सम्बन्ध एउटा मात्र यस्तो चिज हो, जुन जोडेपछि मात्र अघि बढ्दछ । यस प्राकृतिक नगरीमा जब जीवन पाईन्छ क्रमबद्धरूपमा त्यो बाल्यकालदेखि वृद्धावस्थासम्मका लागि सीमित क्षणको हुन्छ । सोही हदमा रचित यो कथा “मेघ बिजुली विवाह” ।

त्यो समय थियो, जब गृष्म ऋतुको चर्को घामले पोल्ने समयमा उदास र उराठ लागेको क्षण विस्तारै विस्तारै हट्दै सानो सिमसिमे पानीबाट ठूलो मुसलधारे पानी अनि गड्याङ्ग गुडुङ्ग गर्ने मेघलाई र कुनै समय चम्किलो स्वभावमा चम्किने बिजुलीलाई निम्त्याउँदै थियो ।

तब यस सुन्दर प्राकृतिक नगरीमा आमा वर्षाको आगमन हुन्छ । वर्षा आफ्नो दुधे बालकलाई बादल रुपी विमानमा राखी यसै सुन्दर प्राकृतिक पर्यावरणमा पाइला चाल्छिन् । मेघ एउटा सानो केटो जो गर्जिलो स्वभावको छ । उसले केही राम्रा कुरा देख्यो भने चाहियो भनेसी चाहियो चाहियो । हैन भने आफ्नो प्राकृतिक क्षमताका साथ, गड्याङ र गुडुङ गर्दै आफू हाँसेर अरुलाई तर्साउने वातावरण पनि बनाउन पछि हट्दैन ऊ । स्वभाव त्यस्तो नै गएपनि एकदमै माया लाग्दो र मेघ ।

जब मेघ हुर्किँदै जान्छ ऊ गर्जने बेला केही चम्किलो चिज कहिले काहीँ चम्किरहेका जस्तो अनुभूति गर्छ । जब मेघ आफैं धुम्ने डुल्ने हुन्छ उसले थाहा पाउँछ कि त्यो चम्किलो चिज अरु कोही नभएर सुन्दर आकृति कि बिजुली पो रहेछिन् । हुर्किने क्रमदेखि नै बिजुलीको चमकता अति नै मन पराउँथ्यो मेघले । तर उमेरले अलि सानो भएको कारण उसले त्यो कुरा मनमै राखेर बसिरह्यो ।

कहिलेकाहीँ बिजुलीको सुन्दरता हेर्न मन लाग्दा ठूलो आवाजमा गड्याङ, गथ्र्यो । तर हुर्किँदै गरेकी छोरी न परी, त्यही समयमा चम्किनु ठिक नलागेर होला मेघको धेरै प्रयासमा पनि चम्किन ऊ । मेघलाई अत्ति नै औडाहा भइसकेको थियो । सानोमा चाहियो भनेसि चाहियो चाहियो भन्ने बानी ठूलोमा के सुध्रिन्थ्यो र । उही भन्छन् नि, नानीदेखि लाग्या बानी के सुधिन्छ र । हो ठ्याकै त्यहाँ उखानको भागिदार थियो मेघ ।

अब त मेघ पनि हुर्किसकेको थियो । अर्कोतर्फ विजुली पनि आफ्नो सुन्दरताको केही प्रतिशतको चमक मेघ गर्जिएको समयमा झिलिक गर्थिन् । यानिकि यी दुई बीच के थाहा एउटा अजम्बरी सम्बन्ध गाँसिने पो हो कि ? जन्मदिन परेको थियो मेघको । उसले सबै प्राकृतिक स्रोत अनि साधनहरूलाई निम्तो गरेको थियो । असार महिनाको ठ्याकै पहिलो दिन उसको जन्मदिन थियो । र सबैलाई बोलाएपछि बिजुलीलाई बोलाएन कि भन्ने नसोच्नु, उसलाई त पहिलो निम्तो गरेको रे । मलाई खुसुक्क आएर कानमा बताउँदै थियो मेघले । अनि त्यसैमा अर्को कुरा किन छुटाउनु, बिजुलीले पनि मेघ राति गर्जँदा विशाल झिल्काले उसलाई शुभकामना दिएकी थिइन्, यो चाहिँ अलि खुलाएको थिएन । मेघले त मैले आफ्नै आँखाले देखेको थिएँ । यो कुरा चाहिँ मेघसम्म पुग्नु भएन है फेरी । गड्याङ गरेर सात्तो लिदियो भने म नडराएनी “कतै न कतै क्षति त पक्कै पुछ । म विश्वस्त छु । जन्मदिन कै कुरालाई निरन्तरता दिँदै त्यस दिन आकाशमा पहिलो चोटि मेघ र विजुली एक–आपसमा भेट्दै थिए । सायद गर्जने र चम्किने कार्यसँग गरे उनीहरुले तर, आपसी भएको थिएन । जन्मदिनको पार्टी सुरु भयो तर मेघको आँखाले बिजुलीलाई भेट्टाइ सकेको थिएन र मनमनै सोँच्न थाल्यो कि, हैन मेरो अगाडि यति धेरै प्राकृतिक स्रोत साधन आएका छन् तर ति विशेष मुहार कहाँ लुकिरहेको छ ?” त्यो सोचिरहेको थियो मेघले उसको धैर्यता भङ्ग गर्दै केही चम्किलो चिज उसका अगाडि आएर जन्मदिनको शुभकामना मेघ भन्दै गर्दा ठूलो स्वरमा मेघ गड्याङ गर्यो अनि केही समयमा बिजुली पनि थोरै शरम मान्दै झिलिक झिलिक गर्दै थिइन् । जन्मदिन अत्यन्त भव्य रुपमा सकियो ।

