हेटौंडाः जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मकवानपुरका जनआन्दोलनमा घाइते भएका गोकर्ण तिवारीलाई सम्मान गरिएको छ । बिहीबार भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा तिवारीलाई नगद २५ हजारसहित सम्मान गरिएको हो ।
मदन भण्डारी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा फाउन्डेसनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्य तथा फाउन्डेसनका जिल्ला अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले शहीद स्मारकमा रहेको जननेता मदन भण्डारीको प्रतिमामा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको नाम सधैं अग्रपंक्तिमा रहने बताउनुभयो । उहाँले जननेता भण्डारीले नवीन सिद्धान्त प्रतिपादन गरि नयाँ सोच र नयाँ विचारलाई स्थापित गराएर कम्युनिस्ट आन्दोलनमा परिवर्तन गराएका कारण उहाँलाई सधैं सम्झने बताउनुभयो । नेपालको कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन भण्डारीको ठूलो योगदान रहेकाले उहाँले देखाएको बाटो सबैले हिँड्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा फाउन्डेसनले आयोजना गरेको सप्ताहब्यापी कार्यक्रममा उत्कृष्ट भएकाहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।