आआफ्नै काम र जीवनमा व्यस्त रहने मानिसहरुको एउटा बस्ती थियो । त्यस शहरको नाम हेटौँडा थियो । त्यहाँ हरेक सुख, सुविधाहरू उपलब्ध थियो । साथै अनेकौँ अवसरहरू पनि भेटिन्थे । तर अफसोच अवसरहरूमा प्रेरणा दिने, हौसला बढाउने मानिसहरू भने कमै मात्रामा भेटिन्थे । त्यही मानिसहरूको झुण्डमा अतित नामक एउटा केटा पनि आफ्नो बाआमासँग एउटा सुन्दर घरमा बस्दथ्यो ।
अतितलाई भने पुरानो कुराहरू भन्दा पनि नयाँ नयाँ कुराहरू जान्न खुब रूची लाग्थ्यो । “ओई अतित स्कुल जाने टाइम भैसक्यो हौ, छिटो आइजेन” भन्दै उसका मिल्ने साथी अभिषेक र सामलीले उसलाई गुहारिराथे । अतित हतार–हतार विद्यालयको झोला बोक्दै गेटबाट बाहिर निस्कियो र आफ्नो साथीहरुसँग लमक लमक विद्यालयतर्फ लम्क्यो ।
अतित कक्षा नौमा पढ्थ्यो । आज पहिलो घण्टी भने नेपाली शिक्षक सार्थक सरको थियो । केही विद्यार्थीहरूलाई किताबको चाङ बोकाएर सार्थक सर कक्षाकोठाको ढोकामा प्रवेश गर्नुभयो । त्यति धेरै किताब नै किताब देखेर सबै विद्यार्थीहरु अचम्मित देखिन्थे । केहि कोही ले त, “किन यति धेरै किताबहरु ल्याउनुभएको सर ?” भनी प्रश्न गर्न पनि भ्याए । सरले एकछिन पखको इशारा गर्दै सबै पुस्तकहरु टेबुलमा राख्नुभयो । अतितले पनि चाख मानी यो सबै दृश्य हेरिरहेको थियो । सार्थक सरले एक एक गरेर सबै विद्यार्थीलाई पुस्तक बाँड्नु भयो । बल्ल उहाँको बोली सुरु भयो, “यी सबै कथा, जीवनी, कविता उपन्यासका पुस्तकहरू हुन् । तिमीहरुलाई विषयको पाठहरू मात्रै नभई अन्य साहित्यसँग सम्बन्धित कथा, कविता, उपन्यास, आदिका पुस्तक पढ्न दिने सोच आयो । जसले तिमीहरूको चौतर्फी ज्ञानको विकास गर्दछ । साथै तिमीहरूलाई सिर्जनशील पनि बनाउँदछ । यी पुस्तकहरु तिमीहरूले घर लगेर पनि पढ्न सक्छौ र पढिसकेपछि भने फिर्ता गर्नु है । “पाठ भित्रका मात्रै पढाउने यो सरले आज कसरी कोर्ष बाहिरका अन्य पुस्तकहरु पढ्न दिने सोच आएछ ? सोच्दै कति विद्यार्थीहरू अचम्मित थिए । कतिपय विद्यार्थीहरू त “आज कोर्ष भित्रका पाठहरु नपढी अन्य पुस्तक पढ्न पाइयो “भनी खासखुसु गर्दै हर्षित देखिए ।
अतितले पनि एउटा उपन्यासको पुस्तक पायो । ऊ त्यस पुस्तकलाई पढ्न खुब उत्सुक भइसकेको थियो । उसले त दुई, तीन पेज पनि पढिहाल्यो । त्यसपछि जतन साथ त्यस पुस्तकलाई आफ्नो झोलामा राख्यो । घर पुगेपछि उसले हतार हतार आफ्नो गृहकार्यहरु गरी सकायो र त्यस उपन्यासलाई पढ्न सुरु गर्यो। अबेरसम्म पनि ऊ पढि नै रह्यो । केही फुर्सदको