नवनिर्वाचित अध्यक्ष कृतिका लौँडारी ।

हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपालको अध्यक्षमा मकवानपुरकी कृतिका लौँडारी चयन हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न प्रथम अधिवेशनबाट कृतिकाको अध्यक्षतामा ३३ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । शुक्रबार र शनिबार दुई दिन हेटौँडामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सवको समापनपछि अधिवेशन भएको थियो । अधिवेशनले विधान संशोधन गरेर कार्यकाल २ वर्षको रहने व्यवस्था गरेको छ ।

नवसर्जक साहित्य चौतारीको वरिष्ठ उपाध्यक्षमा कैलालीका विभूति अधिकारी चयन हुनुभएको छ । उपाध्यक्षमा सातै प्रदेशबाट एक÷एक जना गरी ७ जना र काठमाडौं उपत्यकाबाट एकजना चयन गरेको छ । उपाध्यक्षमा पाँचथरकी बोना हाङ्मा लोबा (कोशी), मकवानपुरका समर्पण न्यौपाने (बागमती), गोरखाकी कृतिका लामिछाने (गण्डकी), कपिलबस्तुकी जोशिका कँडेल (लुम्बिनी), सुर्खेतकी समीक्षा नेपाल (कर्णाली), काठमाडौंकी आँचल कुशुम अधिकारी (काठमाडौं उपत्यका) चयन हुनुभएको छ । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्ष पछि मनोनित गरिने नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार तथा संरक्षक दीपक गौतमले जानकारी दिनुभयो ।

नवसर्जक साहित्य चौतारी नेपालको महासचिवमा मकवानपुरकी स्वस्तिका दाहाल, उपमहासचिवमा मकवानपुरकै रचना भण्डारी, कोषाध्यक्षमा ओखलढुंगाकी प्रविना प्रयासी चयन हुनुभएको छ । सचिवमा रौनक साह र सुस्मिता ढुंगाना चयन हुनुभएको छ । साह र ढुंगाना दुबैजना मकवानपुरका हुनुहुन्छ । नवसर्जक साहित्य चौतारी नेपालको विदेश विभाग संयोजक प्रविणा बराल (जापान) हुनुहुन्छ । ५ वर्षअघि कोभिड–१९ महामारीको समयमा घरमै रहेका विद्यालय तहका विद्यार्थीलाई अनलाइनमार्फत साहित्य सिर्जनाको प्रशिक्षण प्रदान गर्ने क्रममा नवसर्जक साहित्य चौतारीको परिकल्पना गरिएको थियो । भर्चुअल माध्यमबाट देशभरका नवसर्जक जोडिने क्रममा राष्ट्रिय समिति र प्रादेशिक समिति निर्माण गरिएको थियो ।

प्रथम अधिवेशनसँगै नवसर्जक साहित्य चौतारीको जिल्लास्तरीय समिति निर्माणमा पनि अगाडि बढ्ने परिकल्पनाकार दीपक गौतमले जानकारी दिनुभएको छ । नवसर्जक साहित्य चौतारीमा २५ वर्षभन्दा कम उमेर समूहका साहित्यकार सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।