हेटौँडाः कल्पना काफ्लेको मुक्तक सङ्ग्रह ‘अशान्त धड्कन’ को हेटौँडामा विमर्श भएको छ । शनिबार साहित्य सङ्गम–सिस्नुपानी मकवानपुरको सभाकक्षमा मुक्तक मञ्च मकवानपुर र आँचल साहित्य कला पुञ्जको संयुक्त आयोजनामा १९ औँ नियमित मुक्तक वाचन शृङ्खलामा काफ्लेको मुक्तक सङ्ग्रहमाथि विमर्श गरिएको हो ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता तथा महाकाव्यकार मुना धिताल अर्यालको प्रमुख आतिथ्यमा भएको नियमित मुक्तक वाचन शृङ्खलामा मकवानपुर बहुमुखी क्याम्पसकी उप–प्राध्यापक निरा शर्मा र मूक्तककार डि.बी. बर्तौलाले समीक्षा गर्नुभएको थियो । उपप्राध्यापक शर्माले मुक्तकमा आगन्तुक शब्दको बढी प्रयोग भएको, शब्द प्रयोगमा कुनै ठाउँमा बढी भएको र राखिनु पर्ने ठाउँमा नराखिएको र मुक्तक जति पृष्ठबाट पढे पनि उत्तिकै प्रभावकारी भएको टिप्पणी गर्नुभयो । त्यस्तै समालोचक बर्तौलाले केही हरफ दोहोरिएको, केही शब्द आफैंले निर्माण गरेको र समग्रमा मुक्तक संग्रह व्यङ्ग्यात्मक, हास्यमय र प्रकृतिप्रेममूलक रहेको टिप्पणी गर्नुभयो ।
मुक्तककार कल्पना काफ्लेले समग्र टिप्पणीको जवाफ दिनुहुँदै आफ्नो सन्तानको सबैले सधैं भलो चिताउने उल्लेख गर्नुभयो । उहाँले ‘अशान्त धड्कन’ मा पनि नचाहँदा नचाहँदै केही कमिकमजोरी भएको स्वीकार्नुहुँदै आगामी कृतिमा यस्ता गल्ती सक्केसम्म नदोहो¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।