विद्यालयको योजनाकार प्रधानाध्यापक हो । विद्यालयलाई कस्तो बनाउने भन्ने प्रमुख योजना प्रधानाध्यापकको हुन्छ । प्रधानाध्यापकलाई नजिक रहेर सहयोग गर्ने सहायक प्रधानाध्यापक हो । सहायक प्रधानाध्यापक भोलिको प्रधानाध्यापक पनि हो । सहायक भनेको सहयोगी मात्रै नभई सारथी र प्रमुखलाई बढी भन्दा बढी सहयोग गर्ने भूमिकामा रहने व्यक्ति पनि हो । सहायक प्रधानाध्यापकको जिम्मेवारी, विद्यालयको शैक्षिक पृष्ठभूमि र शैक्षिक क्रियाकलापको सन्दर्भमा लक्ष्मी बस्नेतसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः विद्यालयमा पठनपाठन कसरी चल्दैछ ?
बस्नेतः पठनपाठन त विद्यालयमा नियमित चल्ने नै भयो । तर बालबालिकालाई कसरी दीर्घकालिन शिक्षा दिने, कसरी व्यवहारिक ज्ञान दिने भन्ने कुरामा हामी धेरै बल गरिरहेका छौं । साथै हामीले उनीहरुको व्यक्तित्व विकासका लागि भनेर पनि काम गर्दै आएका छौँ ।
समाजः सामान्य रुपमा विद्यालयको परिचय दिनु पर्दा तपाईले कसरी दिनुहुन्छ ?
बस्नेतः कमाने एकेडेमीको परिचय दिनुपर्दा हेटौंडाको बालबालिका, अभिभावकमा फरक किसिमको मानसिकता रहेको पाएको छु । हाम्रो विद्यालयले फरक भन्दा पनि प्रगतिमूलक शिक्षातिर जाँदैछौं । विद्यार्थीले आफैँले भविष्यको बाटो देखुन्, केही गरेर लागुन्, उनीहरु आफैँले बाटो पहिल्याउने काम गर्न सकुन् भन्ने कुराले नै कमाने एकेडेमी चलेको जस्तो लाग्छ ।
समाजः विद्यालयको एसईईको नतिजा कस्तो छ ?
बस्नेतः पहिलो वर्षको तुलना गर्नु पर्दा त्यस बेलामा कोभिडको समयले लकडाउन थियो । विद्यार्थीले त गरेकै हो तर हामीले सोचेको जस्तो नतिजा पाउन सकेन । गत वर्ष र यो वर्षमा सोचे जस्तो ल्याउँछ भन्नेमा हामी पूर्ण विश्वास छौँ ।
समाजः कक्षा १० सञ्चालन गर्ने योजना कसरी आयो, विद्यालयमा विद्यार्थी बढेको कारण वा केही व्यक्तिहरुको सल्लाहले हो ?
बस्नेतः विद्यार्थीको कारणले भन्दा पनि अभिभावकहरुबाट तपाईले उत्पादन गरेका विद्यार्थी किन ८ कक्षामै रोक्नुहुन्छ । एसईई दिन पाउने विद्यालय किन नबनाएको जस्ता सकारात्मक प्रतिक्रियाले नै गर्दा हामीले सञ्चालनका लागि निर्णय गरेको हो ।
समाजः तपाई कति समयदेखि कमाने एकेडेमीको सहायक प्रधानाध्यापकको जिम्मेवारीमा हुनुहुन्छ ?
बस्नेतः सुरुमा त म पनि सामान्य शिक्षक नै थिएँ । सामान्य शिक्षकले बढी जिम्मेवारी सम्हाल्नु पर्ने रहेछ । तर मेरो विषयगत जिम्मेवारी बहन गर्नु पर्यो र शिक्षकहरुलाई जिम्मेवारी मिलाउनुपर्ने हुँदा केही असहज हुँदो रहेछ ।
समाजः शिक्षक र सहायक प्रधानाध्यापकको जिम्मेवारी कस्तो चल्दो रहेछ, कि एउटै हिसाबले जाँदो रहेछ त ?
बस्नेतः शिक्षकको जिम्मेवारी कक्षाकोठाको विद्यार्थीहरुको बारेमा मात्र हुन्छ भने सहायक प्रधानाध्यापकको जिम्मेवारी धेरै हुँदो रहेछ । सहायक प्रधानाध्यापकले चाहि अभिभावकले के चाहेको छ भनेर हेर्नु पर्ने रहेछ । त्यसैले यो दुइटा पाटो फरक छ ।
समाजः तपाई र शिक्षकबीच कस्तो सम्बन्ध रहेको छ ?
बस्नेतः म सहायक प्रधानाध्यापक हुँदा सम्बन्ध बिग्रेको भन्ने छैन । उहाँहरु सबै मिलानसार हुनुहुन्छ । हामीले बालबालिकाका लागि बनाएको योजना उहाँहरुले नबुझ्दा केही सम्बन्ध बिग्रिन सक्छ । उहाँहरुले मलाई सकारात्मक रुपले हेरेको पाएको छु ।
समाजः तपाईले विद्यार्थीको पढाईमा गुणस्तर कस्तो पाउनु भएको छ ?
बस्नेतः कोभिडको समयभन्दा अगाडि पढाई राम्रो थियो । कोभिडपछिको १ वर्षको समयमा विद्यार्थीको पढाईमा लगाव, ध्यान नजाने जस्तो व्यवहार भएको पाएको थिएँ भने गत वर्षदेखि पढाईमा एकदम राम्रो उपलब्धी भएको पाएको छु ।
समाजः विद्यालयले पढाईका लागि के कस्ता योजनाहरु बनाउँदै हुनुहुन्छ ?
बस्नेतः हामीले बालबालिकाका लागि धेरै कोचिङ कक्षाहरु पनि राख्नुहुँदैन । उनीहरुले आफैँले सिक्ने कसरी बनाउन सकिन्छ भनेर कोचिङ कक्षाहरु पनि हामीले सञ्चालन गरेका छैनौं । हामीले विद्यालयमा विद्यार्थी कसरी पढ्दै छन् भनेर अभिभावकहरुसँग जनसम्पर्कमा रहिरहेका छौं भने हामीले एक जना शिक्षक नै खटाएका छौं उहाँले विद्यार्थी पढ्नका लागि तालिकाअनुसार पढ्दै छ या छैन भनेर हेर्नुहुन्छ । अभिभावकबाट पनि बालबालिकाले गरेका सकारात्मक पढाई, लेखाइको जस्ता प्रतिक्रिया हामीले पाएका छौं ।
समाजः निजी विद्यालयहरुले शुल्क धेरै लिएको पाईन्छ । कमाने एकेडेमीका विद्यार्थीका अभिभावकको आर्थिक अवस्था कस्तो पाउनुभएको छ । विद्यालयको शुल्क कस्तो छ ?
बस्नेतः हाम्रो अभिभावकको जीवनस्तर, आर्थिक अवस्था मध्यमस्तरको छ । उहाँहरुले तिर्न सक्नेगरी शुल्क राखेका छौं जस्तो लाग्छ ।