोमबार राती ९ बजेको समयमा मकवानपुरगढी–४, कालिखोलामा रहेको पाख्रिन एकीकृत गाई फार्ममा एउटा गाई मारेको छ भने एउटा घाइते भएको छ ।

चितुवाले १८ महिनाको बाच्छी मारेको छ भने ३ वर्षको गाईलाई घाइते बनाएको छ । स्थानीयले बाघ भएको अनुमान गरे पनि डिभिजन वन कार्यालय मकवानपुरका राकेश चन्द्रवंशीले भने चितुवा भएको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले जडान गरेको क्यामरामा आइतबार राती १२ बजेर २१ मिनेटमा मकवानपुरगढी–३ मा चितुवा भिडियो कैद गरिएको उहाँले बताउनुभयो । उक्त क्षेत्रमा अहिलेसम्म चितुवाको मुभमेन्ट रहेको, चितुवाले अहिलेसम्म बाख्रा, कुकुर र गाईलाई क्षति पु¥याएको छ भने मानवीय क्षति नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयले मंगलबार चितुवा समात्न पासो थाप्न लागेको समेत जनाएको छ । डिभिजन वन कार्यालयले बिहान र बेलुकाको समयमा एक्लै नहिँड्न समेत आग्रह गरेको छ । कहीँ कतै चितुवा देखे, घरपालुवा चौपायामाथि आक्रमण गरे सुरक्षा निकाय, वडा कार्यालय, सब डिभिजन वन कार्यालय तथा डिभिजन वन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।