हेटौँडा : बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेशमा जलवायु परिवर्तनका कारण विपद्जन्य घटनाको जोखिम बढीरहेको बताउनुभएको छ । जलवायु परिवर्तनका कारण बाढी, पहिरो, डुबान, चट्याङ, खडेरी, आगलागी लगायतका मौसमजन्य घटनाहरुको असर बढ्दै गएको उहाँले बताउनुभयो ।
हेटौँडामा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै मन्त्री लामिछानेले विपद्का कारण मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि संघीय सरकारसँगको समन्वयमा स्थानीय तहहरुको क्षमता वृद्धि मार्फत् वैज्ञानिक तथ्यमा आधारित रहेर निर्णय लिने पद्दती विकासमा जोड दिनुपर्ने बताउनुभयो । सोही लयमा प्रदेश सरकारले निरन्तर क्रियाशिलता देखाएको उहाँले दावी गर्नुभएको छ । ‘प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै आएको छ । नीति निर्माण, पूर्वतयारी, प्रविधि उपयोग, र स्थानीय तहहरुसँगको समन्वय र सहकार्यलाई अझ सघन बनाउने काम भएको छ’, मन्त्री लामिछानेले भन्नुभयो ।
उहाँका अनुसार विपद् प्रतिकार्यका लागि आवश्यक तथ्यांक उपलब्ध नहुनु, उपलब्ध तथ्यांक भर पर्न योग्य नदेखिनु, पोर्टलहरुले देखाएका तथ्यांक तथा सुरक्षा निकायका विवरणहरुबीच तालमेल नमिल्ने समस्याहरु विद्यमान रहेको छ । जसका कारण तत्काल गर्नुपर्ने प्रतिकार्यका कार्यहरुमा कठिनाई भइरहेको उहाँको भनाई छ । सरकारका निकायको क्षमता अभिवृद्धीसँगै विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरी प्रदेशबासीको सुरक्षामा प्रदेश सरकार संवेदनशील रहेको उहाँले बताउनुभयो ।