हेटौँडाः ६८ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले विधागत उत्कृष्ट प्रहरीलाई सम्मान गरेको छ । मंगलबार हेटौंडास्थित प्रदेश प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा पूर्वप्रहरी ९२ वर्षीय डम्बर बहादुर खत्रीलाई पनि सम्मान गरिएको छ । खत्रीलाई ज्येष्ठ प्रहरीको रुपमा सम्मान गरिएको हो ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले प्रहरीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने बताउनुभयो । प्रहरीलाई प्रविधिमा आधारित बनाएर शान्ति, सुरक्षा व्यवस्था कायम गर्नुपर्नेमा जोड दिनुभएका मुख्यमन्त्री जम्कट्टेलले प्रहरीलाई सवल बनाउन प्रदेश सरकारले राम्रो लगानी गरेको बताउनुभयो । प्रहरी अस्पताल निर्माणका लागि बहुवर्षीय आयोजनाको रुपमा समावेश गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजन हुन नसके पनि प्रदेश सरकारले प्रहरीको भौतिक संरचना निर्माणमा लगानी गरेको बताउनुभयो । प्रदेश सरकारले प्रहरीका लागि ३ अर्ब ४७ करोड रुपैयाँ खर्चेर ५३ वटा भवन निर्माण गरिदिएको मन्त्री श्रेष्ठको भनाइ थियो । प्रहरी दिवसकै अवसरमा मंगलबार बिहान साहदत प्राप्त प्रहरीका परिवारलाई सम्मान गर्नुका साथै अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले विविध क्रियाकलाप गरेको थियो ।
मंगलबार प्रहरी दिवसको मूल समारोहमा बागमती प्रदेश सरकारका प्रमुख सचिव घनश्याम उपाध्याय, आन्तरिक ममिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैँडा, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको पनि आतिथ्य रहेको थियो ।
ज्येष्ठ प्रहरीको रुपमा सेवानिवृत्त हबल्दार ९२ वर्षीय डम्बरबहादुर क्षेत्रीलाई सम्मान गरिँदै ।