त्यसपछि प्राकृतिक पर्यावरणमा नयाँ भिन्नता देखिन थाल्यो । हरेक चोटि मेघ गर्जँदा बिजुली चम्किएको देखिन थाल्यो । त्यहाँबाट पक्का भइसकेको थियो कि साँच्चै नै अब प्राकृतिक पर्यावरणमा केही न केही त पक्कै हुन गइरहेको छ भन्ने । मेघ त अलि चलाख पो निक्ल्यिो ! कसैलाई थाहा नदिई आफ्नो जन्मदिनमा खुसुक्क बिजुलीलाई आफ्नो मनको कुरा भनिसकेछ चतुरले । त्यस दिन अन्तिममा पानी रोक्किने बेलामा केही ठूलै आवाजमा मेघ कराएर विजुली चम्किने क्रममा मानव बस्तीको क्षति पनि भएको थियो तर त्यो कुरा उल्लेख गर्दै गर्ने क्रममा छुटाएछु मैले । हो स्वतः त्यही समयमै कुरा पक्का भइसकेको रहेछ । आफ्नो मनको कुरा मेघले आफ्नो आमा सामु राख्यो । एउटा मात्र छोरो भएका कारण मेघ कै राजीखुसीअनुसार उनकी आमाले बिजुलीको घरमा हात माग्न बादलरूपी विमान चढेर जाने निधो गरिन् ।

सबै कुरा पक्का भयो अब, विवाहका लागि असारे लगन नै जुर्यो । गड्याङ गुडुङ गर्दै अब सुरु भयो प्राकृतिक विवाह । बाँसको झ्याङमा झ्यालीहरूले झिमझिम आवाज बजाउन थाली सके । हरियो दोसल्ला भिरेर पहाड पुरेत्याईँ गर्दै मस्त छन् । मयूरको त्यो सरिलो बोली श्रवण मार्ग बनेको छ । हावाका झोक्काहरु हल्लाएको त्यो वन मण्डप बनेका छन् । त्यस मण्डपलाई थप सुन्दरतापूर्वक बनाउन रुची अनुसारको चँदुवा जसलाई जग्गेमा टाङ्ने चौकुने कपडाको रुपमा प्रयोग भएको जस्तो देखिन्छ । यस सन्दर्भमा विवाहको रमझम प्रष्ट देखिन्छ त्यो निलो आकाशमा ।

तन्नाको रूपमा पृथ्वीको प्रयोग भएको देखिन्छ भने गलैँचाको रुपमा मखमली फूल जुन कहिले ओइलाउँदैन र हरियो चउरेहरूको प्रयोग भएको देखिन्छ । त्यो सूर्यका राता प्रकाश हिमश्रृङ्खलामा ठोक्किएपछि देखिने त्यो रूप मेघको शिरको पगरी बनेको छ । त्यही सेता रङ्गको अस्तित्व बोकेर शान्तिको प्रकाश छर्ने बकुल्लाहरु स्वतन्त्र रुपमा उडेर जन्ती बनेका छन् । जन्त आएका जन्तीको के कुरा विवाहको रौनक नै छुट्टै भएको छ ।

अब बेहुली सिङ्गार्ने पालो भएको छ । सुन्दर रङ्गहरुको समिश्रणमा बेहुलीलाई राम्री बनाउन पर्यो । बेहुलीलाई सजाउनका निम्ति सितारे घुम्टिको रुपमा जुनकिरीलाई प्रयोग गरिरहेका छन् उनकी दिदीबहिनीले । इन्द्रेणी, सात रङ्गको सुन्दरता झल्काउँदै बसेका दिन उनलाई कपडाकै रुपमा प्रयोग गरिएको छ । विवाह, बेहुलीको कुरा आएपछि घुम्टी त अवश्य नै हुन्छ र यस प्राकृतिक विवाहमा त्यस क्षणलाई घाम अस्ताउने समयको झल्को देखिन्छ ।

यसरी मेघले आफ्नो बेहुलीलाई लिएर सलामी बाजाका साथ शरद ऋतुमा जान्छ र सपनाका बाढी पूरा गर्न थाल्छ । तबबाट मेघ कराउन र बिजुली चम्किन छाड्छ ।