हेटौँडा : हेटौँडामा जारी पाँचौं संस्करणको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा शनिबार क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो ।
शनिबार हेटौँडास्थित जीएस निकेतनले बागमती गाउँपालिकास्थित बाघभैरव माविलाई २५–१५, २५–२२ को सोझो सेटमा हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । मकवानपुरगढी गाउँपालिकाको शारदा माविले बकैया गाउँपालिकास्थित जनक माविलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्दा बकैया गाउँपालिकास्थित महेन्द्र माविले हेटौँडास्थित जनप्रिय माविलाई २५–१७ र २५–१३ ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । यस्तै मकवानपुरगढी गाउँपालिकास्थित भानु माविले २५–२३, १३–२५ र १५–९ को सेटमा राक्सिराङ गाउँपालिकास्थित सूर्योदय माविलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो ।
सेमीफाइनल चरणका खेलहरू आइतबार हुनेछ । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा वडा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविको सहव्यवस्थापनमा शिक्षक भलिबल प्रतियोगिता भएको हो । प्रतियोगितामा २४ वटा विद्यालयको टिम सहभागी थियो ।