समयमा पनि उसले त्यही उपन्यास पढ्न भ्याइहाल्थ्यो । करिब तीन दिन लगाएर उसले त्यो मोटो उपन्यासको पुस्तक पढेर सकायो । त्यस उपन्यास पढिसकेपछि उसले आफूलाई अतित नभइकन उपन्यासको एउटा पात्रको रुपमा आफूलाई सोच्न थाल्यो । साँच्चै नै उसले नयाँ नयाँ कहिल्यै नसुनेको साहित्यिक शब्दहरू पनि थाहा पायो । सार्थक सरले भने झैँ उसले पनि आफ्नो चौतर्फी जानको विकास भएको महसुस गर्यो।
अचानक उसलाई पनि उपन्यास लेख्ने सोच आयो । आफू पनि त्यस उपन्यासका उपन्यासकार जस्तै एउटा महान् उपन्यासकार बन्ने सोच आयो र बन्छु भनेर नै जोस जाग्यो । सर्वप्रथम त उसले यो कुरा आफ्नो मिल्ने साथी अभिषेक र सामलीलाइ बतायो । “सुन न मलाई मैले पढेको उपन्यास जस्तै उत्कृष्ट उपन्यास लेखेर उपन्यासकार बन्ने इच्छा पो आयो भन्या । सार्थक सरले दिनुभएको उपन्यासको पुस्तक पढेपछि त साँच्चै नै प्रेरणा मिल्यो ।”
“तँ जिस्किएको त होइनस् नि अतित । मतलब त एउटा उपन्यास लेख्ने हा ! हा ! हा ! सपनामा “नराम्रोसँग अभिषेकले उसलाई खसाल्यो । “बाबु, उपन्यास लेख्न सजिलो नसोच । ठुल्ठुला साहित्यकारहरूले मात्रै लेख्न सक्छन् ।
तेरो वशको कुरा होइन” सामलीले अझै थपी । अतितको अनुहार कालो बादलले ढाकेको झैँ भयो । आफ्नै मिल्ने साथीबाट यस्तो प्रतिक्रिया आउला भनेर उसले कहिल्यै पनि सोचेको थिएन । ऊ त्यहाँबाट ओझेल प¥यो । साथीहरुले जति भन्दा पनि अतितको उपन्यासकार बन्ने इच्छा अझै मरेको थिएन । अब त झन, उनीहरुलाई देखाउनका लागि भएपनि उपन्यास लेख्छु नै “भन्ने जमर्को राख्यो । अचानक उसलाई सार्थक सरको याद आयो र उहाँ भएको ठाउँमा गयो । उसले आफ्नो उपन्यास लेख्ने सोच बारे बतायो । साथै उपन्यास के हो ? कसरी लेखिन्छ ? राम्रो उपन्यास लेख्न के कस्ता कुराहरु चाहिन्छन् ? “आदि सबै प्रश्नहरू एकैसाथ सोध्न भ्यायो । नेपाली शिक्षकको नाताले उहाँलाई पनि उपन्यासको बारेमा राम्रै ज्ञान थियो । उहाँले उपन्यासको बारेमा सबै जानकारी अतितलाई दिनुभयो । अन्तिममा “गर्छु नै भनेर अठोट गर्यो र लक्ष्य जाग्यो भने उ कहिल्यै असफल हुँदैन । त्यस्तै तिमीले पनि उपन्यास लेख्ने अठोट गरेका छौं । त्यसैले तिमी एक सफल उपन्यासकार अवश्य पनि बन्ने नै छौ भन्ने मलाई पूर्ण विश्वास छ भन्दै उहाँले अतितलाई हौसला प्रदान गर्नुभयो । घर पुगेपछि उसले प्रकृतिलाई नियाल्यो । रूख, बिरुवा, जनावर, मानिस, आदि सबैको कल्पना गर्यो। तर लेखनलाई केही पनि विषयवस्तु पटक्कै सुझेन । अचानक उसले