नेपालमा गणतन्त्र घोषणा भएको १२ वर्ष पुरा भएको छ । आमुल परिवर्तनको नारासहित मुलुक गणतन्त्रमा गएको दशक नाघी सक्दा नागरिकको जीवनमा हुनुपर्ने परिवर्तन बसहको विषय भएको छ । कुनै पनि शासन व्यवस्था आफैँमा साध्य होईनन् । शासकहरुको चिन्तन, व्यवहार र नीति, कार्यक्रम तथा तिनको कार्यान्वयन मार्फत शासन प्रणालीको मूल्यांकन हुन्छ । नेपालमा पनि शासन प्रणाली मात्र परिवर्तन भएको छ । शासकहरु पुरानै, व्यवहार उही, चिन्तन र सोच एउटै तथा नीति र कार्यक्रममा परम्परागत निरन्तरताका कारण नागरिकले व्यवस्था परिवर्तनको अनुभूति गर्न सकेका छन् त भन्ने प्रश्न उठेको छ । तर अब पछाडी फर्कने ठाउँ छैन । त्यसैले कमी कमजोरी सुधार गर्दै परिवर्तनलाई नागरिकको हितमा उपयोग गर्नुको विकल्प छैन ।
शासन सन्चालनका लागि १२ वर्ष लामो हैन । त्यस माथि पनि नयाँ प्रणाली मार्फत सेवा प्रवाह गर्दा ढंग नपुग्नु अन्यथा हुँदैन । तर सुधारोन्मुख छ की छैन भन्ने पक्ष महत्वपूर्ण हो । नागरिक आकांक्षादेखि आवश्यकतामा राज्यको उपस्थिति कहाँ छ वा हुन आवश्यक छ भन्ने कुराले प्राथमिकता पाउनु पर्दछ । बितेका १२ वर्षमा राजनीतिक रुपमा संघीय गणतन्त्रात्मक संविधान घोषणा भएको छ । संविधान बनाउन नसक्दासम्म यसैलाई मुख्य कार्यभार भनियो र नागरिकका आवश्यकता भुल्ने काम भएकै हो । त्यसपछि पनि निर्वाचनलाई देखाउँदै नागरिकलाई थुमथुम्याईएकै हो । तर त्यसपछि पनि ३ वर्ष भईसक्दा नागरिकले परिवर्तनको अनुभूति गरे त ?
२४० वर्षको एकात्मक शासन व्यवस्था उल्टाउँदा नागरिकले देखेका सपनामा पानी खन्याउने काम हुँदै आएका छन् । विगतका कमजोरीलाई शिक्षाका रुपमा लिएर सुधार गर्नुपर्नेमा त्यही पथ पहिल्याउने प्रयास शासक, राजनीतिक दल र नेतृत्वबाट हुन थालेको आभास भएको छ । हजारौ नागरिकले जीवनको आहुती दिएपछि आएको गणतन्त्रले कम्तिमा पनि शासन प्रणालीमा परिवर्तन प्रशासनमा निष्पक्ष तथा सुशासनको प्रत्याभूति दिनु पर्दछ । परिवर्तनका लागि शासकहरुमा दृढ ईच्छाशक्तिको कमी देखिएको छ । अझ उनीहरुमा नयाँ सोच र चिन्तन भन्दा परम्परामै रमाउने चरित्र हावी छ ।
नेपालको गणतान्त्रिक संविधानले अस्थिरताको जडका रुपमा रहेका प्रावधानहरु हटाई स्थायित्व प्रदान गर्यो । तर शासकहरु तिनै प्रावधान माथि धावा बोल्ने काम गरिरहेकै छन् । गणतन्त्रलाई नागरिक जीवनमा उपयोग गर्ने हो भने नेतृत्वमा परिवर्तनको क्षमता राख्नु जुरुरी हुन्छ । पुरानै चिन्तन र नेतृत्व परिवर्तन नगर्दासम्म गणतन्त्र नाम मात्रको हुने र आमुल परिवर्तनको चाहना पुरा हुने लक्षण देखिँदैन । त्यसैले नेता उमेरले जुनसुकै भए पनि व्यवहार र सोच नयाँ हुन आवश्यक छ ।
गणतन्त्रको १२ वर्ष उत्साहजनक छैन तर निराश हुनुपर्ने अवस्था पनि हैन । भएका कमजोरी सुधार गर्ने नेतृत्वले आत्मआलोचित भई आफुलाई नयाँ व्यवस्था र प्रणालीमा ढाल्न सक्नु पर्दछ । गणतन्त्र हिजोकै शासनको निरन्तरता हुन सक्दैन । त्यसैले शासकहरुले राज्य प्रणालीका पुराना अवशेषहरु भत्काउन सक्नु पर्दछ । यसका लागि ईच्छा र आँट आजको खाँचो हो । तब मात्र गणतन्त्रले नेपाली नागरिकको अपेक्षा अनुसार काम गर्न सक्ने छ ।