हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का एक पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा हेटौंडा–९ का ५० वर्षीय पुरुष र हेटौंडा–१ की २५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । हेटौंडा–१ की २५ वर्षीया महिलालाई बिहानै पुष्टि कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज साँझ कोरोना भाइरस संक्रमण पुष्टि भएको भनिएको व्यक्ति भारतबाट ३ दिनअघि हेटौंडा आएर सिधै आइसोलेसनमा बसेका थिए । हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन कक्षका स्वास्थ्यकर्मी भोला चौलागाईका अनुसार कोरोना संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ । आज आइसोलेसन कक्षमा कोरोना संक्रमित व्यक्तिसहित ४२ जना छन् । आइसोलेसन कक्षको क्षमता भने ३० बेड मात्रै हो ।