मलाई अचम्म लाग्छ मान्छेको आह्रिसे (आहारिसे÷आरिसे) प्रवृत्ति देखेर । अर्काको राम्रो भएको वा अर्काले राम्रो गरेको देख्नै सक्दो रहेनछ मान्छे । ऊ आफु पनि केही त गरिरहेकै हुन्छ नि । तर अरुसित तुलना गरेर उसलाई आफ्नो स्थितिमा चित्तै बुझ्दैन । आफ्नो भाग्यमा, आफ्नो कर्ममा र आफ्नो भागमा जे जस्तो परेको छ, त्यसलाई स्वीकार्न र सन्तुष्ट हुन सक्दैन मान्छे । आफ्नो परिश्रम र तौर तरिका पनि पुगेन कि वा मिलेन कि भनी कमै विचार गर्छ मान्छे । आफ्नो कर्म र परिश्रमबाट जे जस्तो प्रतिफल प्राप्त भएको छ, त्यसमा सन्तुष्ट हुन नसकी अरुसित दाँजिन खोज्दा मान्छे सधैं दुःखी भइरहन्छ ।
अझ यस्तो लाग्छ कि मान्छे आफुले गर्न नसकेकोबाट भन्दा अर्काले गर्न सकेकोबाट बढी दुःखी हुने गर्दछ । आफुले पाएको दुःखबाट भन्दा अरुले पाएको सुखबाट बढी दुःखी बन्छ मान्छे । अर्थात् आफ्नो भन्दा अर्काको राम्रो देख्नासाथ इस्र्या पलाई हाल्छ मान्छेमा । अर्काको आरिस गर्छ र आरिसले नै भित्रभित्र जल्छ पनि मान्छे । त्यो जलनलाई केले लेपन लगाउने, त्यो पनि जान्दैन वा जान्न खोज्दैन ऊ । त्यसैले भनिएको होला, देखासिकीले गरिखानू, आह्रिसेले मरिजानू !
आरिस्याईँको अर्थ डाहा, इस्र्या, डाढ, ईख आदि हुन्छ । आह्रिसे प्रवृत्ति जीव–जन्तुमा पलाउने एक प्रकारको स्वभाविक चरित्र नै हो । मान्छे सर्वोच्च चेतनशील जीव हुनुको नाताले यो व्यक्तिको एक प्रकारको मनोवैज्ञानिक स्थिति हो । यो थोरबहुत सवै व्यक्तिमा हुने गर्दछ, जब उसले अर्काको राम्रो भएको देख्दछ । तर उसले आफ्नो त्यस खालको प्राकृतिक स्वभाव, भावना वा संवेगलाई सकारात्मकरुपमा ‘हेण्डल’ गर्छ कि नकारात्मकरुपमा ‘हेण्डल’ गर्दछ, उसको सबै उन्नति र खुसी त्यसमा निर्भर रहन्छ ।
विद्वान दीपक चोप्राले आरिस्याईँलाई परिभाषित गर्दै भनेका छन्, “आरिस्याईँ एउटा कुरुप संवेग हो, किनकी यो डर–त्रासमा आधारित हुन्छ । डर–त्रास कुरुप हुन्छ, किनकी यो अज्ञानतामा आधारित हुन्छ । अज्ञानता पनि कुरुप हुन्छ, किनकी यसले मानिसलाई घटना र विषयहरुलाई प्रष्ट बुझ्न र देख्नबाट छेक्दछ ।” अर्को एउटा भनाई छ कि मान्छेका दुई प्रकारका पीडा हुन्छन् रे । एउटा पीडा, जसले तपाईंलाई दुःखी तुल्याउँछ । अर्को पीडा, जसले तपाईँलाई परिवर्तन गराउँछ । यहाँ कुनै शारीरिक र मानसिक पीडाका कुरा गरिएको नभई इस्र्या वा आरिस्याईंबाट उत्पन्न मनोवैज्ञानिक पीडाको बारेमा भन्न खोजिएको हो । हुन त मनोवैज्ञानिक पीडाले व्यक्तिलाई ढिलो–चाँडो मानसिक पीडातर्फ उन्मुख गराउन सक्छ ।
