हेटौंडाः गणतन्त्र दिवसको अवसरमा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका एक बालबन्दीसहित ८ जनालाई कैदमाफी दिइएको छ । भीमफेदी कारागार कार्यालयले सिफारिस गरेका १५ जना मध्ये ८ जनालाई कैदमाफी दिइएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज कैदमाफीको निर्णय गर्नुभएको हो ।
विभिन्न मुद्दामा दोषी ठहर भई बन्दी जिवनमा असल आचरण प्रस्तुत गरेका, ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका व्यक्तिको कैदमाफीका लागि सरकारले सिफारिस गरेको हो । कैद माफी पाउनेमा हेटौंडा–१७ का रुपेश नेपाल, सर्लाहीका अब्बु मोहम्मद अन्सारी, नवलपुरका मानबहादुर महतो, बर्दियाका केशवबहादुर भुजेल, गुल्मीका नरबहादुर सार्की, काभ्रेका रोमन लामा र महोत्तरीका टंकबहादुर खड्का रहेको भीमफेदी कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिनुभयो । भीमफेदी कारागारमा अहिले ९६० जना कैदीबन्दी छन् ।