मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनाका ईन्द्रबहादुर सापकोटाको पूर्णरुपमा क्षति भएको घर ।

हेटौंडाः आज साँझको हावाहुरीले मकवानपुर जिल्लाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा दुईजनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिकाको वडा नम्बर ५, चैनपुरकी ५६ वर्षीया वीरमाया चेपाङको रुखले च्यापिएर मृत्यु भएको राक्सिराङ गाउँपालिकाको १ नम्बर वडा अध्यक्ष कान्छाराम रुम्बाले जानकारी दिनुभयो । यस्तै राक्सिराङ गाउँपालिकाको वडा नम्बर ३ का ७ वर्षीय आयुष मगरको पनि उपचारको क्रममा चितवनस्थित अस्पतालमा मृत्यु भएको वडा अध्यक्ष रुम्बाले जानकारी दिनुभयो ।

हावाहुरीले राक्सिराङ गाउँपालिका वडा नम्बर १ का डीकबहादुर ब्लोन, वीरबहादुर लो, शेरबहादुर चेपाङ, गजबसिंह स्याङ्तान र दीपक कुमार बलको घरको छानो उडाएको वडाअध्यक्ष कान्छाराम रुम्बाले बताउनुभयो । केही व्यक्ति घाइते भएको पनि वडा अध्यक्ष रुम्बाले जानकारी दिनुभएको छ ।

हावाहुरीले जिल्लाका विभिन्न स्थानमा भौतिक क्षति पुर्‍याएको छ । हेटौंडा नगरक्षेत्रमै घरका छाना उडाएका छन् भने मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनाका ईन्द्रबहादुर सापकोटाको घर पुर्ण रुपमा क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा पुगेको क्षतिको एकीकृत विवरण आउन सकेको छैन । बागमती गाउँपालिकामा घरको छानो उडाउनुका साथै इन्टरनेट सेवा प्रदायक टावरहरुमा समेत क्षति पुगेको बताइएको छ ।