हेटौँडा : बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रतिपक्ष र सत्तापक्ष दलहरु बीच बजेट माथिको विवाद कायमै रहेपछि प्रदेशसभाको बैठक बुधबार १ बजेका लागि सारिएको हो ।
मंगलबार दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरु बीच सहमति हुन नसक्दा दिउँसो ४ बजेसम्मका लागि सारिएको थियो । ४ बजे आह्वान गरेको बैठक पनि बस्ने अवस्था नरहेपछि सूचना टाँस गरेर बुधबार १ बजेका लागि बैठक स्थगित गरिएको हो । मंगलबार बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठक पछिको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार १ बजेसम्मका लागि बैठक सार्ने निर्णय गरेको हो ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकका अनुसार दलहरु बीच विगतको बजेट माथिको सहमतिका विषयहरु समेट्ने सहमति बनेको र सोही अनुसार बैठक आह्वान गरिएको हो । उक्त बैठकमा प्रदेशसभाका समितिमा तयार भएका संशोधन विधेयकका प्रतिवेदनहरु पेश हुने कार्यसूचि रहेको उहाँले बताउनुभयो । उक्त विधेयकका प्रतिवेदनहरुलाई छलफल गरेर पारित गर्नुपर्ने भएकाले केही दिन प्रदेशसभा चलाउने गरी विषेश समयको कार्यसूचि राखेर बैठक संचालन गरिने उहाँको भनाई छ ।










