हेटौंडाः ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने प्रतिबद्धतालाई पुरा गर्न तीनै तहको सरकारसँग सहकार्य गरी बहुआयामिक कृषि उत्पादनमा जोड दिँदै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने नीति लिएको छ । ‘आत्मनिर्भर स्थानीय तह’ घोषणा गर्ने कार्यक्रम अगाडि बढाउने भन्दै प्रदेशमा कृषक तथा कृषि व्यवसायी परिचयपत्रको सुरुवात गर्ने नीति बनाएको छ ।
बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईले आज प्रदेश सभामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि कार्यमा बीउ बीजनको अभाव हुन नदिन बीउ बीजन बैंकको स्थापना गरिने बताउनुभएको छ । माटोको प्रकृति, भौगोलिक बनोट र कृषकको चाहना अनुसार विशेष पकेट, ब्लक जस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याउने भन्दै कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिने नीतिमा उल्लेख गरेको छ ।
कृषि भूमिको चक्लाबन्दी र एकीकरण गरी विभिन्न कृषि उत्पादनको ‘विशिष्टीकृत उत्पादन क्षेत्र’ निर्धारण गर्ने कार्यलाई विस्तार गर्दै सामूहिक खेती प्रणालीलाई प्रोत्साहन गरिने नीति मा समावेश गरेको छ । बागमती प्रदेश सरकारले बाँझो जमिनको प्रयोग गर्दै उत्पादनमा सहयोग गर्ने भन्दै सिञ्चित क्षेत्र विस्तार गरी उत्पादन बृद्धि गर्न डिप बोरिङ, लिफ्ट सिंचाई, थोपा सिंचाई र सोलारको माध्यमबाट सिंचाई जस्ता कार्यक्रमलाई निरनतरता दिने नीति तथा कार्यक्रम ल्याएको छ ।
फलफुल तथा तरकारी भण्डारणका लागि ९ जिल्लाको ११ स्थानमा शीत भण्डार निर्माण कार्य भैरहेको भन्दै उत्पादित कृषि बस्तुको प्रशोधन गर्न प्रशोधन केन्द्रको स्थापना गरिने बताएको छ । धान, मकै, गहुँ, कोदो र आलुको उत्पादन बढाउन कृषकलाई बीउ, प्रांगारिक मल तथा कृषि विद्युत् महसुलमा विशेष छुट तथा अनुदानको व्यवस्था मिलाउने नीतिमा उल्लेख गरेको छ । प्रदेशमा प्राविधिक जनशक्तिको व्यवस्था मिलाउने तथा कृषिमा उत्पादन, खरिद, भण्डारण र विक्रिसम्मको व्यवस्था मिलाउने नीतिमा उल्लेख गरेको छ । सहकारी क्षेत्रको समुचित व्यवस्थापनको लागि नियमन, प्रवर्धन र प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिने समग्र दूग्ध क्षेत्रको विकास र विस्तार गर्ने लगायतका कार्यक्रमहरु अगाडि सारेको छ ।