चित्तलले ठक्कर दिएको अटो ।

हेटौँडा : हेटौँडा–९ मा चित्तल ठोक्किएर अटो अनियन्त्रित भई पल्टँदा ५ जना घाइते भएका छन् । बुधबार बिहान ११ बजेको समयमा पदमपोखरिबाट गुम्बा चोकतर्फ आउँदै गरेको ना २ ह २३६८ नम्बरको अटोमा जंगलबाट आएको चित्तल ठोक्किँदा अटो अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा अटो चालक हेटौँडा–१२ का ४२ वर्षीय नर बहादुर तामाङ, अटोमा सवार ३० वर्षीया बिन्दा स्याङ्तान, २९ वर्षीया रिता स्याङ्तान, ९ वर्षीय रिदिक स्याङ्तान र १४ वर्षीया फरायरी बल घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको र उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ । घटना पश्चात चित्तल जंगलतर्फ नै भागेको प्रहरीले जनाएको छ ।