पितृदेवो भवः । बुबाको मुख हेर्ने, कुशे औंसी अर्थात पितृसम्मान दिवसका अवसरमा सम्पूर्ण पिताहरुलाई लाखौं लाख प्रणाम । सबै सन्तानहरुलाई माता पिताप्रतिको कर्तव्य पालना गरी वहाँहरुलाई सधैं खुसी राख्न आग्रह गर्दै सबै पिताहरुलाई वहाँहरुको सुस्वास्थ्य सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना ।

माता पितालाई जीवनमा साक्षात् भगवान देवताको रुपमा राखिएको छ । धर्मशास्त्रमा मातापितालाई बढी सम्मान गरेको पाइन्छ । हुन पनि व्यवहारिक जीवनमा पाइने शिक्षा–दीक्षाका साथै पितृअंश सन्तानका रुपमा रहेका कारणनै पिता नै पुत्रको रुपमा प्रस्तुत भएको हुन्छ । मातापिताले सानो शिशुलाई हुकाई बढाई शिक्षा–दीक्षा दिएर सारा दुःख–कष्ट झेलेर एक सक्षम सन्तानमात्र नभई एक आदर्श नागरिकसम्म बनाउन गर्नुभएको योगदानस्वरुप सम्मानका लागि पनि यो दिवश आवश्यक रहेको छ ।

यो संसारमा चाहे जुनसुकै धर्मावलम्बी होस् ती सबैमा आआफ्नै चलन छ । चलन जे सुकै भएपनि बुबा प्रतिको आदर, सम्मान आफ्ना बुबाको हात समातेर तोते बोली बोल्दै लर्बराई लर्बराई पाइला चाल्न सिकेका हामीहरुलाई माया स्नेहको साथ दिई हिँड्न सिकाउने बुबाप्रति सम्मान गर्न धर्म या सम्प्रदायले छेकेको छैन । त्यसैले होला शब्दले बुबा आमाको व्याख्या गर्न सकिँदैन । त्यसैले होला कुसे औंसी बुबाका लागि, आमाको मुख हेर्ने दिन, गुरुको सम्झनामा गुरुपूर्णिमा यिनै दिनहरुलाई स्मरण गर्दै जीवन अघि बढेर कहिले बुबा आमा, कहिले छोरा–छोरी कहिले आफैँमा गुरुको भूमिकामा हामीहरु निर्वाधरुपमा निर्वाह गर्दै आइरहेका छौं ।

२१औं शताव्दीमा आएर बढ्दो आधुनिकताले गर्दा बुबा आमाहरुप्रति कतै–कतै आधुनिकताको खोल ओढेर बृद्ध बुबाआमालाई सम्मान गर्न हिचकिचाउँदै आफूमाथि बुबाआमाले गरेको माया मोहको सम्मान नगरी बृद्धाश्रममा राख्ने चलन बढ्दै गइरहेको यदाकदा देखिन्छ । यस क्रमलाई हामी अहिलेका यूवा पुस्ताले सच्याउन जरुरी छ । पृथ्वी गोलो छ घुमीफिरी पालो आफ्नो पनि आउँछ । त्यो समय आफूमा कस्तो अनुभुति हुने हो त्यसको मुल्यांकन गर्दै सदैव असल छोरा, असल नागरिक हुन सम्पूर्णमा आग्रह पनि गर्दछु ।

पौराणिक ग्रन्थहरुमा व्रम्हाजीको उत्पत्तिसँगै कुशको पनि उत्पत्ति भएको हो भन्ने धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ । त्यसैले देवताहरु पनि कुशको प्रयोग गरेर कुशको पवित्रता धारण गरेर मात्र यज्ञ, व्रत, तप आदि गरेको प्रसंग धर्मशास्त्र, पुराणहरुमा धेरै पाइन्छ । कुश पवित्र धारण गरेको व्यक्ति इन्द्रको बज्र, नारायणको सुदर्शन चक्र एवम् भगवान शंकरको त्रिशूल समान नै शक्तिशाली हुन्छन् भन्ने विश्वास गरिन्छ । भगवानले वराह अवतार लिएर पृथ्वीको उद्दार गर्ने क्रममा हिरण्याक्ष दैत्यलाई वध गर्नुभई थकाई मेट्नका लागि आराम गरेर बसिरहँदा झरेका वराह भगवानका रौंहरु नै पछि कुश एवम् काँश भएर उत्पत्ति भएको प्रसङ्ग शास्त्रमा पाइन्छ । यस्तै स्वस्थानीको कथाप्रसङ्गमा पनि वृन्दाले विष्णु भगवानलाई श्राप दिएका कारण घाँस हुनुपरोस भनेको घाँस नै कुशको रुपमा उम्रिएको भन्ने कुरा त्यही स्पष्ट हुन आउछ ।

जसरी पनि भगवानसँग सम्बन्धित भएर आएको कुशलाई यज्ञ, होम पुजाआजामा प्रयोगमात्र होइन । कर्ता, आचार्य आदिले शुद्धता एवम् रक्षाणार्थ तथा बलशाली बन्न पनि कुशको पवित्रता लगाउने, कुशको आसनमा बस्ने र कुशदण्ड लिएर मात्र सन्ध्यावन्दन देखि लिएर सम्पूर्ण धार्मिक कृत्य सम्पादन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । यी सबै धर्मशास्त्रीय ग्रन्थहरुमा विशेष महत्व दर्शाइएको छ ।

घर नजिकै कुश रोप्ने, कुश रोप्नका लागि बारी नै छुट्याउने, भिरालो भएको जमिनमा कुश फस्टाउने भएकोले भिरालो जमिनमा कुश रोप्ने गरिन्छ । रोपेर उम्रिएको कुशलाई कुशे औंसीको दिन भूमि एवम् कुशको पुजा गरी क्षमा मागी कुश उखेल्ने गरेको पाइन्छ । भाद्रकृण औंसीमा कुश संकलन गरिने भएकोले यसलाई कुशे औंसी भनिन्छ । यसै दिन आफूलाई वर्ष दिन भरी चाहिने कुश संकलन गरी घरमा राखिने गरिन्छ । औंसीको दिन उखेलिएको कुश वर्षदिन भरी पवित्र रहने हुँदा वर्षभरी हिन्दु धर्म अनुसारका नित्यकर्मका लागि प्रयोग गरिन्छ । कुश उखेल्दा उत्तर फर्किएर कुशको प्रार्थना र मन्त्र पढी फेदमा समाती कुश उखेल्नु पर्दछ । यसरी उखेलिएको कुश अर्को कुशे औंसी भन्दा अगाडिका दिनसम्म बासी र अपवित्र मानिँदैन ।

कुशे औंसी भनेको घरको ढोकामा कुश राखेरमात्र मनाइने होइन । कुशे औंसीका दिन पिताको (बुवा) मुख हेरेर मिठा मिठा परिकार, लत्ता कपडा आदि उपहार दिएर मनाइनु र पितृ भइसक्नु भएकाहरुका लागि विभिन्न शक्तिपीठहरुमा गई स्नान गरी पितृको नाममा श्राद्ध गरी मनाइने चलन पनि छ ।