मच्छिन्द्र फुटबल क्लबको टिम ।

हेटौंडाः थ्रीस्टार क्लबलाई हराउँदै मच्छिन्द्र क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–१ गोलले हराउँदै सावित विजेता मच्छिन्द्रले फाइनलको यात्रा पूरा गरेको हो ।

मच्छिन्द्रको जीतमा शिशिर लेकीले खेलको ४२ औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । समिराज थोकरले दोस्रो हाफको ६ मिनेटमा गोल गरेका थिए । मछिन्द्रका विदेशी खेलाडी स्टेफेनले दोस्रो हाफको ४३ औं मिनेटमा गोल गर्दै जीत सुनिश्चित बनाएका हुन् । थ्रीस्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले खेलको पहिलो हाफको ३७ औं मिनेटमा सुरुवाती अग्रता बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् । म्यान अफ द म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता टोलीले उपाधिका लागि सोमबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।