पहिलो पीडा, अरुले गरेको राम्रो काम वा प्रगति, जसबाट तपाईंलाई पीडा हुन्छ । तपाईंको छिमेकीले तपाईंको भन्दा राम्रो घर बनायो वा तला थप्यो, अब तपाईंलाई यसबाट पीडा हुन्छ । उसको कमाई तपाईंको भन्दा धेरै भयो, तपाईंलाई पीडा हुन्छ । उसको छोराछोरी तपाईंको भन्दा बढी लगनशील भए, तपाईंलाई नै पीडा ! तपाईं र छिमेकी मोटरबाइकमै हिँड्दा तपाईं खुसी नै हुनुहुन्थ्यो । तर जब छिमेकीले गाडी किन्यो, अब तपाईं दुःखी भैहाल्नुभो, भित्रभित्रै पीडामा जल्न थाल्नुभो ! अर्थात् तपाईंलाई ‘आरिस्याईंले मरिजानु’ हुन्छ । तपाईं यसरी सोच्नु हुन्न कि कुनै भैपरी जरुरी अवस्थामा नजिकै छिमेकीको गाडी प्रयोग गर्न पाउनुहुने भयो, त्यस हिसाबले तपाईंलाई पनि सुविधा थपियो त ।
दोस्रो पीडा, तपाईंले कसरी राम्रो गर्ने भन्ने सकारात्मक पीडा । तपाईंको छिमेकीले कसरी प्रगति गर्यो ? छिमेकीले गर्न सक्छ भने तपाई पनि त गर्न सक्नु होला नि ? देखासिकीबाट तपाईं आफुलाई परिवर्तन गर्न प्रयासरत रहनु हुन्छ । तपाईंमा आरिस्याईं उत्पन्न हुँदा–हुँदै तपाईंको साथीले वा छिमेकीले गरेका प्रयासहरुबाट सिक्नु हुन्छ । अथवा तपाईंमा उत्पन्न हुने इस्र्याभावलाई माथि भने जस्तो सकारात्मकरुपमा ‘हेण्डल’ गर्नुहुन्छ । अर्थात् तपाईं ‘देखासिकीले गरिखानु’ हुन्छ । ‘आरिस्याईंले मरिजानु’ हुन्न । तपाईंको साथीले वा छिमेकीले राम्रो गरेकै कुरामा तपाईं त्यस्तै राम्रो गर्न सक्नु हुन्न भने पनि तपाईं आफ्नो परिवेश बुझ्नु हुन्छ, तपाईंको भागमा त्यो परेन त के भो । ‘मेरो भागमा परेको कुरा अरुको भागमा पनि त नपर्न सक्छ !’ तपाईं यसरी सोच्नुहुन्छ ।
यदि कुनै कुरामा तपाईं पटक–पटक असफल भइरहनु हुन्छ अथवा तपाईंको भाग्यमा कुनै एउटा कुरामा तपाईंको साथी वा छिमेकीलाई परेजस्तो राम्रो पर्दैन भने तपाईले यसरी सोच्नुपर्छ, ‘दिस इज नट माइ कप अफ टी । माइ कप अफ टी इज डिफ्रेन्स !’ यसरी व्यक्तिले आफुमा उत्पन्न हुने इस्र्याभावलाई पहिचान गरेर समयमै सकारात्मकरुपमा निकास दिन सकेमा वा उचित तरिकाले आफ्नो आरिस्याईंलाई ‘डिल’ गर्न सक्षम भएमा उसले जीवनमा खुसी र शान्ति हासिल गर्न सक्दछ । नत्रभने आरिस्याईंको जलनले व्यक्तिको जीवन निरस र पीडादायक हुन जान्छ ।
यो त भयो व्यक्तिले आफ्ना इस्र्यात्मक संवेगको कुलोलाई कसरी डोर्याएर निकास दिन सक्छ भन्ने कुरा । अब हेरौं तपाईंप्रति कसैले अचाक्ली डाहा गर्छ, त्यस्तो अवस्थामा तपाईंले त्यस्तो व्यक्तिप्रति कस्तो व्यवहार गर्नुहुन्छ ? तपाईं रिसाउनु होला । उसकोे आरिस्याईंपूर्ण व्यवहारले तपाईं उल्टै जल्नु पनि होला । तर यसो फर्केर विचार गर्नुहोस् र पुनर्विचार गनुहोस् त, तपाईं किन जल्नुप¥यो ? इस्र्या–डाहा गर्ने ऊ, अनि जल्ने तपाईं ? उसैलाई जल्न दिनुहोस् न जति जले पनि । तपाईं शान्त रहनुहोस् र आफ्नो काम अगाडि बढाइरहनु होस् ।
अंग्रेजीमा अर्को एउटा भनाई छ, ‘नेभर हेट जेलियस पिपुल । दे आर जेलियस बिकज दे थिंक यु आर बेट्टर द्यान देम ।’ अर्थात् इस्र्यालु व्यक्तिहरुलाई कहिल्यै पनि घृणा नगर्नुहोस् । किनकी उनीहरु तपाईंलाई यसकारण इस्र्या गरिरहेछन् कि उनीहरुको विचारमा तपाईं उनीहरु भन्दा बढी राम्रो गरिरहनु भएको छ । त्यसकारण कसैले तपाईंको डाहा गरिरहेछन् जस्तो लाग्छ भने गर्न दिनुहोस् । बुझ्नुहोस् र विश्वास लिनुहोस् कि तपाईं उनीहरुको दाँजोमा राम्रो गरिरहनुभएको रहेछ ।
