आगामी आर्थिक वर्षमा ‘साक्षर बागमती प्रदेश’ घोषणा गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । आज प्रदेश सभामा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा यस्तो लक्ष्य प्रस्तुत गर्नुभएको हो । पाठ्यक्रम तथा पाठयसामग्री विकास निर्देशिका कार्यान्वयनमा ल्याउँदै विद्यालय तहको ऐच्छिक पाठ्यक्रम विकास, उत्पादन र वितरणमा व्यवस्था मिलाउने भन्दै आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहको शिक्षा निःशुल्क पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्न सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन स्थानीय तहसँग सहकार्य गरिने बताएको छ ।
राष्ट्रिय नीति तथा मापदण्डको आधारमा प्रादेशिक शिक्षा ऐन, नियम तथा कानुनी र संस्थागत संरचना निर्माण गर्ने भन्दै अपाङ्गता भएका तथा विशेष अवस्थाका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सुविधा सम्पन्न विशेष विद्यालयको स्थापना गर्न स्थानीय सरकारसँग सहकार्य गर्ने बताएको छ । प्रदेशमा शैक्षिक गुणस्तर मापदण्ड तयार गर्ने भन्दै प्रदेशका विद्यालय तथा सामुदायिक क्याम्पसहरुमा आवश्यक पुर्वाधार पुरा भएर ‘गुणस्तरयुक्त शैक्षिक पूर्वाधार, प्रदेश समृद्धिको आधार’ भन्ने नारा सार्थक भएको भन्दै यस कार्यलाई आगामी आवमा निरन्तरता दिने बताएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई प्रभावकारी बनाउने र भौतिक पूवाधार एवम् प्रयोगशाला सुदृढीकरण, छात्रवास निर्माण तथा प्रशिक्षक क्षमता विकासमा प्राथमिकता दिने बताएको छ । सामुदायिक क्याम्पसहरुको शैक्षिक सुदृढीकरण योजना तयार गरी लागु गरिने, ‘छोरीबुहारी उच्च शिक्षा छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिने, युवाको नेतृत्व विकास, व्यावसायिक सीप, रोजगार एवम् उद्यमशिलता प्रवर्धन जस्ता युवा सशक्तीकरणका कार्यक्रम अगाडि बढाउने नीतिमा उल्लेख गरिएको छ ।