आफ्नो स्कुले जीवन सम्झियो । किशोर उमेरका घटनाहरू, समस्याहरू पनि सम्झियो र यही सबै कुरालाई नै पन्नामा उतार्ने सोच आयो । यो लेख्न उसलाई अलि सहज हुन्थ्यो । कारण उसले पनि धेरै कुराहरु आफैंले भोगेको थियो । दिन–रात नभनीकन अतित उपन्यास लेख्न तम्सियो । साथै सार्थकसँग पनि सल्लाह सुझाव लिँदै गयो । करिब अढाई महिनापछि उसले एउटा उपन्यास लेख्यो जस्लाई उसले शीर्षक दियो प्रेरणा । त्यस उपन्यासमा समस्या मात्रै थिएनन्, समाधान पनि थिए । असफलता त थियो तर सफलता पनि त्यसैको अंश थियो । शब्द, हरफ, अनुच्छेद मात्रै थिएनन्, एक एक शब्दमा सन्देश लुकेको थियो ।
उसले त्यो पाण्डुलिपी सार्थक सरलाई पनि देखायो । सरलाई पनि त्यो उपन्यास खुब मन प¥यो । उहाँले त्यो उपन्यास छाप्नलाई एउटा पब्लिकेशनमा दिनुभयो । केही दिनपछि नै उसको त्यो पाण्डुलिपी एउटा पुस्तकमा परिणत भएर आयो । त्यस पुस्तकलाई हेर्न अतित खुब आतुर भइसकेको थियो । शीर्षक भन्दा पनि त्यसको तल “अतित उप्रेती “लेखकको नाममा उसको आँखा ठोक्किन पुगे । उसले जिन्दगीमै नगरेको गर्व महसुस ग¥यो । सालभरिकै बेस्टसेलरमा उसको किताब चिनियो । ऊ सबैतिर चर्चित भयो ।
केही समयपछि भने विद्यालयमै उसको पुस्तक प्रकाशनपछि पुस्तक विमोचन कार्यक्रमको आयोजना गरियो, जहाँ शिक्षा मन्त्रीलाई पनि प्रमुख अतिथिको रूपमा निम्त्याइएको थियो । मन्त्रीज्युले अतीतको कला र खुबीको खुब बयान गर्नुभयो । “यस्ता प्रतिभा र विशेष कलाको हामीले संरक्षण गर्नु पर्छ र आउँदा पिढीलाई पनि यस विषयमा लाग्न प्रेरित गर्नु पर्दछ । अतीतको यो नयाँ प्रयास यस विद्यालयको मात्रै नभई यस क्षेत्रकै गौरव बन्न पुगेको छ । फेरि पनि बधाई छ अतीत तिमीलाई । “मन्त्रीज्युको यस भनाईले अतितलाई साँच्चै नै आफ्नो कार्य उत्तम लाग्यो । केही विद्यार्थी र कार्यक्रममा सहभागी सदस्यहरुले पनि अतीतको उपन्यास खुब उत्सुकताका साथ किने । त्यो दृश्य देखेर अवश्य नै अतीत को मन प्रफुल्ल भएर आयो ।
“ल बधाई छ है अतित” उसका सबै साथीहरू, आफन्त, गुरु, आदि चिनेका मान्छेहरुको मुखबाट उसले यही सुन्न पाउँथ्यो । नचिनेका मान्छेहरुले पनि उसको उपन्यास पढेर अब त उसको फ्यान भैसकेका थिए । अभिषेक र सामली भने आफ्नो साथीको प्रगति देखेर पछुतो र लाजले भुतुक्क भएका थिए । अतितले सबैभन्दा बढी धन्यवाद आफ्नो पूजनीय नेपाली शिक्षक सार्थक सरलाई दियो, जसले उसलाई यस पुस्तक लेख्न प्रेरणा दिनुभएको थियो ।
कक्षा–९, नवोदय शिशु सदन, हेटौँडा–४