केही समय यता बालसुधारगृहको व्यवस्थापनको विषय निक्कै पेचिलो बनेको छ । बालसुधारगृहको व्यवस्थापन पक्ष कमजोर भएको भन्दै बालसुधार गृहमा रहेका बालकहरू आन्दोलित बनेका छन् । केही समय अघि भक्तपुरको बालगृहमा एक बालकको मृत्यु भएको थियो भने बालक मृत्युको घटनालाई लिएर आन्दोलनमा उत्रिएका नेपालगन्जमा एक बालकको मृत्यु भयो । बालसुधारगृहको व्यवस्थापनकै सन्दर्भमा हाम्री संवाददाता सुमिना चौलागाईले सिबिन बालहेल्पलाइन हेटौँडाका प्रमुख झविन्द्र ज्ञवालीसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः अहिले देशका अधिकांश बालसुधारगृहमा झगडा, हत्या भइरहेको छ ? किन यस्तो भइरहेको छ ?
ज्ञवालीः बालसुधारगृहमा क्षमता भन्दा बढि बालबालिका रहनु र बालसुधारगृहको पूर्वाधार अवस्था र भौतिक संरचनामा समस्या रहेको छ । बालगृहसुधारमा अध्ययनलाई कानुनले सुनिश्चित गरेको छ तर जुन युनिसेफद्वारा र नेपाल सरकारद्वारा संचालित वीरगंज, रुपन्देही, डोटि र मकवानपुरको बालगृहमा विद्यालयको व्यवस्था छैन । बालबालिकामा शिक्षाको अवस्था समस्याको अवस्था छ र बालबालिकाले पाउनु पर्ने सुविधाको कमिका कारण पनि यस्ता घटना भइरहेका छन् ।
समाजः बालसुधारगृहमा कस्तो अपराध गरेका बालबालिकालाई राखिन्छ ?
ज्ञवालीः नेपालमा सबैभन्दा बढी जबर्जस्तीकरणीका घटनामा संलग्न बालबालिका बालसुधारगृहमा रहेका छन् । यस्तै लागुपदार्थ ओसारपसार, कर्तव्य ज्यान मुद्दा, अप्राकृतिक मैथुन, चोरी, अपराध आदिमा रहेका छन् ।
समाजः मकवानपुर जिल्लामा रहेको बालसुधारगृहको अवस्था कस्तो छ ? तपाइहरुले कसरी हेरिरहनु भएको छ ?
ज्ञवालीः नेपालमा ८ वटा बालसुधारगृह छन् । सबैको प्रकृति एउटै जस्तो छ । हेटौंडामा रहेको बालसुधारगृह पूर्ण बालमैत्री छैन, विद्यालय पनि संचालन हुन सकेको छैन । आवश्यक कर्मचारी नभएको र क्षमता भन्दा बढि बालबालिका रहेका छन् । मकवानपुरमा रहेको बालगृह पनि अरु बालगृह जस्तै रहेको छ ।
समाजः बालसुधारगृहको हिसाबले बालबालिकाहरु कस्तो हुनुपर्ने हो ?
ज्ञवालीः हामीले जस्तो लगानी गरेका छौ त्यस्तै भइरहेको छ । हामीले परिकल्पना गरेको जस्तो अवस्थामा बालसुधारगृहहरु छैनन् । बालसुधारगृहबाट पुनस्र्थापना भइसकेका बालकहरुको अवस्था केही हदसम्म सुधार भएको छ । तर बालसुधारगृहमा राख्ने तरिका, दिने सेवा सुविधा, भौतिक संरचनाहरु, शिक्षाको उपलब्धता नमिलेका कारण यस्तो भएको हो । यो सरकारले मिलाउनु पर्छ ।
समाजः बालसुधारगृहमा बालक धेरै छन् कि बालिका धेरै छन् ?
ज्ञवालीः नेपाल अधिराज्यभर ४३ जना बालिकाहरु रहेका छन् । बालिकाहरु सबैलाई काठमाडौंमा राखिएको छ । अरु एक हजार एक सय सात जना बालकहरु विभिन्न बालसुधारगृहमा रहेका छन् ।