हेटौंडाः नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा राजनीतिक परिवर्तनको निर्देशनअनुसार समृद्वि हुन नसकेको बताउनुभएको छ । सोमबार मकवानपुरबाट प्रसारित रेडियो सन्देश १०६.९ मेगाहर्ज, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको वार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
नेपालमा राजनीतिक परिवर्तनअनुसारको परिवर्तन नभई जनताको आवश्यकता पूरा हुन नसकेको बताउँदै समृद्घ मुलुक आजको आवश्यकता भएको उहाँले बताउनुभयो । सञ्चार माध्यम लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने माध्यम भएको धारणा राख्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा मिडियाले महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनुभयो । सरकारको तर्फबाट गृह मन्त्रालयले सुशासनको अभियान अगाडि बढाएको उहाँले दावी गर्नुभयो ।
देशमा ६ दशकपछि जनयुद्घ, जनआन्दोलनपश्चात् संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयन गर्न सकिएको भन्दै मन्त्री श्रेष्ठले वर्तमान सरकार सुशासन, समृद्वि र सामाजिक न्यायको मूल सिद्घान्त लिएर अगाडि बढेको दाबी गर्नुभयो । उहाँले वर्तमान सरकार आएपश्चात् मन्त्रीहरुले हिसाब देखाउन नपर्ने गरी गर्ने गरेको खर्चको कटौती गरेको दाबी पनि गर्नुभयो । आफूले प्रहरीहरुको सरुवा बढुवामा भएको आर्थिक चलखेल र नेताको घर धाउने प्रवृत्तिको अन्त्य गरेको जानकारी गराउँदै प्रहरी प्रशासनले आन्तरिक सुशासनको बलमा मात्रै सेवा प्रदान गर्ने खालको वातावरण सिर्जना गरेको उहाँको दावी छ ।
यसैगरी उहाँले वर्तमान सरकारले जनताको हितमा काम गरेको बताउँदै मिटरब्याज पीडितहरुका लागि सरकारले ऐन नै निर्माण गरेर कार्य अगाडि बढाएको बताउनुभयो । वर्तमान सरकारको मुख्य काम सामन्तवादको अन्त्य गर्नुभएको मन्त्री श्रेष्ठको भनाइ छ । वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्न लागिपरेको बताउँदै भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न सफल भएको बताउनुभयो । उहाँले सरकारको मुख्य उद्देश्य खाडीमा गएका युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनु भएको उहाँले दावी गर्नुभयो । उहाँले राष्ट्रिय सर्वभौमिकता र राष्ट्रिय एकता बलियो बनाउन सम्पूर्ण नागरिकलाई अपिलसमेत गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले संविधानमा भएको व्यवस्थाअनुसारको अधिकार प्रदेश सरकारले नपाएको बताउनुभयो । गठबन्धन सरकारले ६ महिनामा प्रहरी समायोजन गर्ने भनेता पनि त्यसो गर्न नसकेको बताउनुभयो । प्रदेश सरकारसँग अधिकार नहुँदा चाहेर पनि सञ्चार माध्यमलाई सहयोग गर्न नसकेको उहाँले बताउनुभयो । कार्यक्रममा रामचन्द्र खड्का स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार निकास साप्ताहिकका सम्वाददाता शम्भु अधिकारीलाई सम्मान गरिएको थियो ।
रेडियो सन्देश सञ्चालक संस्थाका अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामालगायतको उपस्थिति रहेको थियो ।