अब हेरौं प्रतिस्पर्धा के हो ? गर्व के हो ? घमण्ड के हो ? यी कुराहरुलाई इस्र्या सितको सम्बन्धमा कसरी हेर्ने, कसरी बुझ्ने ? लाग्छ कि एक हदसम्मको इस्र्याले व्यक्तिमा प्रतिस्पर्धा बढाउँछ, त्यसले उसको प्रगति नै हुन जान्छ । प्रतिस्पर्धा समान स्तरका व्यक्तिहरु बीच हुने गर्दछ र यो खुला रहन्छ । त्यसो हुनाले यसमा सामान्यतः पूर्वाग्रह देखिँदैन र हार–जीत, तल–माथि जे भएपनि स्वीकारोक्ति रहन्छ । प्रतिस्पर्धा एकप्रकारको औपचारिक विषय वा घटना हो भन्न सकिन्छ । यसलाई समाजले स्वभाविक ठान्दछ ।
गर्व शब्दले व्यक्तिको कुनै कुरामा राम्रो भएको स्थितिको स्वभाविक प्रकट हुने आत्मगौरवको प्रष्फुटनलाई बुझाउँछ । यसमा विनयशीलता रहन्छ । यसलाई पनि समाजमा सकारात्मकरुपमा लिने गरिन्छ । घमण्ड शब्दलाई भने नकारात्मक अर्थकारुपमा लिइन्छ, जसरी इस्र्या, डाहा र आरिस्याईंलाई लिइन्छ । अरुले भन्दा मैले राम्रो गरेँ वा मेरो परिवारले गर्योभन्ने अति उच्चाईको भाव प्रकट घमण्ड हो । घमण्डी व्यक्ति आफैं मात्रै राम्रो छु, आफैं मात्रै गर्न सक्छु, यस्तो अरु कसैले गर्न सक्दैन भनेझैं भावमा प्रस्तुत हुन्छ । घमण्डमा विनयशीलताको कुनै भाव रहँदैन ।
अझै एकपटक इस्र्या, डाहा, डाढ वा आरिस शब्दहरुबारे चर्चा गरौं । ठाउँ र जनजिब्रो अनुसार जहाँ जे शब्दावली प्रयोग भएपनि यी सबै समानार्थी शब्द हुन् र समाजमा नकारात्मकरुपमा लिने गरिन्छ । यिनीहरुले अरुको राम्रो भएको देख्न चाहँदैनन् । आफुलाई अरुसित तुलना गर्छन्, र अरुकै राम्रो भएकोमा भित्र–भित्रै दुःखी बन्दछन् । मन बाहिर निस्केर प्रकट गर्दैनन्, छलफल गर्दैनन् । कार्यालयमा हाकिमसित म नजिक हुन सकिनँ, ऊ भयो । युवा–युवतीहरुमा उसको जोडी बन्यो, मेरो बनेन । दाजुभाईमा बाऊ–आमाले फलानो भाइलाई काखी च्यापे, मलाई टाढा राखे इत्यादि भनेर इस्र्या हुने गर्दछ । त्यस्तो कुरा व्यक्ति प्रकट गर्न चाहँदैन, लुकाउन चाहन्छ । तर उसले नजानिकन उसको व्यवहारबाट उसको आरिस्याईं प्रकट भैरहेको हुन्छ ।
अन्तमा, तपाईंमा ईष्र्याभाव पलाउनु सामान्य कुरा हो । यो मानव स्वभावै हो । तपाईं यसबाट अलग हुन सक्नु हुन्न । तर तपाईंमा त्यसको स्वीकारोक्ती हुनुपर्छ । तपाईंले आफ्नो इस्र्याभावलाई देख्न र बुझ्न मात्र सक्नुपर्छ । तपाईंले आफ्नो यस्तो ईष्र्याभाव वा आरिस्याईं कुन खालको र कुन तहको हो नियाल्न सक्नुपर्छ । यस्तो आत्मअवलोकन र आत्मसमीक्षाले तपाईंलाई सकारात्मकतातर्फ डोर्याउँछ । तपाईंले आफ्नो आरिसपनलाई ‘हेण्डल’ गर्न सक्नुहुन्छ । तपाईं प्रगतितर्फ लाग्नु हुन्छ, गरिखानु हुन्छ । तपाईंको जीवनमा आभा भरिन्छ । अर्थात् तपाई खुसी रहनु हुन्छ, शान्त रहनु हुन्छ । त्यसै भनिएको होइन है, देखासिकीले गरिखानू, आह्रिसेले मरिजानू !