हेटौँडा : बचतकर्ताको रकम हिनामिना गरेको भन्दै ८ सहकारीलाई छानविन गर्न बागमती प्रदेश सरकारले प्रहरीमा पठाएको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी महाशाखाले बचतकर्ताको रकम फिर्ता नगरी हिनामिना गरेको भन्दै ८ सहकारी संस्थाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएको हो ।
बतकर्ताहरुले उजुरीका आधारमा ति सहकरीहरुलाई अनुसन्धानका लागि सीआईबीमा पठाएको हो । महाशाखाले मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं, झिंगु समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुर, मुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा, डिलाइट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुर, नवजीवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुर, फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं, सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुर र पशुपती बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरलाई अनुसन्धानको लागि सीआईबीमा पठाइएको हो ।
बचतकर्ताको उजुरीका आधारमा समस्या देखिएका उक्त सहकारीहरुलाई पटक–पटक छलफलमा बोलाउँदा उपस्थित नहुने, महाशाखाको निर्देशन अटेर गर्ने, बचत फिर्ता नगर्ने, बचत फिर्ताको कार्ययोजना पेश नगर्ने लगायतका गतिविधिका कारण अनुसन्धानका लागि सीआईबीमा पठाइएको महाशाखाका रजिष्ट्रार कुमार तामाङले जनकारी दिनुभयो । प्रदेश सहकारी ऐन २०७६ को दफा २० मा सहकारीको मूल्य, मान्यता, सिद्धान्त पालना गर्नुपर्ने व्यवस्था छ । तर ति सहकारी संस्थाहरुले कुनै पनि नियम पालना नगरेको र सहकारी महाशाखाले कुनै पनि छलफल तथा बचत फिर्ताको लागि पत्राचार गरिहरन नपर्ने देखिएपछि यस्ता सहकारीहरुको फाइल सीआईबीमा पठाइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार मञ्जुश्री सहकारी विरुद्ध ७६ जना बचतकर्ताले उजुरी दिएका छन् । नारायणी घिमिरे अध्यक्ष रहेको उक्त सहकारी विरुद्ध ६ करोड ५५ लाख ७९ हजार ७५० रुपैयाँ रकम विगो दावी रहेको छ । जनक थापा अध्यक्ष रहेको भक्तपुरको झिंगु समाज सहकारीका ५ जना बचतकर्ताले बचत फिर्ताको माग गर्दै उजुरी दिएका उहाँले बताउनुभयो । उनीहरुले ५६ लाख ५८ हजार ९७३ रुपैयाँ बचत फिर्ताको माग गर्दै महाशाखामा उजुरी दिएका थिए ।
बनेपाको मुकुल सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै उजुरी गरेको र सो विषयमा पटक–पटक छलफल गर्दा सहकारीका संचालक उपस्थित नभएपछि अनुसन्धानमा पठाइएको रजिष्ट्रार तामाङले बताउनुभयो । सुमन सुब्बा अध्यक्ष रहेको सो सहकारीको १ करोड ४६ लाख ८ हजार ९९१ रुपैयाँ बचत फिर्ताको माग गरिएको छ । उहाँका अनुसार ललितपुरको डिलाइट बहुउद्देश्यीय सहकारीले ४६ जना बचतकर्ताको १ करोड ८३ लाख ४३ हजार रुपैयाँ बचत फिर्ताको माग आलटाल गर्दै आएको थियो । ४६ बचतकर्ताको उजुरीका आधारमा सो सहकारीलाई अनुसन्धानका लागि सीआईबीमा पठाइएको बताइएको छ । १ करोड ५० लाख रुपैयाँ बचत फिर्ताको माग गर्दै २ बचतकर्ताको उजुरी परेको प्रकाशचन्द्र न्यौपाने अध्यक्ष रहेको काठमाडौंको फलफूल सहकारीलाई छानबिनका लागि पठाइएको छ ।
कृष्ण महर्जन अध्यक्ष रहेको ललितपुरको सिटी सहकारी विरुद्ध २ करोड २७ लाख ९६ हजार २२ रुपैयाँ बचतफिर्ताको माग गर्दै महाशाखामा उजुरुी परेको थियो । ४८ जना बचतकर्ताको उजुरीको आधारमा सो सहकारीलाई अनुसन्धानका लागि सिआईबीमा पठाइएको हो । डम्बरध्वज सुब्बा अध्यक्ष रहेको भक्तपुरको नवजीवन बहुउद्देश्यीय सहकारी, भक्तपुरको सीबी लामा अध्यक्ष रहेको पशुपती सहकारी माथि अनुसन्धानको लागि सीआईबीमा पठाइएको छ ।